धनगढी- कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जोशीपुर गाउँपालिका-५ सीमरानामा बा०२०१५प २७३८ नम्बरको मोटसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार मृत्यु हुनेमा लम्कीचुहा नगरपालिका-७ का २५ वर्षीय नरेश रोकाया रहेका छन्। उनलाई धनगढीस्थित निसर्ग अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले बताए।
मोटरसाइकलमा चार जना सवार रहेकोमा अन्य तीन जना सामान्य घाइते भएको उनले बताए। घाइते हुनेमा मोटरसाइकल चालक सोही ठाउँका २५ वर्षीय अभिषेक चौधरी, २४ वर्षीय प्रकाश चौधरी र २० वर्षीय जीवन चौधरी रहेका छन्।
उनीहरूलाई मोटरसाइलसहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।