कैलाली- धारिलो हतियार प्रयोग गरी एक जनाको हत्या गरेको अभियोगमा ८ जना पक्राउ परेका छन्। टीकापुर नगरपालिका-१ स्थित सिद्वार्थ होटल नजिकै लम्कीचुहा नगरपालिका-१ लम्की चौराह बस्ने २३ वर्षीय भुपेन्द्र बडुवालको मंगलबार साँझ धारिलो हतियार प्रहार गरी हत्या भएको थियो।
सोही अभियोगमा पक्राउ पर्नेहरूमा लम्कीचुहा नगरपालिका-३ चिसापानी बस्ने २४ वर्षीय महेश रावल, सोही ठाउँ बस्ने २० वर्षीय आर्यन देवकोटा, सोही ठाउँ बस्ने २० वर्षीय धिरज शाही, लम्कीचुहा नगरपालिका-१ बस्ने २२ वर्षीय कपिल श्रेष्ठ तथा सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, टिकापुर नगरपालिका-१ बस्ने २३ वर्षीय प्रबीन रिमाल, टिकापुर नगरपालिका-१ बस्ने २१ वर्षीय रोहित आले र सोही ठाउँ बस्ने २६ वर्षीय सोहन शाह रहेका छन्।
अपरिचित व्यक्तिहरुको धारिलो हतियार प्रहारबाट भुपेन्द्र गम्भीर घाइते भएका थिए। उपचारको लागि टिकापुर अस्पताल लगेकोमा उपचारको क्रममा उनको मृत्यु भएको थियो।
घटनास्थलबाट सु.प.प्र.०१००८ प ५५६५ नम्बरको स्कुटर र सु.प.प्र. ०१००८ प १०७२ नम्बरको मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ।
सोही विषयलाई लिएर मृतकका आफन्तहरुले चिसापानी बजारस्थित महेश रावलको संगम होटल, भैरव शाही र राज बहादुर शाहीको घरमा ढुंगामुडा गर्दा सामान्य क्षति भएको छ। साथै उनीहरुले लम्कीचुहा नगरपालिका-१ स्थित लम्की चोकमा पूर्व पश्चिम राजमार्ग समेत अवरोध गरेकोले हटाउने पहल भइरहेको छ।
घटनामा संलग्न अन्यको खोजी गर्नुको साथै यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।