जनकपुरधाम- मिथिलाञ्चल क्षेत्रमा हर्षोल्लासका साथ मनाइने छठपर्वको तयारी सुरू भएको छ। कात्तिक महिनाको शुक्लपक्षमा मनाइने छठ पर्वको लागि अहिले श्रद्धालुभक्तजनहरूले पोखरी, नदी तथा विभिन्न जलायशहरू सजाउने काम धामधम गरिरहेका छन्। युवा क्लव तथा अन्य संस्थाहरूले छठ पर्वको अवसरमा जनकपुरका विभन्न पोखरी तथा सरोवरहरूलाई दुलहिझैँ सिंगारिएको छ।
जनकपुरका गंगासागर, धनुष सागर, अग्नीकुण्ड ,अङगराजसर, दशरत तलाउ सहितका पोखरीहरूको डिलमा छठ पूजाका लागि सजाउने कार्य भइरहेको छ।
गंगा सागर छठ पुजा समितिका अध्यक्ष अशोक लाल दासले गंगा सागरको डिलमा छठको लागि घाट निर्माण कार्य तीव्र गतिमा भइरहेको बताए। पोखरीको चारै डिलमा करिव चार हजारभन्दा बढी व्यक्ति एक साथ छठ पर्व मनाउने गरेको उनले बताए।
छठ पूजाका लागि जनकपुरका व्रतालुहरू राति पूजा स्थानमै बस्छन् भने ग्रामिण क्षेत्रमा अधिकाश व्रतालु साँझ घर फर्कछन् र भोलि बिहानै घाटमा आएर उदाउँदो सूर्यलाई अर्घ्य दिने गरिन्छ।
छठ पर्व मनाउँदा चर्म रोग, पुत्रलाभ,आर्थिक समवृद्धि तथा सुख शान्ति प्राप्त हुने जनविशवास रहेको छ। चार दिनसम्म मनाइने यो पर्वको पहिलो दिन सोमवार नुहाई खाई, दोस्रो दिन अर्थात मंगलवार खरना, तेस्रो दिन बुधवार अस्ताउँदै गरेको सूर्य र अन्तिम दिन बिहीबार उदाँउदै गरेको सूर्यलाई अर्घ दिई यो पर्व समापन गरिन्छ।
छठ पर्वमा तीन करोडको केरा खपत
छठ पर्वमा अन्य समग्रीभन्दा केराको कारोवार बढी हुने गर्छन्। फलफूल व्यवसायी संघ जनकपुरले छठ पर्वलाई मात्र लक्षितगरि ४५ ट्रक केरा, ११ ट्रक स्याउ, चार ट्रक अनार र चार ट्रक सन्तुला ल्याएको जनाएको छ।
धनुषा, महोत्तरी र सिरहा गरि तीन जिल्लाका उपभोक्ताले छठमा जनकपुरबाटै केरा लगायतका समाग्री खरिद गर्ने गर्छन्। फलफुल व्यवसायी संघ जनकपुरका रुदलप्रसाद साहले केरा दुई करोड ५० लाख, स्याउ ८० लाख, अनार ६० लाख र सन्तुला २० लाखको कारोबार हुने अनुमान गरिएको बताए।
सुरक्षा व्यवस्था कडा बनाउँदै प्रहरी
चाडपर्वलाई मध्यनजर गर्दै प्रदेश २ प्रहरी कार्यालयले प्रदेश सुरक्षा व्यवस्थालाई कडा पारेको छ। विगतका वर्षहरूमा जनकपुरमा चाडपर्वकै अवसरमा अप्रिय घटना भएकोले त्यस्ता घटना हुन नदिन आफू सर्तक रहेको प्रदेश प्रहरी प्रमुख डीआईजी उमेश रंजितकारले बताए।