काठमाडौं- सुन तस्करीको विषयले सबैको ध्यान खिचिरहेको बेला नेपालको सुदुरपश्चिमको महेन्द्रनगरको गड्डाचौकी तस्करीको लागि सजिलो नाका बन्ने गरेको रहस्य खुलेको छ।
विभिन्न देशबाट अवैध रुपमा नेपाल भित्रिने गरेको सुनलगायत अवैध सामान तस्करहरुले पछिल्लो समय गड्डाचौकी नाकाबाट सजिलै नेपाल तथा भारतमा ओसार-पसार गर्ने गरेका पछिल्लो घटनाले पुष्टि गरेको छ।
भारतीय नम्बर युके ०२-४६८४ को मारुती सुजुकीको गाडीबाट अवैध रुपमा नेपालमा हतियार भित्रिँदै गरेको सूचना नेपाल प्रहरीले पाइसकेको थियो। भारतको उत्तराखन्ड चम्पावत टनकपुरकी सञ्जना शाहको गाडीबाट अवैध हतियार भित्रिएको सूचना पाएपछि प्रहरीले उनलार्इ पछ्याएको थियो।
काठमाडौं प्रहरी परिसरले सुचना पाए लगत्तै सञ्जनाको निगरानी बढाएको थियो। जसको नेतृत्व प्रहरी प्रभाग नागढुङा प्रहरी नायब उपरीक्षक नवरत्न पौड्यालको गरेका थिए।
काठमाडौंको नागढुङ्गा हुँदै उपत्यका भित्रिएसँगै सुक्ष्म निगरानीमा रहेको प्रहरीटोलीले गाडीबाट शनिबार दिउँसो तीन केजी सुन बरामद गरेको छ। मारुती स्वीफ्ट गाडीको एयरबक्सभित्र लुकाएर भारततर्फ लैजाँदै गरिएको सुन विशेष सुराँकीको आधारमा पक्राउ गरिएको वरिष्ठ प्रहरी उपरीक्षक विश्वराज पोखरेलले पत्रकार सम्मेलन मार्फत जानकारी दिए।
प्रहरी परिसर काठमाडौंले तीन किलो सुनसहित पाँचजना पक्राउ गरेपछि बयानका क्रममा गड्डाचौकी नाकाबाट सजिलै तस्करी हुनेगरेको अनुसन्धानबाट खुलेको हो। विभिन्न समयमा सोही नाका हुँदै भारत लैजाने क्रममा सुनलगायत अवैध सामान प्रहरीले बरामद गरेको थियो।
काठमाडौं प्रहरी परिसरले आइतबार तीन किलो सुनसहित सञ्जना शाहलाई सुनसहित सार्वजनिक गरेको छ। शाह तीन किलो सुनको मालिक भएको प्रहरीको दाबी छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट सन्जनाले लामो समयदेखि गड्डाचौकी नाका हुँदै सुनलगायत अवैध सामानको ओसारपसार गर्ने गरेको बयानबाट खुलेको प्रहरीले बताएको छ।
सन्जनासँग नेपाल तथा भारत दुवै देशको नागरिकता रहेको बताईएको छ। उनी उत्तराखण्डको सि क्लास ठेकेदारको साथै क्रसर व्यवसायी रहेको प्रहरीले जनाएको छ।
अन्य व्यवसाय देखावटीमात्र भएपनि सञ्जनाको मुख्य काम तस्करी रहेको प्रहरीले जनाएको छ।
शनिबार सञ्जना शाहसहित भारत उत्तराखण्डका दिपक कुमार मौर्य अशोक कुमार, चन्द्रमोहन जोशी तथा कन्चनपुर भिमदत्त नगरपालीका ६ का मनोज विकलाई पक्राउ गरी काठमाडौं प्रहरी परिसरले सार्वजनिक गरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४