शुक्रबार, साउन १, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • अदालतको शौचालयबाट भागेका थुनुवा डेढ घण्टामै प्रहरी नियन्त्रणमा

अदालतको शौचालयबाट भागेका थुनुवा डेढ घण्टामै प्रहरी नियन्त्रणमा

 |  शुक्रबार, साउन १, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १, २०८३

रौतहट । जिल्ला अदालत रौतहटको शौचालयको भेन्टिलेसनबाट फरार भएका एक थुनुवालाई रौतहट प्रहरीले करिब डेढ घण्टामै पुनः पक्राउ गरेको छ।

पक्राउ पर्ने गढीमाई नगरपालिका–६ निवासी २५ वर्षीय करणकुमार यादव मोटरसाइकल चोरी मुद्दाका अभियुक्त हुन्। अनुसन्धानका लागि न्यायिक हिरासतको अनुमति लिन प्रहरीले उनलाई शुक्रबार जिल्ला अदालत गौरमा उपस्थित गराएको थियो।

अदालत परिसरमा रहेका बेला यादवले शौचालय जान अनुमति मागेपछि प्रहरीको निगरानीमै शौचालय प्रवेश गरेका थिए। तर, शौचालयको भेन्टिलेसनबाट बाहिर निस्किएर उनी अपराह्न करिब ४ बजे फरार भएका थिए।

घटनाको जानकारी लगत्तै जिल्ला प्रहरी कार्यालय रौतहटले जिल्लाभरका प्रहरी युनिट परिचालन गर्दै तीव्र खोजी अभियान सञ्चालन गरेको थियो। खोजतलासका क्रममा फरार यादवलाई यमुनामाई गाउँपालिका अन्तर्गत गौर–चन्द्रपुर सडकखण्डको बम नहर क्षेत्रबाट करिब डेढ घण्टापछि प्रहरीले नियन्त्रणमा लिन सफल भएको हो।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी सीताराम रिजालका अनुसार थुनुवालाई अदालत लैजाने जिम्मेवारीमा रहेका प्रहरी जवानको भूमिकाबारे समेत छानबिन सुरु गरिएको छ। अनुसन्धानबाट लापरबाही पुष्टि भए आवश्यक विभागीय कारबाही गरिने उनले बताए।

अदालत परिसरजस्तो संवेदनशील स्थानबाट थुनुवा फरार हुनुले सुरक्षा व्यवस्थामाथि प्रश्न उठाएको भए पनि प्रहरीले छोटो समयमै उनलाई पुनः नियन्त्रणमा लिन सफल भएपछि घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित: Jul 17, 2026| 19:12 शुक्रबार, साउन १, २०८३
प्रतिक्रिया दिनुहोस्