चितवन- माडी नगरपालिका-८ कान्तिपुरमा सामुहिक खेतीभित्र 'फार्म स्टे' सञ्चालन हुने भएको छ। 'फार्म स्टे'का लागि ४६ वटा घर निर्माणका चरणमा छन्।
सामुहिक खेती अवलोकन गर्न आउने पर्यटकलाई लक्षित गरि 'फार्म स्टे' सञ्चालन गर्न लागिएको हो। सूर्योदय कृषि सहकारी संस्थामा आबद्ध ८४ जना किसानले तीन वर्षअघिदेखि सय बिघा जमिनमा सामुहिक खेती गर्दै आएका छन्।
फार्म स्टेमा बस्ने पाहुनालाई किसानले सामुहिक खेतीमा लगाएका खानेकुरा खुवाउने र स्थानीय संस्कृति झल्कने प्रस्तुति देखाउने सहकारीको योजना छ। सहकारीले सामुहिक खेती प्रवर्द्धन कार्यक्रम अन्तर्गत गन्धर्व संग्रहालय तथा सांस्कृति केन्द्रको पनि स्थापना गरेको छ।
सामुहिक खेतीका लागि एकजना किसानले एक कट्ठादेखि ८० कट्ठासम्म जग्गा दिएको सूर्योदय कृषि सहकारी संस्थाका प्रबन्धक शिवजी गायकले बताए। ‘८४ जना किसानले दिएको जग्गालाई एकैठाउँमा चक्लाबन्दी गरेर सामुहिक रूपमा खेती गर्दै आएका छौँ’, उनले भने। उनीहरूले २०७५ सालमा जग्गाको चक्लाबन्दी गरेर २०७६ सालदेखि खेतीपाती सुरू गरेका हुन्।
सामुहिक खेतीमा पोखरी निर्माण गरि माछापालन, पशुपालन, तरकारी खेती र अन्नबाली लगाउने गरेको उनी बताउँछन्। यस क्षेत्रलाई कृषि पर्यटनका रुपमा विकास गर्न 'फार्म स्टे' सञ्चालन गर्न लागेको उनले जानकारी दिए। करिब २५ विघामा पोखरी निर्माण र ६ बिघामा तरकारी खेती गरिएको छ। ‘पर्यटकलाई यहीँ बस्ने वातावरण बनाउनलाई 'फार्म स्टे' सञ्चालन गर्न खोजेका हौँ।
'फार्म स्टे'का लागि ४६ वटा घर निर्माणका चरणमा छन्’, उनले भने। सामुहिक खेतीका लागि बाग्मती प्रदेश सरकारले विभिन्न शीर्षकमा ७५ प्रतिशत अनुदान दिएको छ। बाँकी २५ प्रतिशत स्थानीय किसानको सहभागीता छ। सहकारीले एक करोड बराबरका मेसिनरी औजार किनेको छ, जसमा प्रदेश सरकारको पनि बजेट परेको छ।
यस्तो हुनेछ 'फार्म स्टे'
'फार्म स्टे'का लागि बनाइने एउटा घरको लागत आठ लाख रुपैयाँ रहेको छ। त्यसका लागि प्रदेश सरकारले प्रतिघर तीन लाख र नगरपालिकाले प्रति घर डेढ लाख दिएको छ। किसानले प्रति घर साढे तीन लाख रुपैयाँ ब्यहोर्नेछन्। एउटा घरमा किचनसहित चार वटा कोठा हुन्छन्। पाहुनाका लागि एउटा कोठा राखिने र बाँकी कोठा किसानले प्रयोग गर्ने उनी बताउँछन्। एउटा कोठामा दुई जनासम्म अटाउँन सक्छन्।
कान्तिपुरमा २०२१ सालदेखि मानिसको बसोबास हुन थालेको हो। यहाँ धादिङ, गोर्खा, पर्वत, स्याङजा लगायतका जिल्लाबाट बसाइसराई गरेर आएका छन्। यहाँ ब्राह्मण क्षेत्रीका ३४ वटा, जनजातिका तीन वटा र दलितका ४९ वटा घरपरिवार छन्। दलितभित्र पनि विश्वकर्माका आठ घर छन् भने बाँकी घरपरिवार गन्धर्व समुदायका छन्।
‘खेतीमात्रै गर्दा सोचेजति फाइदा हुँदैन। त्यसो हुनाले 'फार्म स्टे' पनि सञ्चालन गर्दा आफैले उत्पादन गरेका वस्तु यहीँ खपत होला। दीर्घकालिन रुपमा किसानलाई फाइदा होला’, उनले भने। फार्म स्टेका घर निर्माण, सांस्कृतिक घर, गोदाम घर, पाडा पालनका लागि गोठ, टनेल, उपकरण राख्ने घर, जग्गा चक्लाबन्दीलगायत विभिन्न कामका लागि प्रदेश सरकारले हालसम्म पाँच करोड बजेट दिइसकेको उनले बताए। सहकारीले २८ वटा पाडा पनि पालेको छ।
चक्लाबन्दीपछि खेती गर्न सहज
जग्गा चक्लाबन्दी गरि मेशिनको प्रयोग गरेर खेतीपाती गर्दा धेरै सहज भएको उनी बताउँछन्। जसले गर्दा आम्दानी पनि बिस्तारै बढ्दै गएको उनले बताए। ‘सुरू-सुरूका वर्ष भएर पनि होला, चक्लाबन्दी गर्दा मलिलो माटो अन्यत्र गएको हुनाले उत्पादनमा केही कमी छ। माटोको सुधार हुँदै छ। विस्तारै उत्पादकत्व पनि बढ्ला भन्ने अपेक्षा गरेका छौँ’, उनले भने।
सामुहिक खेतीमा विभिन्न पूर्वाधार निर्माणकै चरणमा भएकाले सोचेजति नाफा कमाउन भने नसकिएको उनी बताउँछन्। डेढ किलोमिटर लामो कुलो चाहिनेमा गतवर्षसम्म करिब सात सय मिटरमा मात्रै कुलो बनाउने काम सकिएको छ। वर्षातका बेला खेतमा जम्मा भएको पानी निकास गर्ने ठाउँको पनि अभाव भएको छ। खेतको ठाउँ-ठाउँमा पानीको निकास दिनेगरि काम गर्न बाँकी छ।
सामुहिक खेतीमा बाँकी रहेका काम सम्पन्न गर्न सहकारीमा केहीँ पुंजी राख्न आवश्यक रहेको उनले बताए। किसानलाई प्रति कट्ठा एक मुरी धान दिनेगरि सहकारीले उनीहरूको जग्गा लिएर चक्लाबन्दी गरेको हो। सहमति अनुसारको धान किसानलाई दिन सकिएको उनले बताए।
बाढीले धान बालीमा क्षति
यो वर्ष बाढीले धेरै क्षति पुर्याएको छ। पाक्ने बेलाको धानमा बाढी पसेपछि धान सुतेका छन्। कतिपय स्थानमा धान कुहिएर झरेका पनि छन्। मेशिनले काट्न सक्ने अवस्था छैन। जसले गर्दा किसान आफैले काटेर धान झार्नुपर्ने भएको छ। यसले लागत बढाएको छ।
‘यो वर्ष धान राम्रो फलेको थियो। पानी परेको हुनाले सबै धान सुतेको छ। मेशिनले पाँच हजार लागतमा एक विघाको धान काट्ने, झार्ने, थन्काउने र पराल पनि फाल्ने काम गथ्र्यो। तर अहिले मानिस आफै खटिनुपर्दा ४० हजार रुपैयाँसम्म लागत लाग्ने भएको छ’, उनले भने। गत वर्ष धान बालीमा लागेको गवारोको महामारीले गर्दा किसानले क्षति व्यहोर्नु परेको उनले बताए। किसानलाई मौसम र रोगकिराले पनि संकटमा पार्ने गरेको उनी बताउँछन्।
यसपालि मौसमले साथ नदिँदा किसानलाई घाटा भएको स्थानीय किसान उखा गायक बताउँछिन्। सामुहिक खेती सुरु गरेपछि खुसी भएकी उनी कहिले रोगकिरा त कहिले बाढीले बालीमा क्षति पुर्याएको भन्दै चिन्तित छिन्। सामुहिक खेतीका लागि उनले आफ्नो १२ कट्ठा जग्गा दिएकी हुन्।
‘पहिला-पहिला १२ कट्ठामा ३० मुरी धान हुन्थ्यो, तीन-चार बोरा गहुँ हुन्थ्यो। दुई खाल मकै हुन्थ्यो। अहिले हामीले बुद्धि पुर्याउन सकिएन कि। मौसमले पनि साथ दिएन। घाटा भयो’, उनले भनिन्। -न्युज कारखाना