बुटवल- रुपन्देहीमा प्रहरीले करिब ७ लाख बराबरको पटाका बरामद गरी नष्ट गरेको छ। जिल्लाका विभिन्न स्थानबाट बरामद भएको ६ लाख ८१ हजार ५ सय ७५ रुपैयाँ बराबरको पटाका बरामद गरी नष्ट गरेको हो।
कात्तिक १७ र १८ गते विभिन्न स्थानमा फेला पारिएका अवैध पटाका बरामद गरी मंगलबार जिल्ला प्रहरी कार्यालय परिसरमा नष्ट गरिएको हो। भारतबाट अवैध रुपमा नेपाल ल्याउदै गरेको पटाका नष्ट गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले बताए।
बुटवल उपमहानगरपालिका–४ अमरपथ, वडा नम्बर ८ सुख्खानगर, लुम्बिनी सांस्कृतिक नगरपालिका–१३ कालिदह, सिद्धार्थनगर–२ झण्डीबजार, वडा नम्बर १२ कालिकापथ, वडा नम्बर ३ खजहना, सम्मरीमाई गाउँपालिका–३ गुलरिया र मर्चवारी गाउँपालिका–२ अमुवा बजारबाट अवैध पटाका बरामद गरिएको थियो।