इनरुवा- पूर्व-पश्चिम राजमार्गअन्तर्गत सुनसरीको कोशी गाउँपालिका–४ कोशी कटानमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।
बि आर ०६ पी बी ६४१८ नम्बरकाे भारतीय स्कारपिओ जिप अनियन्त्रित भई दुर्घटनामा हुँदा ३ जनाको घटनास्थलमै र ३ जनाको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सुनसरीले जनाएको छ ।
मृत्यु हुनेमा भारतको विहार राज्यको सुपौल जिल्लास्थित लक्ष्मीणीया बस्ने ४० वर्षीय संजीव कुमार र सोही ठाउका गोनु कुमार रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । मृतक छ जनामध्ये दुईजनाको मात्र नाम खुलेको र बाँकी चारजनाको नाम खुल्न बाँकी रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले जानकारी दिए ।
घटनास्थलमा मृत्यु भएका तर नाम नखुलेका तीनजनाको शव जिल्ला अस्पताल, इनरुवामा राखिएको छ भने उपचारका क्रममा मृत्यु भएकाको शव विराटनगरस्थित अस्पतालमै राखिएको प्रहरीले जनाएको छ । सोही दुर्घटनामा अन्य चारजना घाइते भएका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४