मंगलबार, मंसिर ११, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

सडक सास्तीमा बुटवलवासी : ठेकेदारको लापरबाही, सरकार मौन

राजमार्ग चौराहादेखि गोलपार्कसम्म पुग्न निकै सकस छ। पानी पर्दा हिलाम्य हुने सडक घाम लागेपछि धुलाम्मे छ। सडकमा सवारी चालक, यात्रुले मात्रै होइन, सडकको दायाँबायाँ व्यापार गर्नेहरूले समेत सास्ती पाएका छन्।
 |  बुधबार, कात्तिक २४, २०७८
nespernesper

विनोद परियार

विनोद परियार

बुधबार, कात्तिक २४, २०७८

बुटवल- कुनै बेला बुटवलको सडक हेरेर विकासमा नमुना भनेर चर्चा हुन्थ्यो। तर, अहिले त्यही विकासमा नमुना भनिएको सडकलाई हेरेर ठिक उल्टो व्याख्या हुन थालेको छ। बुटवलको करिब ३ किलोमिटर सडक विस्तार कार्य समयमा नहुँदा सडक कुनै दुर्गम भेगको भन्दा कम छैन। सडकमा खाल्डैखाल्डा छन्। सवारी चलाउन कठिन छ।

triton college

राजमार्ग चौराहादेखि गोलपार्कसम्म पानी पर्दा हिलाम्मे हुने सडक घाम लागेपछि धुलाम्मे हुन्छ। सडकमा सवारीचालक, यात्रुले मात्रै होइन, सडकको दायाँबायाँ व्यापार गर्नेले समेत सास्ती पाएका छन्। 

‘दैनिक आवतजावत गर्नुपर्छ। तर, सडक नबन्दा हामीले निकै सास्ती खेप्नुपरिरहेको छ,’ बुटवल देवीनगरका मोटरसाइकल चालक दीपक बर्माले भने। बुटवलजस्तो सहरमा ड्रेस लगाएर अफिस पुग्नै लाज लाग्ने भएको उनी बताउँछन्। केही समयदेखि घाम चर्किएकाले सडक धुलाम्मे छ। धुलोको मुस्लोले सडक ढाक्छ।

युवाको एक समूहले बुटवलको पुष्पलाल पार्कमा सांस्केतिक रूपमा विरोध गर्दै सरकारलाई प्रश्न गरेको थियो। 'यो सडक हो कि मान्छे मार्ने धराप? जति दुर्घटना भए पनि छैन सरकारलाई चासो' लेखिएको ब्यानरसहित युवाले प्रदर्शन गरेका थिए। 

बुटवल राजमार्ग चौराहादेखि चिडियाखोलासम्म साढे तीन किलोमिटर सडक ठेकेदार कम्पनी द कञ्चनजंगा बिरुवा जेबी काठमाडौंको लापरबाही कारण निर्माण नहुँदा सास्ती भोग्नुपरेको छ। 

‘म मरेको होइन मारिएको हुँ। मान्छे न्याय माग्न अदालत जान्छन् म बोल्न नसक्ने प्राणी कहाँ जाऊँ?’ भन्दै लेखिएका प्लेकार्ड बोकेर पुष्पलाल पार्कमा युवा उभिएका थिए। अभियानका संयोजक समुद्र घिमिरेले बुटवलको सडकले दुर्घटनाको जोखिम निम्त्याएकाले दबाब दिन प्रदर्शन गरिएको बताए। तर, ती युवाले प्रदर्शन गरेर दबाब दिए पनि सडक निर्माणमा ठेकेदार र सडक डिभिजनले कुनै चासो देखाएका छैनन्।

Metro Mart
vianet

बुटवल राजमार्ग चौराहादेखि चिडियाखोलासम्म साढे तीन किलोमिटर सडक विस्तार आयोजना निर्माण नभएकै कारण सडक खाल्डाखुल्डी भएको हो। माघदेखि काम सुरु गर्ने योजना थियो। तर, निर्माण कम्पनी द कञ्चनजंगा बिरुवा जेबी काठमाडौंले समयमा काम गरेन। 

सम्झौताअनुसार २०७६ असोज १२ गते सम्पन्न गर्नुपर्ने थियो। तर, सडक सीमाभित्र घर भएकाहरूले पटकपटक अदालतमा मुद्दा दिएकाले सडक विस्तार रोकिएको हो। अदालतले सडक सीमामा पर्ने घर भत्काउन आदेश दिएपछि कामले गति लिने अपेक्षा गरिएकोमा निर्माण कम्पनीको ढिलासुस्तीले समस्या भएको आयोजनाका प्रमुख तथा सडक डिभिजन कार्यालय बुटवलका प्रमुख जयलाल मरासिनीले बताए। ठेकेदारले समयमा निर्माण सुरु नगरेपछि कागज गरेर सम्झौता गरिएको उनले बताए।

‘दसैंतिहार र छठका कारण अहिले काम भएको रोकिएको हो, अबको एक हप्ताभित्र काम सुरु नभए हामीले एक्सन लिन्छौं,’ प्रमुख मरासिनीले भने। उनले अत्यधिक वर्षाका कारण पनि बुटवलको सडक खाल्डाखुल्डी परेको बताए। ‘अहिले खाल्डा पुरिएका छन् तर धुलो नियन्त्रण हुन सकेको छैन,’ उनले भने। चुरेबाट झरेको पहिरो राजमार्गमा बगेकाले बुटवलको सडकमा धुलो नहटेको उनको भनाइ छ। 

तेस्रो पटक २०७९ साल असार ३२ गते निर्माण सम्पन्न गर्ने गरी म्याद थपिएको छ। सडकको लागत ४७ करोड २७ लाख रहेको छ। द कञ्चनजंगा बिरुवा जेबी काठमाडौंले रुपन्देहीका अन्य सडकमा समेत काम गरेको छैन। 

पटकपटक ताकेता गर्दा पनि विभिन्न बहाना बनाउने गरेको प्रमुख मरासिनीले बताए। उनका अनुसार सडकको डिजाइनमा समेत समस्या देखिएकाले संशोधन गरेको प्रतिवेदन सडक सुपरीवेक्षण कार्यालयमार्फत सडक विभागमा एक महिनाअगाडि पठाएको तर मन्त्रालयले स्वीकृत नगर्दा समस्या भएको छ। ठेकेदारले सम्झौताअनुसार रकम कम हुने भएकाले धुलो नियन्त्रण र सडक मर्मतमा रुचि नदिएको उनको भनाइ छ।

उपभोक्ता हित संरक्षण मञ्च बुटवलका अध्यक्ष समुद्र जीसीले बुटवलवासीको स्वास्थ्यमा गम्भीर असर गर्दा पनि तीन तहकै सरकार रमिते बनेको बताए। ‘कम्तीमा निर्माणाधीन सडकमा पानी छम्कन त सकिन्थ्यो नि, यसमा स्थानीय सरकार किन मौन छ, हामी पनि आश्चर्य चकित छौं,’ उनले भने। उनले बुटवलको राजमार्ग मात्रै नभई भित्री सडकको समेत बेहाल भएकाले स्थानीय सरकारलाई जिम्मेवार हुन आग्रह गरे।

स्थानीय सरकार र प्रदेश सरकारले भने संघीय सरकारअन्तर्गत राजमार्ग पर्ने भएको भन्दै जिम्मेवारीबाट भाग्दै आएका छन्।बुटवल उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले राजमार्ग क्षेत्रको निर्माण संघीय सरकारअन्तर्गत भएकाले धुलो उड्नुमा आफूहरू जिम्मेवार नभएको बताए। ‘हामीले सडक डिभिजनलाई बोलाएर पटकपटक छलफल गरेका छौं, नसक्ने भए ठेक्का बदर गर्न पनि भनेका छौं,’ रेग्मीले भने, ‘आवश्यक पर्दा पानी पनि छम्केका छौं।’ उनले  भित्री सडक निर्माणाधीन अवस्थामा रहेकाले समस्या भएको बताए।

जीर्ण सडक पर्यटकका लागि बाधक

जीर्ण सडकले स्थानी र यात्रु मात्रै नभएर पर्यटकले पनि सास्ती खेप्दै आएका छन्। कोरोना संक्रमणको जोखिम कम भएसँगै लुम्बिनी क्षेत्रमा आन्तरिक/बाह्य पर्यटकको आवागमन बढ्ने अनुमान गरिएको छ। तर, सडकको अवस्था दयनीय हुँदा पर्यटन व्यवसायी निराश बनेका छन्।

काठमाडौंबाहिरका धेरै पर्यटकीय क्षेत्रमा आन्तरिक पर्यटकको घुइँचो बढ्दा लुम्बिनी क्षेत्र सामान्य छ। लुम्बिनी होटेल संघका महासचिव पुरुषोत्तम अर्याल लुम्बिनी क्षेत्रको १५ प्रतिशत होटेल मात्रै सञ्चालनमा आउन सकेको बताउँछन्।

विगतमा दसैं र तिहारको बीचमा लुम्बिनी क्षेत्र घुम्न आउने पर्यटक धेरै भएर सेवा दिन भ्याइ नभ्याई हुने गरेकोमा यस पटक सडकको दुरावस्थाकै कारण खासै पर्यटक आउन नसकेको उनको गुनासो छ।

व्यवसायीका अनुसार होटल १५ प्रतिशत मात्रै चलिरहेका छन्। अर्यालले भने, ‘शून्यमा रहेको व्यवसाय १५ प्रतिशतमा पुग्यो। अब बिस्तारै सहज होला।’ 

कोरोना महामारीका कारण विगत दुई वर्षदेखि लुम्बिनीका पर्यटन व्यवसायी मारमा परेका छन्। व्यवसायीका अनुसार दुई वर्षअघिसम्म दसैं र तिहारको बीचमा धेरै व्यापार हुन्थ्यो। सेप्टेम्बरपछि विदेशी पर्यटक आउन थाल्थे। अर्यालले भने, ‘पसल बन्द गर्ने कि नगर्ने भन्ने कुरामा हामी दोधारमा हुन्थ्यौं। तर यसपालि त्यस्तो देखिएन। लुम्बिनी कोरोनाबाट मुक्त छ भनेर प्रस्टसँग भन्न सक्छौं। तर व्यवसाय बढेको छैन।’ 

लुम्बिनीलाई गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले पनि सीधा जोड्दै छ। आन्तरिक पर्यटक पनि थपिँदै जाने निश्चित छ। यस्तो अवस्थामा अविलम्ब सडक सुधार गर्नुपर्ने व्यवसायी बताउँछन्।

प्रकाशित: Nov 10, 2021| 10:18 बुधबार, कात्तिक २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।