काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीले अध्यक्ष बन्नका लागि केहि निश्चित योग्यता तेकेको छ । उसले अध्यक्ष हुनका लागि कम्तीमा पोलिटब्युरो सदस्य भएको हुनुपर्ने प्रावधान नयाँ विधानमा समावेश गरेको छ ।
एमाले र माओवादी मिलेर नेकपा बनेकाले आगामी महाधिवेशनमा भने दुवै पार्टीमा पोलिटब्युरो सदस्य भइसकेका नेता मात्र अध्यक्ष पदमा उम्मेदवार बन्न पाउने छन्।
राष्ट्रिय महाधिवेशनको प्रतिनिधि चुनिनका लागि संगठित सदस्य भई कम्तीमा १० वर्ष काम गरेको हुनुपर्ने व्यवस्था मस्यौदामा छ। महिला, दलित, सिमान्तकृत, जनजाति र अपांगता भएका व्यक्तिको हकमा भने संगठित सदस्य भई सात वर्ष काम गरेको भए पुग्नेछ।
यस्तै, केन्द्रीय पदाधिकारी र स्थायी कमिटी सदस्य हुन एक कार्यकाल पोलिटब्युरो सदस्य भएको र पोलिटब्युरो सदस्य हुन कम्तीमा एक कार्यकाल केन्द्रीय कमिटीको पूर्ण सदस्य भएको हुनुपर्ने विधानमा उल्लेख छ।
केन्द्रीय सदस्यका लागि केन्द्रीय कमिटी वा केन्द्रीय निकायको सदस्य भई काम गरेको वा संगठित सदस्य भई कम्तीमा १२ वर्ष काम गरेको र प्रदेश कमिटी सदस्य भई एक कार्यकाल वा जिल्ला कमिटीसदस्य भई दुई कार्यकाल काम गरेको हुनुपर्ने उल्लेख छ। केन्द्रीय अनुशासन आयोगको अध्यक्ष र सदस्यका लागि स्थायी कमिटी सदस्यको योग्यता पुगेको हुनुपर्ने विधान मस्यौदामा उल्लेख छ।
यसैगरी, केन्द्र्रीय लेखापरीक्षण आयोगको अध्यक्षका लागि पनि एक कार्यकाल स्थायी समिति सदस्य भएको हुनुपर्नेछ। केन्द्रीय सल्लाहकार परिषद् अध्यक्ष हुनका लागि पनि स्थायी समितिको सदस्य भइसकेको हुनुपर्नेछ । केन्द्रीय कमिटी वा केन्द्रीय निकायको पदाधिकारी वा सदस्य भई काम गरेको व्यक्ति केन्द्रीय सल्लाहकार परिषद् सदस्य हुन पाउनेछन्।
राष्ट्रिय परिषद् सदस्य हुन जिल्ला कमिटीका अध्यक्षको सरह योग्यता भएको हुनुपर्ने र विभागीय सदस्य हुन एक तह तल्लो कार्यकारी सदस्य भई काम गरेको हुनुपर्ने उल्लेख छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४