काठमाडौं– प्रधानसेनापति महारथी प्रभुराम शर्मा भारत भ्रमणमा निस्किएका छन्। भारतीय स्थल सेनाध्यक्ष जनरल एमएम नरवणेको औपचारिक निमन्त्रणामा ९ सदस्यीय भ्रमण दलसहित शर्मा मंगलबार बिहान भारत गएका हुन्।
तीनदिने भ्रमणका क्रममा उनले भारतीय सेनाको मानार्थ महारथी दर्जाको सम्मान ग्रहण गर्नुका साथै उच्चस्तरीय भेटवार्ता गर्नेछन्। प्रधानसेनापति शर्माले आजै भारतीय स्थल सेनाध्यक्ष एमएम नरवणेसँग भेटवार्ता गर्ने कार्यक्रम छ। उनले जल र हवाई सेनाका प्रमुखहरूसँग पनि भेटवार्ता गर्ने कार्यक्रम तय भएको नेपाली सेनाले जनाएको छ।
नेपाली सेनाका तर्फबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, रक्षामन्त्री राजनाथ सिंह र विदेशमन्त्री एस. जयशंकरसँग पनि भेटवार्ताका लागि आग्रह गरिएको छ। परराष्ट्र स्रोतका अनुसार सोमबार बेलुकीसँग शिष्टाचार भेटवार्ताका लागि नेपाली पक्षलाई जवाफ आइसकेको छैन।