बुटवल– दाङ घोराहीका पुराना यातायात व्यवसायी हुन् भरतनाथ योगी। यातायात क्षेत्रमा योगीको भूमिका व्यवसायीका रूपमा मात्रै सीमित छैन, उनी समग्र यातायात व्यवसायीको अधिकारका पक्षमा वकालत गर्ने अगुवा पनि हुन्।
२०५८ सालमा तत्कालीन माओवादी र सरकारबीच चर्किएको द्वन्द्वमा यिनै पुराना यातायात व्यवसायी दुवै पक्षको ज्यादतीमा परेका थिए। तत्कालीन समयमा नेकपा माओवादी केन्द्रलाई हतियार ओसारपसारका लागि बस दिएको आरोपमा नेपाली सेनाले योगीका चार वटा सवारीसाधन कब्जा गरेको थियो।
कैयौं पटक स्थानीय प्रशासन, तत्कालीन विद्रोही पक्ष माओवादीका नेतासँग छलफल गर्दा पनि न्याय नपाएपछि योगीले सर्वोच्च अदालत गुहारे। २० वर्षपछि सर्वोच्चले तिनै योगीका पक्षमा फैसला गरेको छ।
घोराही उपमहानगरपालिका वडा नम्बर ४ का यातायात व्यवसायी योगीलाई १ करोड ४ लाख ९७ हजार ८ सय ६६ रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउन सरकारका नाममा सर्वोच्चले परमादेश जारी गरेको छ। योगी जिल्ला प्रशासन दाङबाट प्रक्रिया मिलाएर क्षतिपूर्तिबापतको रकम लिन जाने तयारीमा छन्।
घटनाको वास्तविकता यस्तो थियो
२०५२ सालमा सुरु भएको माओवादीको विद्रोह २०५८ मा चरम उत्कर्षमा पुगेको थियो। द्वन्द्वकै कारण सबैभन्दा बढी प्रताडित हुनेमा यातायात व्यवसायी थिए। माओवादीले सार्वजनिक यातायात सहयोग माग्थे। नदिए यातायात समितिका पदाधिकारीलाई ज्यान मार्ने धम्की पटकपटक दिन्थे।
‘माओवादीले गाडी सहयोगका लागि आग्रह गरे। अरू डराए। पदाधिकारी भएकाले मेरै गाडी दिएँ’, योगी सम्झन्छन्, ‘तर, मेरै गाडीमा हतियार बोकेर माओवादीले ब्यारेक आक्रमण गरेछ।’
माओवादीलाई गाडी दिएको आरोपमा सेनाको निगरानीमा तिनै व्यवसायी पर्थे। २०५८ सालमा भरतनाथ योगी राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समितिका सचिव थिए। समितिको पदाधिकारी भएकाले माओवादीहरुले बेलाबेलामा गाडी सहयोग माग्ने गर्थे। समितिलाई समेत चलायमान बनाउनुपर्ने भएकाले योगीले जग्गा धितो राखेर चारवटा नयाँ मोडेलका (ट्रबो) गाडीमा लगानी गरेका थिए।
‘माओवादीले गाडी सहयोगका लागि आग्रह गरे। अरू डराए। पदाधिकारी भएकाले मेरै गाडी दिएँ’, योगी सम्झन्छन्, ‘तर, मेरै गाडीमा हतियार बोकेर माओवादीले ब्यारेक आक्रमण गरेछ।’ त्यसपछि नेपाली सेनाले उनका तीन वटा बस र एउटा बोलेरो जिप नेपाली सेनाले कब्जा गर्यो। त्यतिखेर माओवादीले पनि योगीसहित अन्य व्यवसायीका गाडी प्रयोग गरेको थियो।
माओवादीले घोराहीस्थित रिपुमर्दनी गणमा आक्रमण गरी हतियार लुटेर रातारात रोल्पा पुर्यायो। त्यसपछि योगीलाई सेनाले ज्यान लिने धम्की दियो। अनि उनी भारततिर लागे। उनी भन्छन्, ‘माओवादीलाई सुराकी गरेको आरोपमा सेनाले ज्यानसमेत लिने सूचना आयो, अनि भारत गएर लुकेर बसें’, योगी भन्छन्।
माओवादीले घोराही गणमा २०५८ मंसिर ८ गते आक्रमण गरेको थियो। सोही आक्रमणमा योगीको गाडी माओवादीले प्रयोग गरेको निहुँमा पीडित भएका योगी भन्छन्, ‘मेरो व्यक्तिगत हिसाबले राजनीतिक रुपमा पहुँच नभएको भए म त्यही घटनाका कारण मारिनसक्थें।’
दाङका नेता तथा गृहमन्त्री खुमबहादुर खड्कासँग नजिक सम्बन्धमा रहेकै कारण नेपाली सेनाबाट बच्न सफल भएको सम्झन्छन् योगी ‘खड्काजीकै सहयोगमा चितवन, भरतपुर, वीरगन्ज, रक्सौल हुँदै भारत पुुगेँ, संयोगले भारतमा पनि आदित्यनाथसँगै बस्न पाएँ’, उनी विगत सम्झन्छन्, ‘भारतमा पनि मलाई खोजी भयो, सीआईबीको फोर्स त्यहाँ पनि पुुगेको थियो।’
माओवादी शान्ति प्रक्रियामा आएपछि मात्रै योगी नेपाल फर्किएका थिए। सेनाले माओवादी भनेरै आफूूलाई दुःख दिएको उनी बताउँछन्।
योगीका ना २ ख २४४३, ना २ ख ५३८३, रा १ ख २८१ नम्बरका तीनवटा बस र बा ३ च ७५६१ नम्बरको बोलेरो सेनाले २०६० भदौ १० सम्म नियन्त्रणमा राखेर चलाएको थियो। अन्य व्यवसायीका गाडी सेनाले फिर्ता गरे पनि योगीले माओवादीलाई सहयोग गरेको आरोपमा गाडीहरु नियन्त्रणमा राखेको थियो। ‘म त त्यतिखेर सेनाले माओवादी भनेर नेपालमै बस्न नसक्ने अवस्था आयो। माओवादीले सेनाको मान्छे भनेर पनि दोहोरो मारमा परें’, उनी भन्छन्, ‘त्यतिखेर धितो राखेको करिब जमिन पनि लिलाम भयो।’
माओवादी शान्ति प्रक्रियामा आएपछि मात्रै योगी नेपाल फर्किएका थिए। सेनाले माओवादी भनेरै आफूूलाई दुःख दिएको उनी बताउँछन्। तर, माओवादी शान्ति प्रक्रियामा आएर पटकपटक सरकारमा पुग्दा पनि गाडीको क्षतिपूर्ति पाएनन्।
सरकार परिवर्तन हुनासाथ पटकपटक यस विषय जानकारी गराउँदा पनि न्याय पाउने कुनै सुरसार थिएन। उनी भन्छन्, ‘मैलै आसै मारिसकेको थिए, बुवाको निधन भएका बेला संविधानविद् मेरा मित्र पनि हुनुहुन्छ भीमार्जुन आचार्य मलाई भेट्न दाङ आउनुभएको थियो, त्यतिखेर यो विषय जानकारी गराएँ, अनि सर्वोच्चमा पुगेको हुँ।
सर्वोच्चले सरकारका नाममा परमादेश जारी गरेर क्षतिपूर्ति दिन भनेपछि ढिलै भए पनि न्याय पाएको उनले बताए। उनले आफ्नो ज्यान नै असुरक्षित भएको यो घटनालाई जीवनकै स्मरणीय क्षणसमेत मानेका छन्। ‘२० वर्षपछि भएपनि मैलै न्याय पाएँ’, योगीले भने।
योगी अहिले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ जिल्ला समन्वय समिति दाङका अध्यक्ष तथा स्वर्गद्धारी टिप्पर प्रालिका अध्यक्ष छन्।