जनकपुरधाम- प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीयतालाई 'अनवान्टेड बेबी' को संज्ञा दिएका छन्। राउतले धेरैको इच्छा विपरित मुलुकमा संघीयता आएको भन्दै दम्पतिले नचाहेर जन्मेको बच्चा झैं भएको तर्क दिए।
मंगलबारदेखि जनकपुरमा शुरु भएको‘संक्रमणकालीन संघीयताको व्यवस्थापन’सम्बन्धी दुर्इ दिने गोष्ठीमा बोल्दै राउतले भने,‘हाम्रो मुलुकमा संघीयता 'अनवान्टेड बेबी' जस्तै छ, माया पनि गर्न नसकिने र फाल्न पनि नसकिने।’
आफ्नै पार्टी संघीय समाजवादी फोरम सहभागी रहेको केन्द्रीय सरकारले प्रदेश २ लाई सिमित स्रोत साधन मात्र उपलब्ध गराएको राउतले आरोप लगाएका छन्। राउतले प्रदेशलाई सिमित स्रोत साधन उपलब्ध गराएर यथास्थितिवादी शक्तिहरु संघीयता विफल पार्ने षडयन्त्रमा रहेको दाबी गरे।
मधेश आन्दोलनले संघीयता स्थापित गरेको दाबी गर्दै राउतले भने,‘मधेश आन्दोलनको जगमा संघीयता स्थापित भएको छ। प्रदेश २ मा संघीयता असफल भए मुलुकमै असफल हुन्छ।’
मुख्यमन्त्री राउतको आक्रोश राष्ट्रसेवक कर्मचारीप्रति पनि छ। राउतले कर्मचारीहरु यथास्थितिवादी हुने गरेको टिप्पणी गर्दै उनीहरुलाई परिवर्तनसँग खासै मतलब नरहेको बताए। अधिकांश कर्मचारी तलबभत्तासँग मात्र सरोकार राख्ने गरेको र थोरैले मात्र देश तथा समाजप्रति सोँच्ने गरेको उनको भनाई छ।
स्थायी सत्ता अर्थात ब्युरोक्रेटले माथिबाट असहयोग गर्ने प्रयास गरिरहेको गुनासो गर्दै राउतले असहयोग नरोकिए करारमा कर्मचारी भर्ना गर्न बाध्य हुने चेतावनी दिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४