चितवन- चितवनका अस्पतालमा मिर्गौलाका बिरामीको चाप बढ्दो छ। चापअनुसार उपचार सामग्री र दक्ष जनशक्ति नहुँदा बिरामीले दुःख पाइरहेका छन्। अझ मिर्गौलाको डायलिसिस गर्ने काम महंगो हुने भएकाले बिरामीहरू उपचारै नगरी मर्न बाध्य छन्।
सरकारले मिर्गौलाको डायलिसिस गर्दा प्रति डायलिसिस २५ सय रुपैयाँ छुट दिए पनि त्यो पर्याप्त छैन। एकचोटी डायलिसिस गर्दा आठदेखि १० हजार रुपैयाँसम्म खर्च हुने बिरामी बताउँछन्। हप्तामा दुई/तीन पटक डायलिसिस गर्नुपर्ने बिरामी घर आउजाउ गर्न भ्याउँदैनन्। अस्पतालमै बसेर उपचार गर्दा धेरै खर्च लाग्छ।
चितवनमा भरतपुर अस्पताल, चितवन मेडिकल कलेज, पुरानो मेडिकल कलेज र रत्ननगर बकुलहर अस्पतालमा मिर्गौलाको डायलिसिस हुने गरेको छ। सबैभन्दा बढी भरतपुर अस्पतालमा बिरामीको चाप छ। डायलिसिस गर्ने मेसिन पर्याप्त नहुँदा बिरामीहरू पालो कुर्दै बस्नुपरेको छ।
दुई मेडिकल कलेजले सरकारसँग सम्झौता भइनसकेको भन्दै नयाँ बिरामीलाई छुट दिएका छैनन्। जसका कारण ती बिरामीको चाप पनि सरकारी अस्पतालमै परेको छ। हरेक आर्थिक वर्षको भदौभित्रै सम्झौता भइसक्नुपर्ने भए पनि मेडिकल कलेजले नगर्दा बिरामीले सास्ती खेप्नु परेको छ।
सरकारले दिएको २५ सय रुपैयाँ छुट रकम, बिरामीको बेड चार्ज, सलाइन, डाइलोजरलगायत सामान्य सामग्री किन्दैमा ठिक्क हुने भरतपुर महानगरपालिका–१ रामनगरका जीवनाथ पराजुली बताउँछन्। ‘एउटै इन्जेक्सनलाई ३४ सय रुपैयाँ पर्छ। स्वास्थ्य बिमाको पैसाले त एक महिनालाई पनि पुग्दैन’, उनी भन्छन्, ‘एक हप्तामा तीन पटक डायलिसिस गर्ने बिरामी पनि धेरै छन्। धेरैजसो औषधी त स्वास्थ्य बिमामै नपाइने हुन्छन्।’
उनकी श्रीमती ६२ वर्षीया लक्ष्मीदेवी पराजुली मिर्गौलाको बिरामी भएको ३६ वर्ष भयो। २०४२ सालदेखि नै मिर्गौला रोगबाट पीडित बनेकी लक्ष्मीदेवीको २०४६ सालमा एउटा मिर्गौला निकालेर फालिएको थियो। पुरानो मेडिकल कलेजमा उपचाररत उनको हाल हप्तामा एकचोटी डायलिसिस हुने गरेको छ।
जिल्लाका विभिन्न अस्पतालमा मिर्गौलाको डायलिसिस गर्ने ३६० जना बिरामी सम्पर्कमा आएको मिर्गौला पीडित सरोकार समाज नेपाल चितवन शाखाका सल्लाहकारसमेत रहेका पराजुलीले बताए। नियमित औषधी मात्रै खाएका बिरामी भने उनीहरूको सम्पर्कमा छैनन्। जिल्लाका चार वटा अस्पतालमा गरी करिब ३५ वटा डायलिसिस गर्ने मेसिन छन्। बिरामीको चापका आधारमा कम्तीमा ५० वटा मेसिन चाहिने उनी बताउँछन्।
भरतपुर अस्पतालमा चार वर्षअघिदेखि मात्रै मिर्गौलाको डायलिसिस हुन थालेको हो। अस्पतालमा सुरुमा डायलिसिस गर्ने १२ वटा मेसिन थिए। ल्याउने बित्तिकै दुई वटा बिग्रिए। बाँकी रहेका १० वटामध्ये एउटा मेसिन कामै नलाग्ने गरी बिग्रिएको लामो समय भइसक्यो।
बिग्रिएको अर्को मेसिन बनाउने क्रममा रहेको अस्पतालका मेसु प्रा. डा. कृष्णप्रसाद पौडेलले बताए। ‘प्राविधिक कारणले मेशिनको मर्मतमा ढिलाइ भएको हो। मर्मत नहुँदा हामी नै निरीह बनेका छौं। हामीले मर्मत गर्न सक्ने कुरा पनि भएन’, उनले भने। अस्पतालमा हाल आठ वटा मेशिन मात्रै चालु अवस्थामा छन्।
मिर्गौलाको डायलिसिस गर्ने बिरामीको संख्या उच्च रहेकाले दुई वटा मेसिन किन्ने प्रक्रियामा अस्पताल रहेको उनले बताए। नयाँ मेसिन आएपछि र अस्पतालको निर्माणाधीन ‘सी ब्लक’ निर्माण सम्पन्न भएपछि बिरामीलाई केही हदसम्म सहज हुने उनी बताउँछन्।
भरतपुर अस्पतालमा हाल १ सय १२ जना बिरामीले नियमित रूपमा मिर्गौलाको डायलिसिस गर्दै आएका छन्। अस्पतालले चार सिफ्टमा बिरामीको डायलिसिस गर्दै आएको छ। त्यसका बाबजुद डायलिसिस गर्न नपाएर ३० जना नयाँ बिरामीले पालो कुरिरहेको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए।
मिर्गौला रोगको प्रमुख कारण मधुमेह र उच्च रक्तचाप
भरतपुर अस्पताल सञ्चालन समितिका अध्यक्ष डा. भोजराज अधिकारी मिर्गौला ट्रान्सप्लान्ट स्थापनाको लागि नागरिकस्तरबाट नै दबाब दिनुपर्ने बताउँछन्। मिर्गौला रोगबाट बच्ने उपयुक्त उपाय यसको रोकथाम वा मिर्गौला ट्रान्सप्लान्ट नै भएको उनले बताए।
भरतपुर अस्पतालमा मिर्गौला ट्रान्सप्लान्ट स्थापना गर्ने नीति मात्रै बनेको तर स्थापनाको काम भने सुरु नै नभएको उनले बताए। ‘डायलिसिस त न्यूनीकरण गर्ने उपाय मात्रै हो। रोगको ब्रिज कोर्स हो। निश्चित समयपछि कि ट्रान्सप्लान्ट हुनुपर्छ कि त बिरामीको मृत्यु नै हुन्छ’, उनी भन्छन्, ‘त्यसकारण डायलिसिस गर्नुपर्ने रोग निम्त्याउने उच्च रक्तचाप र मधुमेहमा पब्लिक स्क्रिनिङ गर्नुपर्छ।’
वर्षमा कम्तीमा एकचोटी रक्तचाप र युरिनमा प्रोटिन परीक्षण गर्नुपर्ने उनी बताउँछन्। मधुमेह र उच्च रक्तचाप नै मिर्गौला फेल हुनुको प्रमुख कारण रहेको उनले बताए। ‘नेपालमा जति पनि मिर्गौलाका बिरामी मरेका छन्, ती प्राकृतिक कारणले मरेका होइनन्’, उनी भन्छन्, ‘उपचार नपाएर, आउन नपाएर वा आर्थिक कारणले मरेका छन्। त्यसकारण यस रोगबाट मर्नेको तथ्यांक नै भरपर्दो छैन।’ -न्युज कारखाना