काठमाडौं- कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ स्थित ओदालीमा निर्माणाधीन चारलेन पक्की पुलको डिजाइन परिवर्तन हुने भएको छ।
पुल निर्माण प्रक्रियामै रहेका बेला गत महिनाको ३१ गतेदेखि कार्तिक २ गतेसम्म परेको अविरल वर्षाका कारण पहुँच मार्ग भत्काएपछि पुलको केही भागको डिजाइन परिवर्तन गर्न लागिएको हो। पुरानो डिजाइनमा पुलको नदी किनारको भेगदेखि पुल किनार भेगसम्म ढुंगाको बाँध लगाउने भनिए पनि स्थानीयले ढुंगा व्यवस्थापनमा विरोध गरेका कारण ढुंगाको सट्टा आरसीसीको प्रयोग गर्ने गरी डिजाइन परिवर्तन गरिन लागिएको महाकाली पुल आयोजना कञ्चनपुरका सवइञ्जिनियर दुर्गादत्त अवस्थीले बताए।
सवइञ्जिनियर अवस्थीले भने, ‘ढुंगाको अभावले डिजाइन परिवर्तन गर्न लागेका हौं। अब परिवर्तन भएर आएपछि मात्रै पुलको कामहरू अघि बढ्नेछ।
निर्माणको जिम्मा पाएको कुमार सिएफइसी जेभीले भने ढुंगा अभावका कारण बाढीले कम्पनीलाई धेरै क्षति गरेको जनाएको छ। कम्पनीले भनेको समयमा ढुंगा व्यवस्थापन नभएको र बाँध निर्माण गरिसक्नु पर्ने क्षेत्रमा बाँध बाध्न ढुंगा नभएका कारण बाढीले समग्र आयोजनालाई पछि धकेलेको कुमार सिएफइसी जेभीका इन्जिनियर किशोरराज पाण्डेयले बताए।
इन्जिनियर पाण्डेयले भने, ‘कम्पनीले भनेको समयमा ढुङ्गा व्यवस्थापन नभएको र बाँध निर्माण गरिसक्नु पर्ने क्षेत्रमा बाँध बाध्न ढुङ्गा नभएका कारण बाढीले समग्र आयोजनालाई पछि धकेलेको छ। हामीले ढुंगा ल्याउन बारम्बार भनिरहेका छौं। त्यो भएन भने ५/७ महिना लाग्न सक्छ। यदि समयमै ढुंगा आएन भने त्योभन्दा बढी समय पनि लाग्न सक्छ।’
निर्माण गरिनुपर्ने बाँध क्षेत्रमा ३० प्रतिशत २० देखि ४० किलोको सानो ढुंगा तथा बाँकी ७० प्रतिशत क्षेत्रमा भने २ सय ५७ किलोमाथि ढुंगा आवश्यक पर्छन्। आयोजनाकाअनुसार निर्माण स्थलदेखि २५ किलोमिटर क्षेत्र भित्रमा ढुंगा संकलन गर्ने भन्ने भए पनि स्थानीयका विरोधकाबीच ढुंगा व्यवस्थापन गर्न नसकिएको हो।
बाढीले आयोजनाको ६ करोड ३४ लाख ७३ हजार २ सय ५० रुपैयाँको निर्माणाधीन संरचनामा क्षति गरेको छ। २०७४ सालमा ३ अर्ब २७ करोड ठेक्का सम्झौता निर्माण सुरु गरिएको पुलको उत्तरतर्फको २ सय ५० मिटर पहुँच मार्गलाई बाढीले भत्काएको थियो।