धनगढी- डोटीको आदर्श गाउँपालिकामा करेन्ट लागेर चार जनाको ज्यान गएको छ भने एक जना गम्भीर घाइते भएका छन् । आर्दश गाउँपालिका वडा नम्बर १ स्थित बाँझको चासी गाउँमा मंगलबार बेलुकीतिर उक्त घट्ना भएको प्रहरीले जनाएको छ।
स्थानीय जयन्द्र खड्काले नयाँ स्थापना गरेको कुटानी पिसानी मिलमा विद्युत जोड्नलागि पोल गाड्ने क्रममा करेन्ट लागेर ३० बर्षीया जयन्द्र, सोही गाउँका २३ बर्षीय लोकेन्द्र खडका, २३ बर्षकै बिरेन्द्र खड्का तथा २४ बर्षका दिप खड्काको ज्यान गएको स्थानीय गणेश खड्काले जानकारी दिए।
सोही घट्नामा परी २४ बर्षीय नारायण खड्का गम्भिर घाइते भएको र उनको दिपायलमा उपचार भइरहेको स्थानीय दिपक खडकाले जानकारी दिए। मृतक लोकेन्द्र नेपाल प्रहरीका जवान हुन्।
विद्युतको पोल गाड्ने क्रममा पोल ढलेर करेन्ट लागेको प्रहरी नायव निरीक्षक दीलबहादुर कुँवरले जानकारी दिए।
‘नयाँ स्थापना गरिएको मिलमा विद्युत लाईन लिन पोल गाड्दै रहेछन्, फलामको पोल धान्न नसकेर ढलेर विद्युतको तार माथि खस्दा उक्त दुर्घटना भयो’ कुँवरले भने। शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको उनले बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४