काठमाडौं- स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले स्वास्थ्य बिमालाई निःशुल्क र अनिवार्य गर्दै लैजाने योजना सरकारले बनाएको बताएका छन्। बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री खतिवडाले सुरुमा लोपोन्मुख र अल्पसंख्यक नागरिकबाट निःशुल्क बिमा कार्यक्रम सुरु गरी यसलाई विस्तार गर्दै लैजाने योजना बनाएको बताएका हुन्।
‘पहिला लोपोन्मुख तथा अल्पसंख्यक जातिलाई सरकारले नै रकम तिरेर अनिवार्य बिमा कार्यक्रममा सहभागी गराउने तयारी भइरहेको छ। यस विषयमा प्रधानमन्त्री तथा अर्थमन्त्रीसँग छलफल भइरहेको छ,’ मन्त्री खतिवडाले भने।
लोपोन्मुख जातिको संख्या कम भएकाले उनीहरूलाई स्वास्थ्य मन्त्रालयकै बजेटबाट बिमा कार्यक्रममा सहभागी गराउने योजना बनाइएको प्रष्ट पारे।
स्वास्थ्य बिमा कार्यक्रममा सहभागी हुन ५ जनासम्म भएको परिवारले वार्षिक रूपमा ३ हजार ५ सय रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था छ।