काठमाडौं- ठूला सहरमा दिनानुदिन सडक दुर्घटना बढिरहेका समाचार आइरहेको छ । साना सवारी साधानका चालक ठूला सवारी साधानको चपेटामा परेका छन् । साँघुरो बाटो र बढ्दो सवारी साधनसँगै चालकहरूको लापर्वाहीले दैनिक जसो सडक दुर्घटनाले ज्यान गइरहेको छ ।
दैनिक राजधानीमा बढिरहेको सडक दुर्घटनालाई कसरी न्युनीकरण गर्ने त ? सडक दुर्घटनाले समाजलाई पार्ने प्रभाव र सडक दुर्घटनाबाट बच्न र बचाउने सन्देश दिने उद्देश्यका साथ ‘नेपाल अटोमोबाइल स्पोर्ट एसोसेसन’ले एकदिने ‘काठमाडौं रोड सेफ्टी फिल्म फेस्टिबल’ सम्पन्न गरेको छ ।
नेपाल पर्यटन बोर्डमा सोमबार १८ गते भएको फिल्म महोत्सवमा १५ ओटा छोटा फिल्म प्रतिश्पर्धात्मक रूपमा प्रदर्शन गरिएको थियो । नासा फाउण्डेशनले गरेको फेस्टिबलमा जुरीको संयोजन कलाकार आरपी पन्तले गरेका थिए ।
निर्णायक मण्डलमा रहेका जुरी सदस्य दिनेश डिसी, दिवस गुरागाई, आशिष गजुरेल, नविन निरौला र दिनेश श्रेष्ठले तीनओटा उत्कृष्ट फिल्म छनोट गरेका थिए । दृष्टि, पछुतो, सरी बेटा क्रमश, पहिलो दोस्रो र तेस्रो भएको थियो । ५० हजार, तीस हजार, र बीस हजारको चेक र प्रमाणपत्र प्रदान गरिएको थियो ।
राजधानीमा पहिलोपटक चलेको ‘काठमाडौं रोड सेफ्टी फिल्म फेस्टिबल’ले नयाँ युवापुस्तालाई फिल्ममा लाग्न हौसाउने र जनचेतना जगाउन पहल गरेको बताए कलाकर तथा जुरी संयोजक आरपी पन्तले ।
काठमाडौं रोड सेफ्टी फिल्म फेस्टिबलमा प्रदर्शन रहेको फिल्मले कथा उठाए पनि टेक्नीकल रूपमा रहेका मिस्टेकहरूलाई औंलाइदिएका थिए कलाकार निर्देशक दिनेश डिसीले ।
सांसद योगेश भट्टराई, अनुराग कुल श्रेष्ठ, जि फण्डका अध्यक्ष दिनेश श्रेष्ठले शुभकामना मन्तव्य दिएका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४