शनिबार, जेठ २, २०८३

‘नेपालमा पोलियोको जोखिम कायमै’

नेपालमा पोलियो रोगको जोखिम कायमै रहेको सरोकारवालाले बताएका छन्।
 |  आइतबार, कात्तिक ७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक ७, २०७८

काठमाडौं- नेपालमा पोलियो रोगको जोखिम कायमै रहेको सरोकारवालाले बताएका छन्। 

National life

विश्व पोलियो दिवसका अवसरमा आइतबार आयोजना गरिएको कार्यक्रमका वक्ताले पोलियो उन्मूलनमा सबैपक्ष लाग्नुपर्नेमा जोड दिएका हुन्। उनीहरुले नेपालको नजिक रहेको पाकिस्तान र अफगानिस्तानमा अझै पनि पोलियो उन्मूलन हुन नसक्दा नेपालमा जोखिम कायमै रहेको बताएका हुन्।

रोटरी डिष्ट्रिक ३२९२ अन्तर्गत रिजन ६ का आठ वटा क्लबको आयोजना गरेको मोटर र्‍यालीपछि आयोजित कार्यक्रममा रोटरी डिष्ट्रिक ३२९२ का पूर्वगभर्नर रविन्द्रकुमार पियाले नेपालमा पोलियो उन्मूलन भए पनि छिमेकी देशमा उन्मूलन हुन नसक्दा जोखिम रहेको बताए। उनले भने, “रोटरियन पोलियो रोग उन्मूलनमा लागिराखेका छन्। छिमेकी देशको असर यहाँ नदेखिएला भन्न सकिँदैन।”

रोटरीको पोलियो विभागका सल्लाहकार शरदगोपाल न्याछ्योले पोलियो रोग उन्मूलनका लागि रोटरीले सन् १९५३ देखि अभियान सुरु गरेको जानकारी दिए। यो अभियानमा सबै लाग्नुपर्नेमा उनले जोड दिए।  कार्यक्रममा रोटरियन नारायण प्रधान, रोशन पिया, विपिन पोखरेल लगायतले बोलेका थिए।

कार्यक्रमअघि पूर्वी चितवनको लोथरबाट उद्योग वाणिज्य सङ्घ चितवनको प्राङ्गणसम्म मोटर र्‍याली गरिएको थियो। जनचेतनामूलक उक्त र्‍यालीमा मोटरसाइकल र कार सहभागी थिए। यसअघि शनिबार नारायणगढबाट सौराहासम्म साइकल र्‍याली गरिएको थियो। कार्यक्रमका संयोजक विपिन पोखरेलका अनुसार दुई दिन जनचेतना जगाउने उद्देश्यले र्‍यालीको आयोजना गरी आज कार्यक्रमको समापन गरिएको हो।

अक्टोबर २४ का दिन विश्व पोलियो दिवस संसारभर मनाउने गरिन्छ। यस दिन पोलियो उन्मूलनका लागि सचेतना जगाउने गरिन्छ। हाल विश्वमा पाकिस्तान, अफगानिस्तान र नाइजेरियाबाहेकका देशमा पोलियो रोग छैन। नेपालमा सन् २०१० यता पोलियो रोगी भेटिएका छैनन्। - रासस

प्रकाशित: Oct 24, 2021| 21:40 आइतबार, कात्तिक ७, २०७८
प्रतिक्रिया दिनुहोस्