धनकुटा– पूर्वको सुन्तलाको राजधानी मानिन्छ धनकुटालाई । यहाँ वर्षमा १० देखि १५ करोडसम्मको सुन्तला बिक्री हुने जिल्ला कृषि विकास कार्यालयको तथ्यांक छ ।
धनकुटाको सुन्तला निर्यातमुलक उत्पादन पनि हो । ८० प्रतिशतभन्दा बढी निर्यात र बाँकी आन्तरिक खपत हुन्छ ।
यही मौलिकतालाई धनकुटा नगरपालिकाले 'अरेन्ज सिटी'को अवधारणाका रूपमा अगाडि बढाएको छ । खासगरी, धनकुटा बजार क्षेत्रका माथिल्लो कोप्चे र तल्लो कोप्चेलाई मौलिक बनाउन सुन्तला रङ घर-घरमा पोतिएको छ । स्थानीय टुँडिखेलमा पनि सुन्तला रङ लगाइएको छ ।
धनकुटा-५ का वडाध्यक्ष धनबहादुर राई सुन्तलाको राजधानी भएकैले अरेन्ज सिटीमा आकर्षण बढेको बताउँछन् । 'धनकुटा नेपालकै सबैभन्दा राम्रो गुणस्तरको सुन्तला फलाउने जिल्ला हो । तल्लो र माथिलो कोप्चेले त्यसको विम्बात्मक रङको रूपमा सुन्तला रङ पोतिएको हो,' राई भन्छन् ।
एकै रंगका सफाचट घरहरू भएपछि धनकुटाको पर्यटकीय चहलपहल पनि बढेको सरोकारवालाको भनाइ छ । यसबाटसेल्फी खिच्नेहरू बढाएको नगरपालिकाको पर्यटन शाखा प्रमुख विकास अधिकारी बताउँछन् ।
शैक्षिक भ्रमण, लोकसेवा परीक्षालगायतमा धनकुटा आएकाहरू अरेन्ज सिटी क्षेत्रमा पुग्दा मन्त्रमुग्ध बन्ने गरेका छन् । अधिकारी भन्छन्, 'मान्छेले नयाँ र मौलिक कुरामा चासो देखाउँदा रहेछन् ।'
६० हजार जनसंख्या र १० वडा भएको नगरपालिकामा वडाको पहिचानअनुसारको रंग पोत्ने कामको सबैतिरबाट प्रशंसा भएको स्थानीय कमल श्रेष्ठ बताउँछन् । उनका अनुसार एकरूपता र पर्यटकीय चहलपहलमा एकै रंगका घरहरूले सहयोग गरेका छन् ।
नगरप्रमुख चिन्तन तामाङ अरेन्ज सिटी बनाउनु धनकुटाको आवश्यकता र स्वाभाविक कुरा भएको बताउँछन् । भारतीय राज्य राजस्थानको राजधानी जयपुर पिंक सिटी बनेजस्तै धनकुटा सुन्तलाको राजधानी भएकाले अरेन्ज सिटी बनाइएको मेयर तामाङ बताउँछन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४