धनगढी- कैलालीको टीकापुर नगरपालिका–१ स्थित सिद्वार्थ होटल नजिकै लम्कीचुहा नगरपालिका–१ का भूपेन्द्र बडुवालको हत्या गरेको आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। मंगलबार साँझ धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले आठ जनालाई पक्राउ गरेर अनुसन्धान थालेको हो।
प्रहरीका अनुसार पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका–३ चिसापानीका २४ वर्षीय महेश रावल, सोही ठाउँका २० वर्षीय आर्यन देवकोटा, सोही ठाउँ बस्ने २० वर्षीय धिरज शाही रहेका छन्। यस्तै लम्कीचुहा नगरपालिका–१ बस्ने २२ वर्षीय कपिल श्रेष्ठ तथा सोही ठाउँ बस्ने १८ वर्षीय निशान मल्ल, टिकापुर नगरपालिका–१ बस्ने २३ वर्षीय प्रबीन रिमाल, टिकापुर नगरपालिका–१ बस्ने २१ वर्षीय रोहित आले र सोही ठाउँका २६ वर्षीय सोहन शाह रहेका छन्।
प्रहरीले संगक होटलमा आक्रमण हुन थालेपछि होटलका सञ्चालक र उनकी श्रीमतीलाई भने उनीहरूकै सुरक्षाका लागि नियन्त्रणमा लिएको जनाएको छ। घटनास्थलबाट सु.प.प्र.०१००८ प ५५६५ नम्बरको स्कुटर र सु.प.प्र. ०१००८ प १०७२ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
प्रहरीले हत्यामा प्रयोग भएको खुकुरी पनि बरामद गरेको जनाएको छ। घटनामा संलग्न अन्यको खोजी गर्नुको साथै यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीको भनाइ छ।