सुर्खेत- राजनीतिमा नलागेका भए जीवनबहादुर शाही कुशल पाइलट बन्थे। पेसागत रुपमा पाइलट, आफन्त र छरछिमेकमा उनको परिचय सीमित हुन्थ्यो। कुनै बेला पाइलट हुने उनको तीव्र चाहना थियो। युवा अवस्थामा पलाएको त्यही चाहना पूरा गर्न उनी माध्यमिक तहको पढाइ सकेपछि अमेरिका हान्निए।
तीन दशकअघि पाइलट कोर्स पूरा गरेका उनले अध्ययनपछि पाइलट पेसा रोजेनन्। पाइलट बनेर जहाज उडाउनुभन्दा नेता बनेर देश चलाउने सपना देखे। उनको त्यही सपना कर्णाली प्रदेशको मुख्यमन्त्री बनेर साकार भएको छ।
शाहीले ‘कुनै दिन देश नेतृत्व लिन्छु र जनताको सवा गर्छु’ भन्ने उद्देश्य राखे। र दुर्गमको जन्मभूमि हुम्लाबाटै राजनीतिमा होमिए। अन्ततः सक्रिय राजनीतिमा होमिएको ३२ वर्षपछि उनले प्रदेश हाँक्ने जिम्मेवारी पाएका छन्। औपचारिक रुपमा मंगलबार उनी कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री बनेका छन्। मुख्यमन्त्रीसम्म आइपुग्दा उनको राजनीतिक यात्रा भने त्यति सहज भएन।
२०२१ साल फागुन २० गते साविकको छिप्रा गाउँ (मावलीघर) मा बुवा मानबहादुर र आमा देलकली शाहीको कोखबाट उनको जन्म भयो। बाल्यकाल तत्कालीन खार्पुनाथ गाउँविकास समितिको वडा नम्बर ५ को खर्पेलगाउँमा बिताए।
तीन दशकअघि पाइलट कोर्स पूरा गरेका उनले अध्ययनपछि पाइलट पेसा रोजेनन्। पाइलट बनेर जहाज उडाउनुभन्दा नेता बनेर देश चलाउने सपना देखे।
गाउँकै विद्यालयबाट कखरा चिने। जिल्ला सदरमुकाम सिमकोटबाट प्राथमिक शिक्षा आर्जन गरे। काठमाडौंको बूढानीलकण्ठ स्कुलबाट माध्यमिक तहको अध्ययन पूरा गरे। त्यसपछि पाइटल कोर्स पढ्न उनी अमेरिका पुगेका थिए।
२०४० सालमा नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघबाट राजनीतिमा प्रवेश गरेका उनी २०४६ सालदेखि सक्रिय राजनीतिमा होमिएका हुन्। राजनीतिशास्त्रमा स्नातकोत्तर शाही २०४६ देखि २०६२ सालसम्म लगातार नेपाली कांग्रेस हुम्लाको पार्टी सभापति भएर नेतृत्व गरेका छन्।
२०४९ सालको स्थानीय निर्वाचनमा जिल्ला विकास समितिमा उम्मेदवार बने। नतिजा उनको पक्षमा नपरे पनि हिम्मत हारेनन्। बरु राजनीतिमा थप सक्रिय बने। फलतः २०५५ सालमा तत्कालीन जिल्ला विकास समितिको सभापति बने। सभापति भएपछि जिल्लामा विकास निर्माणको खाका कोरे। नागरिकको जीवनस्तर परिवर्तनका लागि 'एक घर एक शौचालय' अभियान चलाए।
२०७४ को हुम्ला प्रदेशसभा (ख) बाट निर्वाचित भए। दुर्भाग्य, प्रदेशसभामा कांग्रेसका तर्फबाट प्रत्यक्षतर्फ प्रदेशमा उनी मात्रै निर्वाचित भए। त्यसपछि मुख्यमन्त्री बन्ने सपनामा केही समय ब्रेक लागेको थियो।
पहिलो संविधानसभा निर्वाचनमा माओवादीकै उम्मेदवारसँग पराजय व्यहोरे। २०७० को दोस्रो संविधानसभा निर्वाचनमा विजय भएपछि उनको राजनीतिक यात्रा थप उचाइमा पुग्यो।
शाही २०७३ सालमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री र २०७४ साल खानेपानी तथा सरसफाइ मन्त्री बने। केन्द्रीय राजनीतिमा स्थापित हुँदै गर्दा मुख्यमन्त्री बन्ने उद्देश्यले प्रदेशमा झरे। २०७४ को हुम्ला प्रदेशसभा (ख) बाट निर्वाचित भए। दुर्भाग्य, प्रदेशसभामा कांग्रेसको तर्फबाट प्रत्यक्षतर्फ प्रदेशमा उनी मात्रै निर्वाचित भए। त्यसपछि मुख्यमन्त्री बन्ने सपनामा केही समय ब्रेक लागेको थियो।
तर ४४ महिनाको प्रतीक्षापछि उनलाई मुख्यमन्त्री बन्ने सौभाग्य मिल्यो। वैशाख ३ गते निवर्तमान मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएकाले मुख्यमन्त्री अवसर पाएका हुन्। विश्वासको मत दिएको ६ महिनापछि सरकारको नेतृत्व आफ्नै काँधमा लिएका छन्। ४० सदस्यीय प्रदेशसभामा ६ सिटमा खुम्चिँदा पनि उनले सरकारको नेतृत्व मात्रै लिएका छैनन् आफूलाई परिपक्व नेताका रुपमा पनि उभ्याएका छन्।
कांग्रेसको ११औं महाधिवेशनयता लगातार केन्द्रीय सदस्य रहेका उनी राजनीतिमा मात्रै होइन खेलकुदमा सक्रिय छन्। विद्यालय उमेरमा उनी अतिरिक्त क्रियाकलापमा उतिकै रुचि राख्थे। कराँतेमा ब्ल्याकबेल्ट गरेका शाही भलिबल पारखी हुन्। साविकको कर्णाली अञ्चलमा हुने भलिबल खेलमा प्रतियोगितामा उनले धेरै पटक सहभागिता जनाएका छन्।