शनिबार, चैत ७, २०८२

उत्पादनसँग जनशक्तिलाई जोड्न आवश्यक छ : शिक्षामन्त्री पौडेल

शिक्षा मन्त्रालयको जिम्मेवारी पाएसँगै पहिलोपटक प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)मा अनुगमन गर्न गएका मन्त्री पौडेलले सीटीईभीटी प्राविधिक जनशक्ति उत्पादनतर्फ केन्द्रित हुनुपर्ने र दक्ष जनशक्तिलाई रोजगारसँग जोडेर उत्पादनमुखी बनाउनुपर्ने बताए।
 |  बिहीबार, कात्तिक ४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ४, २०७८

काठमाडौं- शिक्षा,  विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले प्राविधिक शिक्षातर्फका जनशक्तिलाई उत्पादनसँग जोड्न आवश्यक रहेको बताएका छन्। शिक्षा मन्त्रालयको जिम्मेवारी पाएसँगै पहिलोपटक प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)मा अनुगमन गर्न गएका मन्त्री पौडेलले सीटीईभीटी प्राविधिक जनशक्ति उत्पादनतर्फ केन्द्रित हुनुपर्ने र दक्ष जनशक्तिलाई रोजगारसँग जोडेर उत्पादनमुखी बनाउनुपर्ने बताए। 

National life

उनले सीटीईभीटीजस्ता संस्थालाई ज्ञान, तालिम, सिप र उत्पादनमा केन्द्रित गर्दै परिषद्का कर्मचारीले अल्छिपना, उदासिनता, लापरबाही र भ्रष्टाचारजस्ता गतिविधिलाई त्याग्‍न सकेको खण्डमा मात्र यसले आफ्नो उद्देश्य पूरा गर्नेमा जोड दिएका छन्।

प्राविधिक विद्यालयको लक्षित समुदाय भनेको आधारभूत जनता भएकाले जनताको जीवनस्तर सुधार गर्न दक्ष जनशक्ति उत्पादनमा परिषद्को भूमिका महत्वपूर्ण हुने उनको बुझाइ छ। 

उनले भने, ‘ सीटीईभीटी दक्ष जनशक्ति उत्पादन, ज्ञान , रोजगारी र उत्पादनमा केन्द्रित हुनुपर्छ। सीटीईभीटीको २०६९ सालदेखि रोकिएका सम्बन्धनको विषयमा टुंगो लगाउँदै आवश्यकताको आधारमा स्थानीय तहमा विद्यालयलाई प्राविधिक शिक्षा सञ्‍चालन गर्न सम्बन्धन दिनुपर्छ।'

यस्तै शिक्षा राज्य मन्त्री वोधमाया कुमारी यादवले सीटीईभीटीले ग्रामीण जिल्लाका सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा अध्यापनलाई स्वीकृति प्रदान गर्न आवश्यक रहेको बताइन्। उनले भनिन्,‘प्राविधिक शिक्षा जनमुखी छ, यसलाई गाउँगाउँमा पुर्‍याउनुपर्छ।’ 

Laxmi sunrise bank
kumari

सीटीईभीटीको आवश्यकता र औचित्यको विषयमा मन्त्रीलाई प्रष्ट पार्दै मन्त्रालयका सचिव रामप्रसाद थपलियाले गुणस्तरीय पूर्वाधार विना नै विद्यालयलाई सम्बन्धन दिन नहुने बताए। उनले भने , ‘कर्मचारी अभावका कारण सीटीईभीटी आफैँमा समस्या ग्रस्त छ। स्थायी दरबन्दी छैन। करारमा कार्यरत कर्मचारीको भरमा चलेको छ।’ उनले सरकारले जारी गरेको राष्ट्रिय शिक्षा नीति २०७७ ले ७० प्रतिशत प्राविधिक शिक्षामा जोड दिनुपर्ने भने पनि प्राविधिक शिक्षालयमा जनशक्ति अभावमा थलिनु परेको बताए। संघीय शिक्षा ऐन जारी नहुँदा समस्या देखिएका छन्। प्राविधिक शिक्षालयमा बजेटको व्यवस्थापन पनि नमिलेको उनको भनाई छ।

परिषद्का उपाध्यक्ष खगेन्द्र प्रसाद अधिकारीले सीटीईभीटी कर्मचारी अभाव, व्यवस्थापन र पदपूर्तिजस्ता विषयमा अन्योलग्रस्त भएको बताएका छन्। उनले प्राविधिक शिक्षालाई सिप, श्रम र उत्पादनसँग जोड्नुपर्नेसमेत बताए।

परिषद्का सदस्य सचिव जीवनारायण काफ्लेले प्राविधिक जनशक्ति विकासको लागि परिषद्को भूमिका र चुनौतीको विषयमा मन्त्री पौडेललाई स्पष्ट पार्दै प्राविधिक शिक्षामा जोड दिने भनिए पनि कुल शिक्षाको बजेटको पाँच प्रतिशत बजेटमात्र प्राविधिक शिक्षामा छुट्टाइनुले प्राविधिक शिक्षालाई राज्यले आवश्यकता अनुसारको महत्व नदिएको बताए। परिषद्‌मा रहेको कर्मचारी अभाव, रोकिएका सम्बन्धन खुलाउनुपर्ने लगायतको विषयमा मन्त्री पौडेललाई ध्यानाकर्षण गराएका छन्।

प्रकाशित: Oct 21, 2021| 17:25 बिहीबार, कात्तिक ४, २०७८
प्रतिक्रिया दिनुहोस्