काठमाडौं– नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले सेवाग्राहीहरू न्याय क्षेत्रका बिचौलियाका कारण मारमा रहेकाले आफूहरूले त्यसलाई तोडेरै छाड्ने बताएका छन्।
नेपाल बार एसोसिएसनले मंगलबार राजधानीमा आयोजना गरेको विरोध प्रदर्शन कार्यक्रममा सम्बोधन गर्दै उनले भने, ‘सेवाग्राहीलाई पनि म विनम्र अनुरोध गर्न चाहन्छु– वर्षौैंदेखि तपाईहरुको बिचौलियाबाट ध्वस्त हुुनुहुन्छ । बिचौलियाका जड, बिचौलियाका नाइके चोलेन्द्रशमशेर जबरालाई हटाउनका लागि तपाईं सेवाग्राहीको पनि हामीलाई साथ चाहिएको छ।’ उनले मंगलबारसम्म एक घण्टाको धर्ना कार्यक्रम राखिएको बताए।
श्रेष्ठले भने, ‘अब हामीले बिहीबारदेखि उपत्यकाभित्रको सम्पूर्ण अदालतहरु उच्च अदालत, विशेष अदालत, जिल्ला अदालत, न्यायाधिकरणहरु सम्पूर्ण रुपमा १० बजेदेखि १२ बजेसम्म २ घण्टा धर्नामा बसी इजलास नबस्ने निर्णय गरेका छौं।’ सो समयसम्म बेन्चमा नबसिदिनका लागि उनले न्यायाधीशहरु र अदालतका कर्मचारी अपिल गरेका छन्। उनले सेवाग्राहीहरुलाई पनि सो समयमा आफ्नो मुद्दा रोकिदिनका अनुरोध गरे।
उनले प्रधानन्यायाधीश जबराले राजीनामा नदिएसम्म आन्दोलन जारी रहने बताए। अध्यक्ष श्रेष्ठले भने, ‘न्यायपालिकालाई ठिक ठाउँमा राख्नका लागि मिडियाका साथीहरुले पनि साथ दिनुपर्दछ। अहिलेको आवाज, जुन जनआवाज हो, कानुन व्यवसायीहरुको मात्रै आवाज होइन।’ उनले जबरालाई पदबाट हटाउन राजनीतिक दलहरुले पनि भूमिका खेल्नुपर्ने बताए। उनले भने, अब तपाईंहरुको विरुद्ध बार उत्रिन नपरोस्।'