वामदेव गौतम राजनीतिक वृत्तका प्रभावशाली खेलाडी मानिन्छन्। फरक मत र फरक निर्णयका कारण उनी बेला–बेलामा चर्चाको शिखरमा हुन्छन्। तर उनको त्यो चर्चा चाँडै सेलाई पनि हाल्छ।
२४ वर्षअघि उनकै नेतृत्वमा एमाले विभाजन भएर नेकपा माले गठन भयो। त्यसको तीन वर्षपछि उनी एमालेमै विलय भए।तत्कालीन नेकपा (हाल एमाले माओवादी र एकीकृत समाजवादी) विवाद चुलिएको बेला ‘दोहोरो भूमिका निर्वाह’ गरेका गौतमलाई राष्ट्रियसभामा ल्याउँदा कतिपयले भावी प्रधानमन्त्रीका रूपमा समेत चर्चा गरेका थिए। तर नेकपा विवादका कारण त्यो चर्चा बिस्तारै सेलाएको थियो।
उसो त गौतमको राजनीतिक जीवनमा अप्रत्यासित फलिफाप पनि हुने गरेको विगत छ। २०५१ सालमा तत्कालीन एमाले अध्यक्ष मनमोहन अधिकारी प्रधानमन्त्री र महासचिव माधवकुमार नेपाल उपप्रधानमन्त्री भएपछि गौतमले पार्टीको विधानमा नै नभएको उपमहासचिव पद पाएका थिए। यस्तै उनलाई तत्कालीन नेकपाले पनि विधानमै नभएको उपाध्यक्ष बनाएको थियो। २०७४ को संसदीय निर्वाचनमा बर्दिया ४ बाट पराजित गौतमलाई तत्कालीन नेकपाको जोडबलले नै राष्ट्रियसभा सदस्यमा पुर्याएको हो।
पार्टीमा कुनै गुटमा रहिनरहने र आफूले पनि प्रभावशाली गुट बनाउन नसकेका कारण गौतमको राजनीतिक जीवनमा उतारचढाव आइरहेको कतिपयको बुझाइ छ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि तीव्र विरोधमा उत्रेका उनी कहिले प्रचण्ड–माधव पक्षमा देखिए त कहिले ओलीको पक्षमा। संसद् विघटनको पक्ष–विपक्षमा पार्टी दुईधारमा चिरिँदा गौतम तटस्थ मात्र रहेनन् पार्टी एकताको अभियान नै चलाए। तर त्यो अभियानले परिणाममुखी काम गर्न सकेन।
गौतमले आफ्नो दुई लक्ष्यजस्तै आफ्नो दुई भुललाई पनि बेलाबेला व्यक्त गर्छन्- पहिलो एमाले विभाजन र दोस्रो ओलीलाई दिएको साथ।
सर्वोच्च अदालतले नेकपा खारेज गरेर नेकपा एमाले र माओवादी केन्द्र ब्युँत्याइदिएपछि गौतम एमाले उपाध्यक्षका हैसियतमा पार्टीको बैठकमा सहभागी भए। कुनै बेला माधव नेपाल र झलनाथ खनालको पक्षमा देखिए भने कहिले ओलीको पक्षमा पनि खुलैरै लागे। एमालेभित्र केपी शर्मा ओली र माधवकुमार नेपालबीच विवाद उत्कर्षमा पुग्दा उनी मध्यमार्गी धारमा सक्रिय भए।
एमालेबाट माधव नेपाल समूह अलग भएपछि गौतमले आफू पनि एमालेबाट अलग भएको भन्दै १८ भदौमा राजीनामा बुझाए।त्यसयता गौतम मौन छन् र पार्टीविहीन पनि। अध्यक्ष केपी ओलीले राजनीतिक कार्यदिशा, पार्टीको विधान, संगठनात्मक सिद्धान्त जनवादी केन्द्रीयता, सामूहिक नेतृत्व र व्यक्तिगत जिम्मेवारी निर्वाह गर्न असफल भएको आरोप लगाउँदै पार्टीमा रहन नसक्ने भन्दै उपाध्यक्ष पदबाट राजीनामा दिए।
‘नेकपा एमालेमा तपाईंकै गलत विचार, प्रवृत्ति र शैलीका कारण यस पार्टीमा रहिरहन असमर्थ रहेकाले आजैको मितिमा पार्टीको उपाध्यक्ष र पार्टीको सबै जिम्मेवारीबाट राजीनामा दिएको छु,’ उनले दिएको राजीनामा पत्रमा उल्लेख थियो। सो राजीनामापछि; एमाले फुटाएर माले गठन गरेको अवधिलाई छोड्दा; गौतम चार दशकदेखिको सम्बन्धित पार्टीबाट पूर्णतः अलग छन्।
ओली सरकारको आलोचना गरेर उपाध्यक्षबाट राजीनामा दिएपछि उनी माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा जाने चर्चा चल्यो। तर, गौतम अझै पनि समाजवादीमा जाने-नजाने दोधारमा छन्। हुन सक्छ, २४ वर्षअघि एमाले फुटाएर मालेमार्फत चुनावमा होमिएर एक सिट पनि नजितेको लज्जाजनक हार उनले भुलेका छैनन्। नयाँ पार्टीबाट चुनावमा जानु जोखिमपूर्ण हुनसक्ने उनले बुझेरै उनी मौन रहेको कतिपयको बुझाइ छ।
एमाले विधान सम्मेलनले पारित गरेका विधानअनुसार वडा र पालिका अधिवेशन सकिएको छ। मंसिर दोस्रो साता दसौं राष्ट्रिय महाधिवेशन गर्ने तयारी एमालेको छ। एमालेबाट विभाजित नेकपा (एकीकृत समाजवादी) ले पनि देशैभर संगठन विस्तारलाई तीव्रता दिएको छ।
ओलीको पार्टी सञ्चालन शैलीविरुद्ध प्रश्न उठाएर एमालेबाट राजीनामा दिएकाले समाजवादीका नेताहरुले उनलाई पार्टीमा आउन आग्रह गरेका छन्। तर गौतमले केही उत्तर दिएका छैनन्।
दुई पार्टी संगठन विस्तरमा लाग्दा कुनै बेला माउ पार्टीको ‘खास संगठनकर्ता’ रहेका गौतम भने मौन छन्। उसाे त दुवै पार्टीका नेताहरु गौतमलाई आफ्नो पक्षमा ल्याउने कसरतमा नरहेका हैनन्। दुवै पक्षले उनलाई फकाइरहेका छन्। ओलीको पार्टी सञ्चालन शैलीविरुद्ध प्रश्न उठाएर एमालेबाट राजीनामा दिएकाले समाजवादीका नेताहरुले उनलाई पार्टीमा आउन आग्रह गरेका छन्। तर गौतमले केही उत्तर दिएका छैनन्। गौतम नयाँ पार्टी गठन गरेर अघि बढछन कि भन्ने एकथरीको आँकलन छ।
गौतमले आफू निकटलाई अझै पनि ओली, प्रचण्ड र माधव नेपालबीच एकता हुनसक्ने बताउने गरेका छन्। तर घटना र परिस्थिति त्यस अनुकूल देखिएको छैन। कुनै बेला गौतमले नै दुई धुव्रमा रहेका पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओलीलाई एकता गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए। चाहे एमाले र माओवादी सहकार्यको प्रयास होस् वा ०६२/६३ सालको संयुक्त जनआन्दोलनको सहकार्य, घटनाको पृष्ठमा सधैं गौतम नै हुने गरेका थिए।
आँटिलो निर्णय गर्ने नेता भएकाले कतै गौतमकै पहलमा पुनः दुई पार्टी एकीकरण हुने त होइन भन्ने आशंका पनि एक थरीको छ। तर विगतमा माओवादी र एमाले मिलाएजस्तो यो एकीकरण कदापि सहज छैन। किनभने प्रचण्ड पक्षका केही पूर्वमाओवादी नेता ओलीसँग नजिकिएका छन्। साथै प्रचण्ड-नेपालको गठजोड भएको अवस्थामा गौतमलाई आफ्नो स्थान बनाउन सजिलो हुने छैन।
उनले केही वर्षअघि आफ्नो राजनीतिक यात्राको दुई लक्ष्य सार्वजनिक गरेका थिए- पहिलो लक्ष्य पार्टी अध्यक्ष हुने र दोस्रो लक्ष्य प्रधानमन्त्री। केन्द्रीय राजनीतिमा वर्षौंदेखि होमिएका गौतमका दुई लक्ष्यलाई अस्वाभाविक मान्नु पर्दैन। तर, उनको दुवै लक्ष्य हाललाई दुरको नक्षत्र सरह भएको छ।
उनलाई नेपाल पक्षसँग कार्यगत एकता गर्न कुन अप्ठेरो पर्ने छैन। तर, सो पार्टीको राजनीतिक भविष्यबारे आश्वस्त हुन सकेका छैनन्। त्यस्तै, ओलीसँग जाँदा पनि उनको ‘स्वेच्छाचारी’ राजनीतिमा टिक्न सकिन्न भन्ने गौतमले बुझेका छन्।
त्यही भएर गौतम अचेल कतै गएका छैनन्। आफ्नै निवासमा साथीहरुसँग ‘घनीभूत’ छलफलमा छन्। गौतमलाई नेता मान्ने अधिकांश एमालेमै छन्। कोही भने एकीकृत समाजवादीमा छन्। गौतमको मौनताले गर्दा उनी निकटकाहरुलाई एउटा न एउटाको पक्षमा लाग्नुपर्ने बाध्यता थियो।
गौतमको निजी सचिवालयले गौतम पार्टीगत हिसाबले तत्कालै कतै खुल्ने सम्भावना नदेखिएको संकेत गरेको छ। ‘उहाँ बिहान निवासमा आउनेहरुसँग भेटघाट गर्ने, पार्टीका नेताहरुसँग छलफल गर्ने र पुस्तक पढेर दिन बिताउँदै हुनुहुन्छ’, गौतमका निजी सचिव दीपक टमाटाले भने।
किन सुस्ताए गौतम?
एमालेको भूमिगत राजनीतिदेखि संघीय गणतन्त्रसम्म आइपुग्दा पार्टीलाई संगठनिक रुपमा बलियो बनाउने एक नेता हुन्, गौतम। उनी पञ्चायतकालमा नारायणी पश्चिमको तराईमा हलीको भेषमा भूमिगत रुपमा संगठन विस्तार गरेर पश्चिम तराईमा लोकप्रिय बनेका थिए। तर, बेला बेलामा अस्थिर र ढुलमुले चरित्रका कारण उनी शक्तिहीन हुन पुगेका पनि थिए भने विवादित प्रसंगमा पनि प्रशस्तै जोडिन्थे।
२०५१ सालमा बनेको एमालेको ९ महिने सरकारका बेला गौतमलाई ओली पक्षले अपमानित ढंगले गलहत्याएको गुनासो गौतम निकटका कार्यकर्ता अझै सुनाउँछन्। ओली पक्षको सोही अपमान र महाकाली सन्धिका कारण २०५४ सालमा गौतमले पार्टी विभाजन गराए।
यद्यपि, राजनीतिलाई तरंगित गरिरहन सक्ने क्षमता र सांगठनिक रुपले तेज गौतमको मौनताले धेरैलाई आश्चर्यमा पारको छ।
उनी आफू ‘जनताको बहुदलीय जनवाद’ पक्षमै भए पनि ओली समूहको निरन्तरको लखेटाइले गर्दा ‘नौलो जनवादी’ धारका सीपी मैनालीलाई साथमा लिएर गौतमले नेकपा माले गठन गरे। तर ०५६ को चुनावमा उनको नयाँ पार्टीले एक सिट पनि जित्न सकेन। एमालेको छायाँमा माले पर्यो।
त्यसपछि माधव नेपालको सक्रियतामा विषेश अधिवेशनमार्फत् उनी २०५८ सालमा एमालेमै फर्किए। उनलाई मात्र होइन मालेमा लागेका सबै नेता कार्यकर्तालाई आफ्नो राजनीतिक अस्तित्वको लागि एमालेमै फर्कनुपर्ने बाध्यता प्रयो। किनभने पार्टी विभाजन वैचारिक राजनीतिक मुद्दाले निर्देशित थिएन। त्यो बेला ओली भने गौतमलाई पार्टीमा फर्काउने मुडमा थिएनन्। तर, समय क्रममा ‘ओलीका विरोधी’ रहेका गौतम नै नवौं महाधिवेशनमा ओलीका समर्थन बन्न पुगे र ओलीलाई अध्यक्ष बन्न मार्गप्रशस्त गरे।
गौतमले आफ्नो दुई लक्ष्यजस्तै आफ्नो दुई भुललाई पनि बेलाबेला व्यक्त गर्छन्- पहिलो एमाले विभाजन र दोस्रो ओलीलाई दिएको साथ।
यद्यपि, प्रश्न के उठ्छ भने यदि ओलीसँग उनको कार्यगत एकता भइरहेको थियो भने उनले ओलीको आलोचना गरिरहन्थे होलान् त? के ओलीको ‘हालीमुहाली’ले गौतम चिढिएका होइनन्?
विवेकभन्दा पनि बढी आवेगमा चल्ने भएकाले गौतमले हन्डर खाइरहने एकथरी तर्क गर्छन्। तर त्यो आवेग केबाट निर्देशित हुन्छ भन्ने प्रश्नको उत्तर केलाउने हो भने आफ्नो राजनीतिक लाभहानी नै गौतमको अभीष्ट हो। अहिले उनले कतै पनि आफ्नो स्पष्ट लाभहानी देखेका छैनन्, त्यही भएर मौन छन्।
विस २००५ सालमा दाख्खाक्वाडीमा जन्मिएका गौतमले लुम्बिनी क्षेत्रबाट राजनीति यात्रा सुरु गरेका हुन्। परिवारबाटै विद्रोह गरेर कम्युनिस्ट पार्टीमा होमिएका गौतमले पाल्पाबाट भूमिगत राजनीतिक यात्रा सुरु गरेका हुन्। गौतमले रुपन्देही, नवलपरासी र कपिलबस्तुमा लामै समय बिताएका छन्। स्थानीय नेताहरु उनलाई संगठनमा खटिने उनी कुशल संगठकका रुपमा सम्झन्छन्।
०४८ र ०५१ को चुनावमा बर्दियाबाट दुई पटक निर्वाचित गौतमले आफ्नो क्षेत्र बर्दियाबाट पछिल्लो चुनावमा जितेका छैनन्। ०७० सालमा बर्दिया र प्युठानबाट विजयी भएका गौतम बर्दिया छोडेर प्युठान उक्लिए। तर, ०७४ को चुनावमा उनी बर्दियाबाट पराजित भएका थिए।
यद्यपि, राजनीतिलाई तरंगित गरिरहन सक्ने क्षमता र सांगठनिक रुपले तेज गौतमको मौनताले धेरैलाई आश्चर्यमा पारको छ। दुवै पार्टी आफ्नो जरा हाँगा फैल्याउन कस्सिएर लागेको बेला के गर्दैछन् गौतम?