काठमाडौं- कवि डाँडा साहित्य समाज, चितवनले आफ्नो स्थापनाको १९ औँ स्थापना दिवस पारेर कार्तिक यही २७ र २८ गते, चितवनको सौराहमा दुई दिने 'नेपाल-भारत साहित्य उत्सव' को आयोजना गर्दैछ। उत्सवका लागि भारत र नेपालबाट गरी करिब १०० आवासीय अतिथि, र ठुलो संख्यामा गैर-आवासीय अतिथिको उपस्थिति रहने छ।
कार्यक्रमको उद्घाटन समारोहमा नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती प्रमुख अतिथि हुनेछन् भने समापन समारोहमा कालेबुङका कवि राजेन्द्र भण्डारी प्रमुख अतिथि हुने छन्। कार्यक्रमका लागि भारतको मणिपुर, असम, सिक्किम, दार्जिलिङ, डुअर्स, मिरिक, सिलिगुढी र दिल्लीबाट साहित्यकारहरू आउँदैछन्।
यस दुई-दिवसीय कार्यक्रमा नेपाल र भारतका अध्येताहरूबाट विभिन्न विषयमा ६ वटा कार्यपत्र प्रस्तुत हुने छन् भने द्विपक्षीय साहित्यिक सरोकारका दुई विषयमा परिचर्चा, तथा सबै सहभागीबाट रचना वचनका कार्यक्रम पनि सम्पन्न हुने छन्।
यस अवसरमा नेपालका वरिष्ठ कवि मुकुन्दशरण उपध्याय, कथाकार एक नियात्राकार इल्या भट्टराई तथा प्रसिद्ध भारतीय नेपाली कवि मनप्रसाद सुब्बालाई विशेष सम्मान गरिने तालिका रहेको छ भने लोकप्रिय गीतकार तथा कवि श्रवण मुकारुङलाई कवि डाँडा सुवर्ण-तुलसी काव्य पुरस्कार २०७८ बाट सम्मानित गरिने कार्यक्रम छ।
यसैगरी आख्यानकार श्याम शाह, कथाकाहरूहरू गायत्री अधिकारी तथा शान्ति शर्मा, युवा सर्जक जीवन निर्दोष तथा समालोचक तथा निबन्धकार डी.आर. शर्मालाई विभिन्न विधामा योगदानका लागि कवि डाँडा साहित्य सम्मान तथा देव-खिना पुरस्कारबाट पुरस्कृत गरिँदैछ। यसै अवसरका कवि डाँडा साहित्य समाजले आयोजना गरेको राष्ट्रिय निबन्ध प्रतियोगिता २०७८ का विजेतालाई पनि पुरस्कृत गरिने कार्यक्रम छ।कार्यक्रम सौराहस्थित होटल जङ्गल सफारी लजमा हुँदैछ।