मंगलबार, मंसिर ११, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

सूर्य र पानीको आराधना गरिने पर्व छठ

विपरीत गुणका सूर्य र पानीको पूजा आराधना गरी मनाइने चार दिने छठ पर्व सुरु भएको छ।
 |  सोमबार, कात्तिक २२, २०७८
nespernesper

रासस

रासस

सोमबार, कात्तिक २२, २०७८

काठमाडौं– विपरीत गुणका सूर्य र पानीको पूजा आराधना गरी मनाइने चार दिने छठ पर्व सुरु भएको छ। मानव जीवनका लागि अत्यावश्यक नदी र सूर्यदेवको श्रद्धा भक्तिपूर्वक आराधना र पूजा गरी मनाइने छठ सोमबार बिहान स्नान गरेसँगै सुरु भएको हो।

triton college

कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व आज स्नान गरी चोखो खाएर बसिन्छ। कार्तिक शुक्ल चतुर्थीका दिन व्रतालुले स्नान गरेसँगै यो पर्वको विधि सुरु हुन्छ। चतुर्थीको कर्मलाई अरबाइन वा अरबा भनिन्छ। यस दिनदेखि छठ पर्व नसकिएसम्म व्रतालुले माछा, मासु, लसुन, कोदो, फापर, मुसुरो आदि नखाने विधि छ।केही व्रतालुले भने कोजाग्रत पूर्णिमाको भोलिपल्ट अर्थात् कार्तिक कृष्ण प्रतिपदादेखि नै तामसी खाद्य परिकार नखाई शुद्ध खानपिन गर्छन्।

मनोकांक्षा पूरा हुने विश्वासमा विशेषगरी महिलाले छठमा कठोर व्रत गर्छन्। तराईमा उत्साहका साथ मनाइने मिथिला संस्कृतिमा आधारित छठ पर्व २०४६ पछि काठमाडौँलगायत पहाडमा मनाउन थालिएको हो। सूर्य उपासनाको पर्व भएकाले पहाडी समुदाय पनि यसप्रति आकर्षित भएका छन्। २०६३ पछि भने काठमाडौँको थापाथली, गुह्येश्वरी, गौरीघाट र रानीपोखरीमा पनि विशेष महत्त्व एवं साजसज्जाका साथ यो पर्व मनाउन थालिएको हो। 

सूर्योदयकालमा अर्घ दिई सूर्यको दर्शन गरेपछि छठ पूजा सकिन्छ। सूर्यको दर्शन गर्दा भक्त लुगासहित कम्मरसम्म पानीमा डुबेर सूर्य दर्शन गर्ने विधि रहेको छ।

यसअघिदेखि नै बागमती र विष्णुमती नदी किनारमा छठ मनाउने संस्कृति सुरु भएको थियो। कार्तिक शुक्ल चतुर्थीका दिन छठ स्थलमा सरसफाइ एवं स्नान गरेका व्रतालु पञ्चमीका दिनमा निर्जल उपवास बस्छन्। यस दिन बेलुकी घरमा खीर बनाई चन्द्रमालाई अर्पण गरी एक छाक खाने गरिन्छ। यसलाई खरना भन्ने गरिएको काठमाडौँमा छठ मनाउँदै आएका गुह्येश्वरी गौरीघाट छठ पूजा समितिका सदस्य अनिल सिंह बताउँछन्।

षष्ठीका दिन व्रतालुले ठेकुवा, फलफूल, मिठाइ, रोटी सूर्य एवं छठी मातालाई चढाउने गर्छन्। रोटीमा सूर्यको रथका पाङ्ग्रा अङ्कित गरिन्छ। षष्ठीका दिन पक्वान्न, फलफूल र नरिवललाई बाँसको टोकरीमा सजाएर माथिबाट कपडाले छोपिन्छ। साँझपख बत्ती बालेर माटाको घडाको साथ गीत गाउँदै नदी वा तलाउका किनारमा गइन्छ। डुब्न लागेका सूर्यलाई अर्घ दिई प्रणाम गरिन्छ। अर्घ दिएपछि तीनपटक पानीमा डुबुल्की मारी मनोरञ्जन गर्दै त्यहीँ रात बिताइन्छ।

Metro Mart
vianet

सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई दर्शन गर्न बिहान ४ बजेदेखि नै प्रतीक्षा गरिन्छ। उदाउँदो सूर्यलाई गाईको दूध, फूल र जलले अर्घ दिइन्छ। यसरी घाटमा गरिने पूजालाई भिन्सरघाट भनिन्छ। 

छठ पर्वका लागि सजाइएको वीरगन्जस्थित घडिअर्वा पोखरी। तस्बिर : नेपाल समय

बिहानै घाटमा गरिने पूजा भएकाले भिन्सरघाट भनिएको हो। सूर्योदयकालमा अर्घ दिई सूर्यको दर्शन गरेपछि छठ पूजा सकिन्छ। सूर्यको दर्शन गर्दा भक्त लुगासहित कम्मरसम्म पानीमा डुबेर सूर्य दर्शन गर्ने विधि रहेको छ।

पृथ्वीमा भएका जीवको सञ्चालन र संरक्षण जल एवं सूर्यबाट भएकाले नदीलाई माता, सूर्यलाई सम्पूर्ण शक्तिको स्रोतका रुपमा मानी विशेष पूजा गर्ने गरिएको हो। कार्तिक शुक्ल पक्षमा सूर्यको पूजा गर्नाले मनोकाङ्क्षा पूरा भई इच्छाएको फल प्राप्त हुने उल्लेख शास्त्रमा गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चांग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउँछन्। 

सूर्यको उपासना गर्ने र शुद्धताको प्रतीक भएकाले तराईबाट सुरु भई हाल पहाड र हिमाली क्षेत्रसम्म पनि छठ मनाउन थालिएको छ। सूर्य पूजा र दर्शन गरी विवाहिता महिला पुरुषले पति पत्नीको दीर्घायु एवं अविवाहित केटा केटीले सुयोग्य वर बधु प्राप्तिको कामना गर्छन्। सन्तान प्राप्तिको कामनाले यो पर्व मनाउनेको सङ्ख्या पनि धेरै छ।

सर्वप्रथम छठीमाताले सूर्यदेवलाई खुसी पारी यो पर्व मनाउन थालिएको धार्मिक विश्वास छ। 

यो पर्वमा मुस्लिम, बौद्ध र जैन धर्मावलम्बीकोसमेतको सहभागिता रहने गरेको २०६८ देखि कमलपोखरीमा छठ पूजाको नेतृत्व गर्दै आका कमलपोखरी छठ समाजका अध्यक्ष राजेन्द्र सिंहले बताए। गुह्येश्वरीमा २०७६ को छठसम्म मुस्लिमका पाँच परिवारले छठ पूजा गर्थे। कोरोना महामारीका कारण गत वर्ष छठ रोकिएपछि ती परिवार वीरगन्ज गएर छठ मनाउन थालेको समिति सदस्य सिंहले बताए। 

सर्वप्रथम छठीमाताले सूर्यदेवलाई खुसी पारी यो पर्व मनाउन थालिएको धार्मिक विश्वास छ। महाभारतकालमा द्रौपदीसहित पाण्डवहरू अज्ञातवासमा रहँदा गुप्तबास सफल होस् भनी सूर्यदेवलाई आराधना गरेका थिए । पाण्डवहरू विराट राजाका दरबारमा बसेका बेला गरेको सूर्य पूजाका प्रभावले अज्ञातवास सफल भएको विश्वासमा यो पर्व मनाउन सुरु गरिएको पौराणिक ग्रन्थमा उल्लेख छ।

अत्रिमुनिकी पत्नी अनुसूयाले सर्वप्रथम छठ व्रत गरेको सूर्य पुराणमा उल्लेख छ। छठ व्रतका प्रभावले अटल सौभाग्य र पतिप्रेम प्राप्त भएपछि अरुले पनि मनाउने परम्पराको सुरुआत भएको अनुयायीको भनाइ छ। यस वर्ष कार्तिक शुक्ल षष्ठी अर्थात् कात्तिक २४ गते बुधबार बेलुकी अस्ताउँदो र सप्तमी अर्थात् कात्तिक गते बिहीबार बिहान उदाउँदो सूर्यलाई अर्घ  दिइन्छ। 

प्रकाशित: Nov 08, 2021| 21:10 सोमबार, कात्तिक २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।