जनकपुरधाम- पश्चिम दाङबाट विराटनगरतर्फ जाँदै गरेको बस धनुषामा दुर्घटना हुँदा १२ जना घाइते भएका छन्।
बुधबार बिहान करिब पौने ८ बजे पूर्व-पश्चिम लोक मार्ग अन्तर्गत धनुषाधाम नगरपालिका वडा नं. ६ मालटोल स्थित बस अनियन्त्रित भएर २० फिट तल खस्दा बस दुर्घटना भएको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ।
ना६ख ७१०२ नम्बरको बस आफै अनियन्त्रित भएर सडकको दाहिने पट्टी खस्दा बसमा आगलगी भएको इप्रका ढल्केवरका प्रहरी निरीक्षक प्रदीप सुवेदीले बताए।
बसमा सवार यात्रुमध्ये १२ जना घाइते भएका छन्। घाइते हुनेमा सुनसरीको धरान नगरपालिका वडा नं. १६ का ४२ वर्षीया मुना सुवेदी, इटहरी नगरपालिका वडा नं. ४ की ३७ वर्षीया रेखा डाँगी, रुकुमको त्रिवेणी नगरपालिका वडा नं. ९ का ६० वर्षीय डाडाबिर डाङी, २८ वर्षीय कृष्ण बहादुर ओली, दाङको मुसुरे गाउँपालिका वडा नं. ३ का २४ वर्षीय शिव कुमार चौधरी, सल्याणको बनगाङ कपिण्डे नगरपालिका वडा नं. ८ का २३ वर्षीय टिका डिसी रहेका छन्।
त्यस्तै झापाको मेची नगरपालिका वडा नं. १ का २८ वर्षीय कल्याण आचार्य, सिरहाको कर्जन्हा नगरपालिका वडा नं. २ की ४१ वर्षीया शान्ति कार्की, मोरङको रङ्गेली नगरपालिका वडा नं. ८ की ३६ वर्षीया संजिता आचार्य, ३१ वषीया बालिका डिसी र प्युठानको माणडवी गाउँपालिका वडा नं. २ का २४ वर्षीय केशव घर्ती मगर रहेको प्रहरी निरीक्षक सुवेदीले जानकारी दिए।
घाइतेहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ।