बिहीबार, असार ३२, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • सम्पत्ति शुद्धीकरण प्रकरणमा पूर्वअर्थमन्त्री विष्णु पौडेलसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा

सम्पत्ति शुद्धीकरण प्रकरणमा पूर्वअर्थमन्त्री विष्णु पौडेलसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा

 |  बिहीबार, असार ३२, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, असार ३२, २०८३

काठमाडौं । व्यवसायी दीपक भट्टको सम्पत्ति शुद्धीकरणसम्बन्धी प्रकरणमा मतियारको भूमिका खेलेको आरोपमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले) का उपाध्यक्ष विष्णु प्रसाद पौडेलसहित १६ जनाविरुद्ध विशेष अदालतमा पूरक आरोपपत्र दायर गरेको छ।

विशेष अदालतबाट जारी सूचनाअनुसार यसअघि दर्ता भएको प्रतिवादी दीपक भट्टसमेतको मुद्दामा थप अनुसन्धानपछि आरोपपत्र दायर गरिएको हो।

आरोपपत्रमा विष्णु प्रसाद पौडेलसहित ६ जना व्यक्ति र १० वटा प्रालि गरी कुल १६ जनालाई प्रतिवादी बनाइएको छ।

विभागका अनुसार प्रतिवादीहरूले व्यवसायी दीपक भट्टलगायतको गैरकानुनी रूपमा आर्जित सम्पत्ति लुकाउन तथा त्यसको वास्तविक स्रोत लुकाउने वातावरण निर्माण गरी सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ अन्तर्गत मतियारको भूमिका खेलेको आरोप लगाइएको छ।

विष्णु प्रसाद पौडेलको हकमा २० करोड ९० लाख रुपैयाँ बिगो कायम गरिएको छ। साथै, उनको एभरेष्ट बैंक लिमिटेडको खातामा रहेको ६ लाख ३४ हजार ५४५ रुपैयाँ ८४ पैसा जफत गर्नसमेत मागदाबी गरिएको विभागले जनाएको छ।

विशेष अदालतले जारी गरेको सूचनामा थप अनुसन्धानबाट प्राप्त प्रमाणका आधारमा पूरक आरोपपत्र दायर गरिएको उल्लेख छ। अब उक्त मुद्दाको सुनुवाइ विशेष अदालतको नियमित प्रक्रियाअनुसार अघि बढ्नेछ।

यसअघि पनि यही प्रकरणमा व्यवसायी दीपक भट्टविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता भइसकेको थियो।

प्रकाशित: Jul 16, 2026| 20:04 बिहीबार, असार ३२, २०८३
प्रतिक्रिया दिनुहोस्