काठमाडौं- प्रतिनिधि सभाको सोमबारको बैठकमा एक सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीले भने झैं आफूहरुले दैनिक पानीजहाज चढ्न पाएकोमा धन्यवाद दिएका छन्।
कांग्रेसका यूवा सांसद प्रकाश स्नेहीले भने 'प्रधानमन्त्रीज्यूले भने झैं हामी सांसद कोही त्रिपुरेश्वरको, कोही गोकर्ण र जोरपाटीको जनताको पानीजहाज चढेर आएकै छौं। अब रेल चढौला, ऋण पनि तिरौंला तर लिपुलेकको बिषयमा चीन सरकारसँग के छलफल भयो हामीलाई चाहियो ।'
निकै भावुक र आक्रमक देखिएका स्नेहीले चीन भ्रमण गरेर फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई लिपुलेकको बिषयमा के छलफल भयो? जानकारी पाउँ भनेर प्रश्न गर्दा पाना टक्टकाएर हामीलाई उडाउँदै रेलको सपना किन वाँड्नु पर्यो भनेर प्रश्न गरे ।
'सार्वभौम संसदको सदस्यले चीन भ्रमणमा लिपुलेकको बिषयमा के भयो भनेर प्रधानमन्त्रीलाई पर्याप्त प्रश्न गर्न पाउँदैन ?' सांसद स्नेहीको प्रश्न थियो ' प्रधानमन्त्री जवाफ नदिएर खिया लागेका पाना पल्टाउँदै किन रेलको सपना बाँड्नु पर्यो ?'
सांसद स्नेहीले विदेश नीतिमा सरकार असफल भएको दाबी गरे । '२०७२ असोजमा नेपालमा नाकाबन्दी भारतले गर्यो भन्ने ओली प्रधानमन्त्री र सो नाकाबन्दी मधेशी जनताले गरेको भन्ने फोरम अध्यक्ष उपेन्द्र यादव उपप्रधानमन्त्री भएकोले त्यो नाकाबन्दी कसले गराएको थियो? अब प्रस्ट पार्नुस' स्नेहीले भने।
गोविन्द केसीलाई रिहाई गर : सांसद साह
नेपाली कांग्रेसका सांसद भरतकुमार साहले प्राध्यापक डाक्टर गोविन्द केसीलाई सरकारले शान्तिपूर्ण रुपमा प्रदर्शन गर्न समेत नदिएर मानवअधिकारको उलंघन गरेको बताएका छन्।
संसदको सोमबारको बैठकमा विशेष समय दिलर बोल्दै साहले भने 'शान्तिपूर्ण प्रदर्शन गर्न पाउने अधिकार संविधानले प्रत्यके नागारिकलाई दिएको छ तर केसीलाई अनसन बस्न समेत नदिएर सरकारले गिरफ्तार गरी बत्ति नभएको अध्यारो र चिसो छिँडीमा राखेर अमानविय व्यवहार देखाएको छ।'
साहले डा. केसीको तत्काल रिहा गरी सार्वजनिकस्थलमा प्रदर्शन गर्न लगाइएको रोक फिर्ता लिन आग्रह गरे। उनले भने 'माईतिघर जस्तै अन्य सार्वजनिकस्थलमा शान्तिपूर्ण प्रदर्शनी गर्न रोक लगाएर अधिनायकबाद लाद्ने धृष्टता गरेको छ।'
साहले सुन तस्करीसम्बन्धी छानबिनमा समेत प्रधानमन्त्रीले हस्तक्षेप गरेर गृहमन्त्रीलाई आदेश दिएको भन्दै दोषी उम्काउन खोजिएको आरोप लगाए। उनले सिण्डकेट रोक्ने भाषण गरे पनि सार्वजनिक यातायातको क्षेत्रमा आलोपालो प्रणालीले काम गरिरहेको वताए।
सत्ता पक्षका सांसदको माग-विप्लवको चन्दा आतंक रोक्नु पर्यो
सत्तारुढ नेकपाका सांसद भैरवबहादुर सिंहले बझाङ जिल्लामा बिप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले जवर्जस्ती चन्दा मागेर स्थानीय तहमा आतंक फैल्याएको बताए।
प्रतिनिधिसभाको सोमबारको बैठकमा बिशेष समय लिएर बोल्दै सांसद सिंहले भने 'योङभेट कम्युनिष्ट लिगको नाममा साईपल गाउँपालिका र मष्टा गाउँपालिकाको गाउँपालिका बैठक चलिरहँदा बजेटको १० प्रतिशत माग गरका छन्।'
सांसद सिंहले साईपल गाउँपालिकाका अध्यक्ष राधाकृष्ण जोशीलाई र मष्टा गाउँपालिकाका कर्ण कठायतलाई कालोमोसो दलेर १० प्रतिशत बजेट उपलब्ध गराउन वा राजिनामा दिन दबाब दिइरहेको जानकारी दिए।
४४ अर्ब बजेट सडकमा लगाउन माग
नेकपाका सांसद भूमिप्रसाद त्रिपाठीले चालु आर्थिक बर्षको अन्तिममा गरिने खर्च राजधानी भित्रने मुख्य सडक पृथ्वी राजमार्गमा खर्च गर्न माग गरेका छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा बिशेष समय दिएर बोल्दै सांसद त्रिपाठीले भने 'भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग अझै ४४ अर्ब रुपैयाँ खर्च भइनसकेकोले त्यो बजेट नागढुंगाको जाम कम गर्न पृथ्वी राजमार्गमा हुने यातायात अबरोध हटाउने व्यवस्थापनमा खर्च गर्नु पर्छ।
सांसद त्रिपाठीले जनउत्तरदायी सरकार भएकोले सुरक्षाकर्मी, ट्राफिकको समेत परिचालन गरी मनसुनको समयमा जाने पहिरो पन्छाउन र सडकमा बिग्रिएर थन्किएको ठूला सवारी साधनलाई पन्छाउने यन्त्र खरिद गरी परिचालन गर्न र नागढुंगाबाट नौविसेसम्म निर्माण गरिने सुरुङमार्ग निर्माण चाँडो गर्न माग गरे ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४