काठमाडौं- दाङको तुलसीपुरमा एक युवकको हत्या भएको छ। तुलसीपुर उपमहानगरपालिका-४ नयाँवस्तीका २१ वर्षीय टोपबहादुर पुनको हत्या भएको प्रहरीले जनाएको छ।
आक्रमणमा परी अर्का एक जना गम्भीर घाइते छन्। सल्यानको कपुरकोट गाउँपालिका-४ का १७ वर्षीय शंकर डाँगी गम्भीर घाइते रहेको प्रहरीले जनाएको छ।
उनीहरूमाथि तुलसीपुर-४ कै २० वर्षीय खिमबहादुर मगर, १८ वर्षीय रेशम थापा र २१ वर्षीय विनय मगरले लाठी र धारिलो हतियार प्रहार गरेको प्रहरीले भनाइ छ।
टोपबहादुरलाई बिहान ३ बजेतिर राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पुर्याएलगतै चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक सुरेश काफ्लेले बताए।
घाइते डाँगीलाई भने बाँकेमा उपचार सम्भव नभएपछि भारतको लखनउ लगिएको छ। प्रहरीले आरोपित सबै फरार रहेको र उनीहरूको खोजी भइरहेको बताएको छ।