काठमाडौं- सरकारले जनताको मुख थुन्न जथाभावी निषेधित क्षेत्र घोषणा गरेको भन्दै विरोधमा उत्रिएका युवाहरुलाई प्रहरीले आज (आइतबार) माइतीघर मण्डलाबाट गिरफ्तार गरेको छ।
स्वतन्त्र युवाहरुको संस्था युथ कांग्रेसमा आवद्ध युवाहरुले माइतीघर मण्डलामा प्रदर्शन गरेका बेला प्रहरीले गिरिफ्तार गरेको हो।
युथ कांग्रेसका संयोजक सचिन तिमिल्सीनासहित अनिल प्रताव अधिकारी, महेश दुलाल, चेतन बुढाथोकी, राजकुमार गुरुङ, सुनिल थापा र अविनाश सिलवाललाई प्रहरीले गिरफ्तार गरेको हो। उनीहरुलाई प्रहरीले अनामनगरस्थीत प्रहरी कार्यालयमा लगेको छ।
असन्तुष्टी व्यक्त गर्न र विरोध गर्न पाउने नागरिकको संवैधानिक अधिकार हरण गरेर सरकारले जथाभावि निषेधित क्षेत्र घोषणा गरेको भन्दै उनीहरुले विरोध प्रदर्शन गरेका थिए।
त्यसैगरी चिकित्सा शिक्षा अध्यादेश र माथेमा आयोगको सिफारिस विपरित चिकित्सा शिक्षा ऐन बनाउन लागेको भन्दै उनिहरुले नाराजुलुश गरेका थिए।
निषेधित क्षेत्र खारेज गर, निरंकुश सरकार मुर्दावाद, वि आर विथ गोविन्द केसी जस्ता नारा लगाउँदै व्यानरसहित प्रदर्शनमा उत्रिएका युवाहरुलाई प्रहरीले गिरफ्तार गरेको हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४