काठमाडौं– खानेपानीमन्त्री उमाकान्त चौधरीले बढीमा तीन महिनाभित्र काठमाडौं उपत्यकाका धारामा मेलम्चीको पानी खसाल्ने गरी कार्ययोजना बनिरहेको बताएका छन्। उनले तत्काल अस्थायी रूपमा भए पनि राजधानीवासीलाई पानी खुवाउन मन्त्रालयले तीव्र रुपमा गृहकार्य अघि बढाएको बताएका हुन्।
पूर्ववर्ती केपी शर्मा ओली नेतृत्वको सरकारले आयोजना सम्पन्न नगरी उद्घाटन गरेको आयोजना असार १ गते मेलम्चीमा आएको पहिरोले अवरुद्ध भएको छ। काठमाडौंमा बुधबार संवाददातासँगको कुराकानीमा मन्त्री चौधरीले भने, ‘स्थायी रूपमा योजना सम्पन्न गर्न समय लाग्ने भएकाले अस्थायी रूपमा भए पनि चाँडोभन्दा चाँडो काठमाडौंवासीलाई मेलम्चीको खानेपानी खुवाउने गरी कार्ययोजना बनिरहेको छ।’
उनले भने, ‘जलाधार र मुहान संरक्षण नभई मेलम्ची आयोजना सधैं जोखिममा रहेको देखें।’ यस्तो जोखिम हटाई आयोजनाको मुहानलाई संरक्षण गर्न मेलम्ची खानेपानी जलाधार संरक्षण विकास समिति गठन गर्न सकिने उनको भनाइ छ।
खानेपानी आयोजना पूरा गर्नका लागि नेपाली सेना, सडक विभाग र विपत् व्यवस्थापन समितिले पनि आफ्नो ढंगले काम गरिरहेको उनको भनाइ छ। आयोजना चाँडो सम्पन्न गर्न मन्त्री चौधरीले केही दिनअघि मेलम्चीको मुहान क्षेत्रको स्थलगत अवलोकन गरेका थिए। उनले भने, ‘जलाधार र मुहान संरक्षण नभई मेलम्ची आयोजना सधैं जोखिममा रहेको देखें।’ यस्तो जोखिम हटाई आयोजनाको मुहानलाई संरक्षण गर्न मेलम्ची खानेपानी जलाधार संरक्षण विकास समिति गठन गर्न सकिने उनको भनाइ छ।
उनले भने, ‘जबसम्म मुहान संरक्षण हुँदैन, तबसम्म हरेक साल मेलम्चीको समस्या रहिरहन्छ।’ आफूले यसबारे प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि ब्रिफिङ गरेको जानकारी मन्त्री चौधरीले दिए। जलाधार संरक्षणका लागि एसियाली विकास बैंकको विज्ञ टोलीले अध्ययन थालेको छ।
आयोजना फास्ट ट्याकमा लैजानका लागि प्रधानमन्त्री देउवा, अर्थमन्त्री जनार्दन शर्मा र विज्ञहरूसँग परामर्श भइरहेको मन्त्री चौधरीले बताए।
यसैक्रममा पाँच जनाको टोलीले स्थलगत अध्ययन गरी कार्ययोजना र क्यालेन्डरसहित प्रतिवेदन बुझाएका छन्। चौधरीले भने, ‘विज्ञको टोलीले बढीमा साढे तीन महिनाभित्रमा काम सम्पन्न हुन सक्छ भन्ने प्रतिवेदन दिएको छ।’ यस्तै उनले फास्ट ट्य्राकमा आयोजना अघि बढाउने कि भन्ने विषयमा पनि परामर्श भइरहेको जानकारी दिए।
फास्ट ट्रयाकमा लैजानका लागि सार्वजनिक खरिद नियमावली संशोधन गर्नुपर्ने हुन्छ। मन्त्री चौधरीले भने, ‘खरिद नियामावली परिवर्तन गर्दा पारदर्शी होस् भन्नेमा हामी सजग छौं। यसबारे कानुनीलगायतका अन्य प्रक्रियाका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग पनि परामर्श भइरहेको छ।’
असार १ गतेको बाढीले मेलम्ची आयोजनामा क्षति पुगेपछि यसको भविष्य अन्योलपूर्ण रहेका बेला मन्त्री चौधरीले तीन महिनाभित्र अस्थायी रूपमा भए पनि मेलम्चीको पानी काठमाडौंमा ल्याउन गृहकार्य अघि बढाएका हुन्।
मन्त्री चौधरीका अनुसार छोटो टेन्डर गर्ने कि भन्नेबारेमा पनि छलफल भइरहेको छ। ‘काठमाडौंवासीलाई पानी खुवाउन तत्काल आवश्यक परेकाले विशेष परिस्थितिमा लानका लागि फास्ट ट्य्राकमा लैजान कसरी सकिन्छ भन्ने तयारी भइरहेको हो’, उनले भने। मन्त्री चौधरीले आफूले स्थलगत अध्ययन गर्दा पनि कम्तीमा तीन महिनामा काठमाडौंका धारामा पानी खसाल्न सकिने देखेको बताए। उनले भने, ‘अस्थायी रूपमा भए पनि काठमाडौंवासीलाई तीन महिनाभित्र मेलम्चीको पानी खुवाउन सक्छु।’
असार १ गतेको बाढीले मेलम्ची आयोजनामा क्षति पुगेपछि यसको भविष्य अन्योलपूर्ण रहेका बेला मन्त्री चौधरीले तीन महिनाभित्र अस्थायी रूपमा भए पनि मेलम्चीको पानी काठमाडौंमा ल्याउन गृहकार्य अघि बढाएका हुन्।
उनले आफ्नो कार्यकालमा तराई मधेसका विपन्न परिवारका लागि एक घर एक धाराको अवधारणा अघि सारेका छन्। यस्तै उनले पूर्वपश्चिम रेलमार्गको अवधारणाजस्तै पूर्वपश्चिम खानेपानी लाइनको पनि विकास गर्न सकिने बताए। यस्तै उनले स्थानीय तहमा पनि खानेपानीको योजना तय गर्न सकिने बताए।