काठमाडौं– नेपाल मेडिकल काउन्सिलले दर्ता भएकामध्ये १३९ जना चिकित्सकको नाम हटाएको छ। काउन्सिल ऐन २०२० को दफा १३ मा भएको व्यवस्था बमोजिम दर्ता अभिलेख अध्यावधिक गर्ने क्रममा हालसम्म १३९ जनाको नाम हटाइएको नेपाल मेडिकल काउन्सिलले जनाएको छ।
नाम हटाइएका चिकित्सकहरुको विवरण काउन्सिलको वेबसाइटमा प्रकाशित छ। नाम हटाइएका चिकित्सकमध्ये १३७ जनाको मृत्यु भइसकेको र एक जना गलत कागजात पेस गरेको र अर्का एक जना निष्काशित डाक्टर छन्।
काउन्सिलले गत असार ३ गते अध्यावधिकका लागि सूचना जारी गरेको थियो। काउन्सिलमा करिब ३० हजार चिकित्सकको नाम दर्ता भए पनि सूचना निकालेको चार महिनामा करिब १९ हजारले आफ्नो विवरण पेस गरेका छन्।
चिकित्सकको नाम अध्यावधिक गर्ने कार्य चलिरहेको काउन्सिलले जनाएको छ। नाम दर्ता भएका चिकित्सकहरुको नाम, ठेगाना र योग्यता खोली दर्ता किताबमा दर्ता गर्ने, दिवंगत भएका वा सदस्यताबाट नाम हटाउनपर्ने चिकित्सकहरुको अध्यावधिक गर्नपर्ने व्यवस्था मेडिकल काउन्सिल ऐनमा उल्लेख छ।
सूचना निकालेको एक महिनाभित्र विवरण नबुझाए काउन्सिलले ती चिकित्सकहरुलाई फेरि तीन महिनाको म्याद दिएर विवरण वुझाउन पत्र पठाउँछ। त्यस अवधिमा पनि सम्पर्कमा नआए फेरि अर्को तीन महिनाको समय दिनेछ। दोस्रो पटकको थप गरिएको तीन महिनामा पनि कुनै जानकारी नआए रजिस्टारले काउन्सिलको दर्ता किताबबाट त्यस्ता चिकित्सकहरुको नाम हटाउन सक्ने व्यवस्था ऐनमा छ।