बुटवल- मानव अधिकार तथा शान्ति समाज रूपन्देहीले संयुक्त राष्ट्र संघको स्थापना दिवस बुटवलमा मनाएको छ। संयुक्त राष्ट्रसंघ स्थापना दिवसको अवसरमा आइतबार बुटवल चौराहामा शान्ति र्याली गर्दै अफगानी नागरिकको जीवन रक्षाको माग गरेको छ।
सो अवसरमा बोल्दै मानवअधिकार तथा शान्ति समाजका केन्द्रीय सभापति गोबिन्द खनालले तालिबानमा मानवअधिकारको रक्षा र शान्ति कायम गर्नका लागि संयुक्त राष्ट्रसंघले ध्यान दिनुपर्ने बताए।
उनले तानाशाही शासन संसारमा कहीँ पनि टिक्न नसक्ने धारणा राखे। उनले आफगानिस्तानमा तालिबानको शासन सुरु भएपछि महिला, बालबालिका असुरक्षित भएको भन्दै त्यसतर्फ विश्वको ध्यान जानुपर्ने बताए। पत्रकार महासंघ रूपन्देहीका सभापति रामराज पोखरेलले प्रेस स्वतन्त्रता र मानवअधिकारको सवालमा आफूहरु सदैव क्रियाशिल रहने बताए।
कार्यक्रममा समाजका केन्द्रीय सचिव मिना ढकाल, केन्द्रिय सदस्य विष्णु भुसाल, रूपन्देही सभापति डीपी खनाल, सचिव कपिल ज्ञवालीको उपस्थिति थियो।
समाजले ‘अफगानिस्तानलाई नरक हुनबाट जोगाऔँ’,तालिबानको शासनमा मानव अधिकार कहाँ छ ?, तालिबानको शासनमा असुरक्षित महिलालगायतका प्लाकार्ड प्रदर्शन गरिएको थियो। सन् २४ अक्टोबर १९४५ मा संयुक्त राष्ट्रसंघको आधिकारिक रूपमा स्थापना भएको थियो।