शुक्रबार, वैशाख १८, २०८३

पोल्यान्ड-बेलारुस सीमामा किन पुगे सयौँ आप्रवासी?

अभियन्ताहरूले भने आप्रवासीहरूलाई 'राजनीतिक खेल'का लागि प्रयोग गरिएको बताएका छन्।
 |  मंगलबार, कात्तिक २३, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २३, २०७८

वार्सा (पोल्यान्ड)- बेलारुससँग सीमा जोडिएको क्षेत्र कुझ्निकाबाट सयौँ आप्रवासीहरू पोल्यान्ड प्रवेश गर्न लागेपछि पोल्यान्डले सुरक्षाकर्मी व्यवस्था कडा पारेको छ। बेलारुससँगको सीमामा १२ हजार सैनिक, ४ हजार सीमा गार्ड र १ हजार ५ सय प्रहरी अधिकारीहरू तैनाथ गरिएको पोल्यान्डले जानकारी दिएको छ। 

National life

यसका साथै प्रतिआतङ्कवाद इकाइका २५० सदस्यसहित सीमामा सुरक्षाकर्मी खटाइएको गृह मन्त्रालयका उपमन्त्री मासीज वासिकले मंगलबार जानकारी दिएका छन्। 

उपमन्त्री वासिकले पीटीभीमा बोल्दै सुरक्षाकर्मीहरू तैनाथ गरिएको बताएका हुन्। ती सबैले देशको सुरक्षामा ध्यान दिने उनको भनाइ छ। 

पोल्यान्डले बेलारुससँगको सीमा क्षेत्रमा 'सशस्त्र' गतिविधि बढ्न सक्ने चेतावनी दिएको छ। यूरोप प्रवेश गर्न सयौँ आप्रवासीहरूबीच तनावको स्थिति सिर्जना हुन सक्ने उसको भनाइ छ। 

पोल्यान्ड, यूरोपेली संघ र नाटोले भने बेलारुसले समस्याको 'दन्किएको आगोमा घ्यू थपेको' आरोप लगाएका छन्। पोल्यान्डले कुज्निका क्षेत्रको सीमा पूर्ण रूपमा बन्द गरेको छ। 

हालसम्म बेलारुसबाट युरोप (पोल्यान्ड) प्रवेश गर्न चाहने ४ हजारभन्दा बढी मानिसलाई उसले नियन्त्रणमा लिएको बताएको छ। 

किन पुगे सयौँ आप्रवासी?

युरोपेली संघ र नाटोका सदस्य राष्ट्रहरू पोल्यान्ड, लिथुआनिया र लाट्भियाले पछिल्लो समय बेलारुसबाट अवैधानिक तरिकाले आफ्नो देशमा प्रवेश गर्ने आफ्रवासीहरूको संख्या व्यापक वृद्धि भएको बताएका छन्। धेरैजसो युवाहरू, महिला र बालबालिकासहित पोल्यान्ड प्रवेश गर्नका लागि सीमा क्षेत्रमा पुगेका हुन्। उनीहरूमध्ये  धेरैजसो मध्यपूर्व र एसियाली राष्ट्रबाट त्यहाँ पुगेको बताइएको छ। 

अभियन्ताहरूले भने आप्रवासीहरूलाई 'राजनीतिक खेल'का लागि प्रयोग गरिएको बताएका छन्। युरोपेली संघको सदस्य नरहेको बेलारुसका अधिनायकवादी नेता अलेक्जेन्डर लुकासेन्को र बेलारुसका केही छिमेकी राष्ट्रका कारण सीमामा समस्या सिर्जना भएको उनीहरूको दाबी छ। पछिल्लो समय लुकान्सेन्कोको विरोध भइरहेको छ।

संयुक्त राष्ट्रसंघीय शरणार्थी नियोगका प्रवक्ता साबिया मान्टुले पोल्यान्ड-बेलारुस सीमा क्षेत्रमा देखिएको समस्याले चिन्ताजनक भएको बताइन्। 'शरणार्थी र आप्रवासीलाई प्रयोग गरी स्वार्थसिद्धि गर्न खोज्नु स्वीकार्य हुँदैन र यो काम तुरुन्त बन्द हुनुपर्छ,' उनले भनिन्। 

अभियन्ताहरूले भने आप्रवासीहरूलाई 'राजनीतिक खेल'का लागि प्रयोग गरिएको बताएका छन्। 

उता लुकासेन्कोले भने आप्रवासीहरूमाथि पोल्यान्डसहितका छिमेकी देशहरूले चरम दमन गरेको आरोप लगाएका छन्। त्यहाँका आन्तरिक मामिलामन्त्री इभान कुब्राकोभले विभिन्न देशबाट आप्रवासीहरू बेलारुससम्म आइपुगेको र उनीहरू युरोप प्रवेश गर्नका लागि सीमा क्षेत्रसम्म पुगेको दाबी गरेका छन्। 'सबैलाई आतिथ्यता प्रदान गर्ने देश भएका नाताले हामी सबैलाई आफ्नो देश प्रवेश गर्न स्वीकृति दिन तयार छौँ,' उनले भने। 

सीमा क्षेत्र पुगेका आप्रवासीहरूले भने आफूहरू पोल्यान्डमा रहने गरी जान नचाहेको बताएका छन्। उनीहरूले जर्मनीमा भविष्य भएकाले त्यतै जाने बताएका छन्। उता जर्मनीले भने युरोपेली क्षेत्र प्रवेश गर्ने चाहनाले पोल्यान्डको सीमा क्षेत्रसम्म आइपुगेकाहरूलाई रोक्नुपर्ने बताएको छ। यसका लागि पोल्यान्डलाई युरोपेली संघले पनि सहयोग गर्नुपर्ने उसको भनाइ छ। 

सीमा क्षेत्रमा पुगेकाहरूले लामो समयदेखि राम्रोसँग खाना र बास पाएका छैनन्। उनीहरूलाई विभिन्न स्वास्थ्य समस्या देखिएको   बीबीसीका पत्रकार पाउल एडम्सले बताएका छन्। उक्त क्षेत्रमा चिसो बढेको छ। माइनस (डिग्री सेल्सियस)मा पुगेको तापक्रमका कारण स्वास्थ्य समस्या सिर्जना भएर थुप्रै मानिसको मृत्यु भइसकेको बीबीसीको भनाइ छ। 

पोल्यान्डले लगाएको सुरक्षा बार तोड्ने प्रयास गरेपछि पोल्यान्डका सुरक्षाकर्मीले बल प्रयोग गरी रोकेका छन् भने पोल्यान्डले सुरक्षाकर्मीको संख्या बढाउँदै लगेको छ।

प्रकाशित: Nov 09, 2021| 18:39 मंगलबार, कात्तिक २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।