रमल्लाह- प्यालेस्टाइनका राष्ट्रपति महमुद अब्बासले मङ्गलबार रोकिएको मध्य पूर्व शान्ति प्रक्रियालाई पुन: शुरु गर्न अस्वीकार गरेकोमा इजरायली सरकारको आलोचना गरेको आधिकारिक प्यालेस्टिनी समाचार एजेन्सी वाफाले जनाएको छ।
अब्बासले बेस्ट बैंक शहर रामल्लाह नजिक प्यालेस्टिनी केन्द्रीय निर्वाचन आयोगको नयाँ मुख्यालयको उद्घाटन समारोहमा उक्त टिप्पणी गरेका हुन्।
इजरायली सरकारले मध्यपूर्वमा शान्ति प्रक्रियालाई पुन: शुरु गर्न अस्वीकार गर्दा 'यसलाई फाइदा हुने छैन' भन्दै अब्बासले, 'इजरायलले प्यालेस्टिनीहरूसँग शान्ति कायम गर्न अस्वीकार गर्न नसक्ने' टिप्पणी गरेका हुन्।
यसैबीच, अब्बासले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्का प्रस्तावहरू कार्यान्वयन गर्न आह्वान गरेका छन्। संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा कैयौं चरणको वार्ता भए पनि दुवै पक्षले त्यसमा प्रगति गर्न नसकेपछि इजरायल–प्यालेस्टाइन शान्ति वार्ता प्रक्रिया सन् २०१४ देखि ठप्प छ।