काठमाडौं– सुडानमा भएको सैनिक कू विरुद्ध सडकमा उत्रिएकाहरुमथि दमन भएको छ। प्रदर्शनकारीमाथि सैनिकले गोली चलाउँदा सात जनाको मृत्यु भएको छ भने १४० जना घाइते भएका छन्।
अन्तरिम सरकारविरुद्ध कू गर्दै त्यहाँको सेनाले सत्ता हातमा लिएको छ। त्यहाँ इमर्जेन्सी घोषणा गरिएको छ र प्रधानमन्त्री, मन्त्रीलगायत शीर्ष नेताहरुलाई सेनाले नजरबन्दमा राखेको छ।
सत्तापलट लगत्तै विरोध प्रदर्शन पनि सुरु भएको छ। लोकतन्त्र समर्थक समूहहरु सडकमा निस्किएका छन्। तर, सेनाले प्रदर्शनलाई नियन्त्रण गरिरहेको छ। राजधानी खार्तुमका घर–घरमा गएर सेनाले मानिसहरुलाई नियन्त्रणमा लिएको बताइएको छ।
दुई वर्षअघि उमर अल–बशीरको सत्ता हटाएर अन्तरिम सरकार गठन भएको थियो। त्यतिखेर देखि नै सेना र सरकारबीच टकरावको स्थिति रहँदै आएको थियो।
सैनिक कू पछि सुडानको राजधानी खार्तुममा इन्टरनेट बन्द गरिएको छ। सामाजिक सञ्जालमा सेयर भइरहेका भिडियोमा आक्रोशित मानिसहरु सडकमा टायर बालेर प्रदर्शन गरिरहेका देखिन्छन्।
समाचार एजेन्सी रोयटर्सले एक प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै भनेको छ, ‘खार्तुमका सडकमा सेना तथा अर्धसैनिक बल तैनाथ गरिएको छ र मानिसहरुको आवतजावतमा नियन्त्रण गरिएको छ।’ खार्तुम विमानस्थल बन्द भएपछि अन्तर्राष्ट्रिय उडानहरु बन्द गरिएका छन्।
सुडानमा भएको सैनिक कू को विश्वभर नै विरोध भइरहेको छ। अमेरिकाले सुडानलाई दिँदै आएको ७० करोड डलर रोकिदिएको छ।
सत्तापलटको नेतृत्व गरेका जनरल अब्देल फतह अल बुरहानले पछिल्लो सैन्य कारबाहीका लागि राजनीतिक झगडालाई जिम्मेवार भनेका छन्।
यसैबीच, संयुक्त राष्ट्रसंघले सुडानमा गैरकानुनी रुपमा हिरासतामा राखिएका नेताहरुलाई तत्काल रिहा गर्न आग्रह गरेको छ। सुडानको सेनाले सोमबार प्रधानमन्त्री अब्दाल्लाह हाम्दोकसहित अन्य नेताहरुलाई घरमै नजरबन्द गरिएका छन्।
उनले प्रजातन्त्र पुनर्स्थापना र संवैधानिक नियमलाई पालना गर्नका लागि सबै पक्षलाई वार्ताका माध्यमबाट समाधान खोज्न आग्रह गरेका छन्।
युरोपियन युनियनले पनि सुडानको संक्रमणकाललाई सही बाटोमा फर्काउनका लागि आग्रह गरेको छ। ईयूका विदेश मामिला प्रमुख जोसेफ बोरेलले ट्विट गर्दै सुडानको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएकोसमेत बताएका छन्।