काठमाडौं- नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापतिका प्रमुख दावेदार हुन्, वर्तमान सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल। १३औं महाधिवेशनमा एक अर्काविरुद्ध प्रतिस्पर्धा गरेका यी दुवै नेताहरू १४औं महाधिवेशनमा पनि आमनेसामने हुने सम्भावना धेरै छ। यद्यपि उनीहरु बाहेकका अन्य उम्मेदवार पनि मैदानमा उत्रने घोषणा गरिसकेका छन्। अघिल्लो महाधिवेशनमा देउवा र पौडेलविरुद्ध तत्कालीन महामन्त्री कृष्णप्रसाद सिटौला पनि प्रतिस्पर्धामा उत्रिएका थिए।
१३औं महाधिवेशनबाट प्राप्त पार्टी सत्ता आफैंसँग राख्ने योजनामा देउवा छन्। पौडेल भने '१३औं महाधिवेशनमा लागेको घाउमा मल्हमपट्टी १४औं महाधिवेशनमा लगाउने' योजनामा छन्। तर, दुवै नेताको योजना चुनौतीरहित र सहज भने छैन। उस्तै उमेर र राजनीतिक करिअर पनि उतिकै लामो भएका दुवै नेताका सामु १४औं महाधिवेशनबाट कांग्रेसको बागडोर आफ्नो पक्षमा ल्याउन ठूलै पापड पेल्नुपर्ने स्थिति छ।
कांग्रेसको शीर्षतम नेतृत्वमा पुग्नका लागि (सभापति भइसकेका देउवाका लागि टिकिरहन र पौडेलका लागि सभापति बन्न) दुवै नेताहरूका लागि समान चुनौती पनि छन्। महाधिवेशनले टिम व्यवस्थापनदेखि राष्ट्रिय राजनीति र पार्टीको निर्माणको धरातलसम्मका विषयमा प्रष्ट एजेन्डा खोज्ने भएकाले यी विषयमा विवादरहित समाधानमा पुग्न दुवै नेतालाई सहज छैन। कांग्रेसमा पुस्तान्तरण र रुपान्तरणको बहससमेत केही बलियो भएको अवस्था छ। यस्तो अवस्थामा देउवा र पौडेलका सामु दुई प्रमुख चुनौती देखिन्छन्। ती हुन्– उम्मेदवारीको औचित्य पुष्टि र चुनावी प्रतिवद्धता।
देउवाले सभापति बनेर साढे ५ वर्ष पार्टी हाँकिसकेका छन्। उनीसँग पाँच पटक प्रधानमन्त्री बनेर देशको नेतृत्व गरेको अनुभवसमेत छ। पौडेल पार्टीको वरिष्ठ नेता, उपभापति र मन्त्री, सभामुख बनिसकेको छन्। यस्तो अवस्थामा उनीहरू नै कांग्रेसको नेतृत्वमा किन? यसको उत्तरसहित आफ्नो उम्मेदवारीको औचित्य उनीहरुले पुष्टि गर्नुपर्नेछ।
राजनीतिक विश्लेषक श्रीकृष्ण अनिरुद्ध गौतमका शब्दमा देउवा र पौडेलका सामु अहिलेको सबैभन्दा ठूलो चुनौती भनेकै आफ्नो उम्मेदवारीको औचित्य पुष्टि गर्नु हो। ‘उहाँहरूको सबैभन्दा ठूलो चुनौती भनेकै आफ्नो उम्मेदवारीको औचित्य पुष्टि गर्नु हो। अर्थपूर्ण तरिकाले हेर्ने हो भने त उहाँहरू नै कांग्रेसको नेतृत्वमा किन त? यसको जवाफसहित उहाँहरुले औचित्य पुष्टि गर्न सक्नुपर्छ,’ उनी भन्छन्।
पौडेलका लागि त आफ्नो समूहबाट साझा उम्मेदवारका रूपमा आफैलाई उभ्याउन सक्नु नै चुनौतीपूर्ण छ। त्यतिसम्मको चुनौतीमा देउवा नभएपनि चुनौतीरहित भने छैनन्
महाधिवेशनपछि कांग्रेस 'बलियो' बनाउने विषयमा कार्यकर्तालाई प्रत्याभूति दिलाउनु पनि यी दुवै सभापतिका आकांक्षीको साझा चुनौती हो। किनकि कांग्रेस महाधिवेशन तीन तहको निर्वाचनको मुखमै हुनेछ। महाधिवेशनबाट चुनिने नेतृत्वले निर्वाचनमा कांग्रेसको 'पोजिसन'मा व्यापक सुधार गर्ने विषयमा पनि आश्वस्त पार्न सक्नुपर्ने गौतमको भनाइ छ।
‘केन्द्र, प्रदेश र स्थानीय तहको निर्वाचनको मुखैमा कांग्रेसले महाधिवेशन गर्न लागेको छ। यो चुनावलाई उहाँहरु (देउवा–पौडेल)ले कसरी हेर्नुभएको छ? त्यो महत्वपूर्ण हुन्छ। निर्वाचनपछि बन्ने सरकारका एजेन्डा, नीति र कार्यक्रम उहाँहरुले ल्याउनुपर्छ। कार्यकर्तालाई उहाँहरुले विश्वस्त तुल्याउनुपर्छ। महाधिवेशनले यही कुराको माग गर्छ,' गौतमको प्रश्न छ, ‘कांग्रेस जस्तो पार्टीले 'गठबन्धनमार्फत निर्वाचनमा प्रतिस्पर्धा गर्छु' भन्छ भने नेतृत्वको औचित्य पुष्टि हुने छैन, त्यस्तो नेतृत्वलाई किन जिताउनु?’ निर्वाचनमा बहुमत आउन सकेन र गठबन्धन बनाएर सरकार चलाउने कुरा भने अर्कै विषय भएको उनले प्रष्ट पारे। उम्मेदवारीको औचित्य पुष्टि र चुनावी प्रतिवद्धता दुवै नेताका लागि 'मुख्य' चुनौती हुन्। तर यीबाहेक पनि थुप्रै चुनौती उनीहरुका सामु ठडिएका छन्।
देउवालाई स्वभाविक रुपमा सभापतिको उम्मेदवार बन्न सहज केही देखिन्छ। तर, पौडेलका लागि भने सभापतिका उम्मेदवार हुनकै लागि समेत ठूलो चुनौती छ। यद्यपि देउवा र पौडेलले महाविधेशनका प्रस्तुत गर्ने एजेन्डाले ती चुनौती 'फेस' गर्न सहयोग गर्ने गौतम बताउँछन्। ‘टिम व्यवस्थापनलगायतका विषयमा देखिएका चुनौती फेस गर्न उहाँहरुका नीति, कार्यक्रम र एजेन्डाले सहयोग गर्छ,' गौतम भन्छन्, 'स्पष्ट नीति कार्यक्रम दिन सके कार्यकर्ताको प्रेसरले नै टिम व्यवस्थापनको चुनौती चिर्न सक्ने अवस्था आउनेछ।’
देउवाका चुनौती
१३औँ महाधिवेशनमा आफ्नो पक्षबाट जति सहज रुपमा देउवा देउवा उम्मेदवार भएका थिए उनका लागि १४औं महाधिवेशन त्यति सहज छैन। १३औं महाधिवेशनमा उपसभापति विमलेन्द्र निधिले दर्बिलो साथ दिएका थिए। निधि देउवाको टिमबाट बाहिरिइसकेका छन्। निधि तीनै हुन्, जसले देउवाका राजनीति उतारचढावमा लामो समय अघिदेखि साथ दिँदै आएका थिए। पार्टी विभाजन गर्दा होस् वा गिरिजा, सुशील कोइरालासँग प्रतिस्पर्धा गर्दा नै किन नहोस्, निधिले देउवालाई अटल साथ दिएका थिए।
आफ्ना निकट दुई सारथी निधि र श्रेष्ठ सभापति पदमा लड्ने तयारी गरिरहँदा देउवा माथि दवाव बढेको छ। दोस्रो कार्यकाल सभापति बन्न दुई सारथी पनि चुनावी मैदानमा आफ्नै प्रतिस्पर्धी हुने भएपछि उनीहरुले काट्ने मतको पुरताल देउवाले गर्नुपर्ने छ।
१३औं महाधिवेशनमा देउवालाई सभापति जिताउन महत्त्वपूर्ण भूमिका उनै खेलेका निधि अहिले आफैं सभापतिको उम्मेदवार बन्ने घोषणा गरेर तयारीमा जुटेका छन्। सम्पर्क कार्यालय खोलेर निधिले सभापतिको उम्मेदवारबाट ब्याक नहुने संकेत प्रवाह गरेका छन्। असार ५ गते बुढानीलकण्ठ पुगेर निधिले देउवासँग आफू सभापतिमा लड्ने निर्णय सुनाएर सहयोगको याचना गरेका थिए। तर, देउवाले एकपटक आफैं उम्मेदवार हुने बताइदिए। र, विधानले सभापति लड्ने अधिकार सबैलाई दिएकाले प्रतिस्पर्धामा उत्रने छुट निधिलाई भएको बताइदिए। त्यसयता निधि र देउवाको सम्बन्ध पहिलेझैं सुमधुर रहिरहन सकेन। र, लामो समयका राजनीतिक सहयात्री देउवा र निधि एकअर्काविरुद्ध प्रतिस्पर्धा गर्ने स्थिति आइपरेको छ।
त्यसो त, देउवाको समूहबाट निधि मात्रै होइन, नेता गोपालमान श्रेष्ठसमेत सभापतिमा लड्ने तयारीमा छन्। उनले सार्वजनिक रूपमै सभापतिमा आफ्नो उम्मेदवारी रहने बताइसकेका छन्। श्रेष्ठसमेत लामो समयदेखि देउवालाई साथ दिँदै आएका नेता हुन्। आफ्ना निकट दुई सारथी निधि र श्रेष्ठ सभापति पदमा लड्ने तयारी गरिरहँदा देउवा माथि दवाव बढेको छ। दोस्रो कार्यकाल सभापति बन्न दुई सारथी पनि चुनावी मैदानमा आफ्नै प्रतिस्पर्धी हुने भएपछि उनीहरुले काट्ने मतको पुरताल देउवाले गर्नुपर्ने छ। त्यसका लागि अन्य समूहका नेता–कार्यकर्ता आफ्नो पक्षमा तान्ने प्रयास त देउवाले गर्ने नै छन्, त्योबाहेक बढीभन्दा बढी महाधिवेशन प्रतिनिधि आफ्नो समूहका कार्यकर्तालाई जिताउने योजना देउवाको हुनेछ।
देउवाको अर्को चुनौती हो- महामन्त्रीका आकांक्षीको व्यवस्थापन। कांग्रेसको इतिहासमा पहिलो पटक दुवै जना महामन्त्रीका लागि निर्वाचन हुँदैछ। यसअघि जस्तो एक जना महामन्त्री मनोनित गर्ने सभापतिको अधिकार आगामी महाधिवेशनपछि हुने छैन। जसका कारण महामन्त्री पदका आकांक्षी धेरै देखिएका छन्। मनोनित गर्ने वचन दिएर आकांक्षी व्यवस्थापनका लागि आश्वासन दिने बाटोसमेत बन्द भएको छ।
देउवाको समूहबाट ज्ञानेन्द्रबहादुर कार्की, बालकृष्ण खाँड, सह–महामन्त्री डा. प्रकाशशरण महत, एनपी साउद र विश्वप्रकाश शर्मा महामन्त्रीका आकांक्षी हुन्। शर्माले भदौ २४ गते महामन्त्रीमा उम्मेदवारी घोषणा गरिसकेका छन्। यस्तो अवस्थामा महामन्त्रीका आकांक्षी व्यवस्थापन गर्न सहज देउवालाई छैन।
पहिले चाहिँ मनोनयन गर्ने ठाउँ पनि थियो। निर्वाचित हुने ठाउँ पनि थियो। तर, अहिले दुवै महामन्त्री निर्वाचनबाटै अनुमोदन भएर आउनुपर्ने भएकाले निर्वाचनबाटै महामन्त्री निर्धारित हुन्छन्। यसकारण केही असहज चाहिँ छ।
१३औं महाधिवेशनमा देउवाले तत्कालीन संस्थापन समूहका अर्जुननरसिंह केसीलाई आफ्नो पक्षमा ल्याएर महामन्त्रीको उम्मेदवार बनाएका थिए। त्यसको एउटै उद्देश्य थियो– आफ्नो मत बढाउनु। आगामी महाधिवेशनमा पनि देउवाले त्यस्तै रणनीति अख्तियार गर्ने सम्भावना छ। तर, महामन्त्रीका आकांक्षीको भिड लागेको अवस्थामा त्यो रणनीतिअनुसार अघि बढ्न सहज भने देखिँदैन।
महामन्त्रीमा आकांक्षीहरू धेरै देखिनुको अर्थ के त? नेता एनपी साउदको जवाफ छ, ‘पहिले चाहिँ मनोनयन गर्ने ठाउँ पनि थियो। निर्वाचित हुने ठाउँ पनि थियो। त्यसकारण सभापतिले केही मान्छेलाई मनोनयनको प्रक्रियाबाट र केहीलाई निर्वाचनबाट व्यवस्थापन गर्न सक्ने अवस्था थियो। तर, अहिले दुवै महामन्त्री निर्वाचनबाटै अनुमोदन भएर आउनुपर्ने भएकाले निर्वाचनबाटै महामन्त्री निर्धारित हुन्छन्। यसकारण केही असहज चाहिँ छ। तैपनि यसको व्यवस्थापनका सन्दर्भमा बहस, छलफल चलिरहेको छ।’
यो बाहेक देउवाले कार्यकर्तालाई एउटा प्रश्नको जवाफसमेत दिनुपर्नेछ। त्यो हो– २०७४ सालको निर्वाचनमा पार्टीको लज्जास्पद हार। देउवाकै नेतृत्वामा भएको निर्वाचनमा कांग्रेसको लज्जास्पद हारको अपजस देउवाले आजपर्यन्त बोकिरहेका छन्। प्रकारान्तरले आगामी निर्वाचन गर्ने जिम्मेवारी पनि उनै देउवाको काँधमा आइपुगेको छ। पार्टी पराजयको अपजसको भारी बोकेर देउवा पुनः सभापति लड्दैछन्। पुनः सभापति बन्ने र निर्वाचन गराएर पार्टी पराजयको अपजसको भारी बिसाउने योजना देउवाको देखिन्छ। जुन सहज छैन।
पौडेलका चुनौती
पौडेलले आफ्नो समूहको छलफलमा मात्र नभएर सार्वजनिक सञ्चार माध्यममा समेत भन्दै आएका छन्, ‘म १३औं महाधिवेशनको घाइते हुँ। त्यसले एकपटक मेरो घाउमा मल्हम लगाउने अवसर दिनुस्।’ १३औं महाधिवेशनमा व्यहोरेको हारको बदला लिने पौडेलको आकांक्षा त्यति सहजै पुरा हुने भने देखिँदैन। किनकि उनी नेतृत्वको संस्थापन इतर समूहमा पौडेल सभापतिको एकल उम्मेदवार होइनन्। संस्थापन इतर समूहबाट पौडेलसँगै महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र नेता शेखर कोइरालाले सभापतिमा दाबी गरिरहेका छन्।
पौडेल समूहबाट सभापतिका चार जना आकांक्षीले आ-आफ्नो दावी प्रस्तुत गरिरहँदा साझा उम्मेदवार चयन गर्ने दावीसमेत भइरहेको छ। तर, चार आकांक्षीबीच सहमतिका लागि छलफल हुन सकेको छैन। बरु उनीहरु एकले अर्कोलाई नछोड्ने उद्घोष गरिरहेका छन्।
पौडेल असफल बने युवा नेताहरूले आफ्नो पक्षबाट एक जनालाई सभापतिको उम्मेदवार (साझा) तोकेर अघि बढ्ने बताउँदै आएका छन्।
युवा नेता र कार्यकर्ताले साझा उम्मेदवार चयन गर्न दबाब दिइरहेको स्थिति छ। त्यसैले पौडेललाई सभापतिको उम्मेदवार हुन कठिन देखिन्छ। यस्तो अवस्थामा पौडेलका समूह दुई विकल्प देखिन्छन्। पहिलो– तीन आकांक्षीलाई 'कन्भिन्स' गरेर आफू उम्मेदवार हुने। दोस्रो–आफूले त्याग गरेर अन्य तीनजना मध्ये एकको नाममा सहमति जुटाउनु।
‘हामीले वरिष्ठ नेता पौडेललाई भनेका छौं- तपाईंसँग दुई वटा विकल्प छन्। एउटा- प्रत्यासीलाई मिलाएर आफू सभापतिको उम्मेदवार बन्ने। दोस्रो-आफूलाई उम्मेदवारीको दौडबाट बाहिर राखेर बाँकी उम्मेदवारहरूको सहमतिमा एक जना तोक्ने,’ नेता गुरुराज घिमिरे भन्छन्। यी दुवै काममा पौडेल असफल बने युवा नेताहरूले आफ्नो पक्षबाट एक जनालाई सभापतिको उम्मेदवार (साझा) तोकेर अघि बढ्ने बताउँदै आएका छन्।
पौडेल पहिलो विकल्पमा सफल बनिहाले पनि घाउमा मल्हम लगाउने उनको योजना चुनौतीरहित भने हुने छैन। किनकि उनका लागि महामन्त्रीका आकांक्षी व्यवस्थापन गर्नु 'फलामको च्युरा चपाउनु'सरह हुनेछ। पौडेलका लागि अन्य तीन सभापतिका आकांक्षीले त्याग गरेको अवस्थामा पदाधिकारीमा उनीहरूका मान्छेको व्यवस्थापन गर्नुपर्ने स्थिति आउनेछ। संस्थापनइतर समूहबाट भदौ १४ गते नेता गगन थापाले महामन्त्री पदमा उम्मेदवारी घोषणा गरिसकेका छन्। थापा बाहेक मीनेन्द्र रिजाल, धनराज गुरूङ, गुरुराज घिमिरे, चन्द्र भण्डारीलगायतका नेताले समेत महामन्त्रीमा आकांक्षा राखेका छन्।
निर्वाचनबाट नेतृत्व छान्ने महाधिवेशन कुनै पनि उम्मेदवारका लागि चुनौतीरहित हुँदैन। पौडेलका लागि त आफ्नो समूहबाट साझा उम्मेदवारका रूपमा आफैलाई उभ्याउन सक्नु नै चुनौतीपूर्ण छ। त्यतिसम्मको चुनौतीमा देउवा नभएपनि चुनौतीरहित भने छैनन्। आफ्नो उम्मेदवारीको औचित्य पुष्टि, चुनावी प्रतिवद्धता, महामन्त्रीलगायत पदाधिकारीका उम्मेदवार व्यवस्थापन, पार्टीको आगामी कार्यदिशा, एजेन्डा र नीतिका साथै आगामी निर्वाचनमा कांग्रेसको अवस्थामा व्यापक सुधार हुने प्रत्याभूति गराउन सक्नु देउवा र पौडेल दुवै आकांक्षीका साझा चुनौती हुन्।