काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेमबहादुर आलेले भगवान् शिवले बास गरेका चारधामलाई समेटेर शिव सर्किट कनेक्सनको रूपमा विकास गर्नुपर्ने बताएका छन्।
बिहीबार काठमाडौंमा ‘पशुपतिनाथ– काशी विश्वनाथ अमृत महोत्सव मोटरसाइकल र्याली’ को उद्घाटन गर्दै मन्त्री आलेले भगवान् शिवले बास गरेका चार धाम पशुपतिनाथ, काशी विश्वनाथ, केदारनाथ र बद्रीनाथलाई शिव सर्किट कनेक्सनको रूपमा विकास गर्नुपर्ने बताएका हुन्।
यसरी सर्किटको विकास गर्न सकेमा हिन्दु धर्मावलम्वीहरूले चारवटै धामको दर्शन गर्ने अवसर पाउने र सो शिवालयहरूप्रति अझै धार्मिक आस्था बढेर जाने उनले बताए।
‘भगवान् शिवले बास गरेको चारवटा धाम पशुपतिनाथ, काशी विश्वनाथ, केदारनाथ र बद्रीनाथलाई शिव सर्किट कनेक्सनको रूपमा विकास गरी संसारभरिका अरबौं हिन्दु धर्मावलम्बीलाई चारै धामको दर्शन गर्ने अवसर सिर्जना गरौं। यो सर्किटको कन्सेप्टले यी शिवालयप्रति अझै धार्मिक आस्थाको गरिमा बढेर जानेछ,’ उनले भने।
पर्यटनमन्त्री आलेले नेपाल–भारत सम्बन्ध प्राचीन, मौलिक र सभ्यताको सम्बन्ध भएको बताए। उनले एकपटक विश्वनाथ मन्दिरमा दर्शन गर्ने हिन्दु दर्शनार्थीले एकपटक पशुपतिनाथको दर्शन गर्नुपर्ने पौराणिक मान्यता रहेको उल्लेख गर्दै पशुपतिनाथदेखि काशी विश्वनाथसम्मको मोटरसाइकल र्यालीले नेपाल-भारत सम्बन्ध प्रगाढ हुने र हिन्दु धर्मको गरिमा उच्च रहने विश्वास व्यक्त गरेका हुन्।
त्यसैगरी कार्यक्रममा बोल्दै नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले नेपालको पशुपतिनाथ मन्दिर र भारतको काशी विश्वनाथ मन्दिर दुई देशको सभ्यताको प्रमुख चिन्ह भएको बताए। यी दुई धार्मिक स्थलले दुई देशको समाजलाई जोडेको र सम्बन्धलाई निरन्तरता दिने प्रतिकका रूपमा पनि रहेको उल्लेख गरे।
शुक्रबार नै दर्जनौं युवाहरूले ‘पशुपतिनाथ-काशी विश्वनाथ अमृत महोत्सव मोटरसाइकल र्याली’ काठमाडौंको पशुपतिनाथबाट प्रारम्भ गरेका छन्। ५० भन्दा बढी मोटरसाइकलमा सवार राइडरहरू झन्डै ९ सय किलोमिटर दूरी पूरा गरेर कार्तिक ३० गते नेपाल फर्कने कार्यक्रम रहेको छ।