कपिलवस्तु- श्रीमतीको हत्या गरी जंगलमा शव फालेर फरार रहेका अभियुक्त श्रीमान् पक्राउ परेका छन्। ३५ वर्षीया चिन्का लोनियाको हत्या गरी फरार रहेका अभियुक्त ४५ वर्षीय राम केवल लोनियालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो।
महाराजगंज नगरपालिका-११ बाबा बनगाईका लोनियाले भदौ १५ गते काठ लिन जाने बहानामा जंगलमा लगी हसियाँले हानेर हत्या गरी भारततर्फ भागेको प्रहरी अनुसन्धानबाट खुलेको छ। श्रीमती चिन्काको शव २०७८ असोज १७ गते दिउँसो बुद्धभूमि नगरपालिका-९ चम्पापुरस्थित कपिलवस्तु साझेदारी सामुदायिक जंगलमा मानव कंकालका रूपमा फेला परेको थियो।
तर तत्काल उनको सनाखत हुन सकेन। कात्तिक ७ गते घटनास्थलमा फेला परेका चप्पल, कपडाहरुबाट चिन्काको सनाखत भएको थियो।
घटना सम्बन्धमा गोप्य रुपमा बुझ्दै जाँदा चिन्कालाई राम केवलले हत्या गरी नेपाल-भारत सिमा क्षेत्रमा लुकिछिपी बस्दै आएको भन्ने खुल्न आएपछि बुद्धभूमि नगरपालिका-९ डुमरामा फेला पारी पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।
चिन्काले परपुरुषसँग अवैध सम्बन्ध राख्ने गरेको शंकाको विषयलाई लिएर आपसी झगडा भएपछि हत्या गरेको प्रहरीको भनाइ छ। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।