काठमाडौं- नेपाल क्रिकेट एसोसिएसनकी पूर्वसीईओ भावना घिमिरे फुटबलको पनि फ्यान हुन् । विदेशमा रहँदा उनले 'ला लिगा'मा पनि काम गरेकी थिइन् । यस कारण उनको सम्बन्ध क्रिकेटसँग जति छ, उति नै फुटबलसँग पनि ।
ब्राजिलसँग उनको मन बसेको पहिल्यैदेखि हो । त्यसताका ब्राजिलमा रोनाल्डो, रोनाल्डिनो, काकाजस्ता अब्बल दर्जाका खेलाडी थिए । सन् २०१४ मा जर्मनीसँग भोग्नु परेको ७-१ को लज्जास्पद हार अहिलेसम्म घिमिरेको मनमा तीतो स्मरण बनेर बसेको छ ।
उनी प्रायः घरमा परिवारसँगै बसेर हेर्न रुचाउँछिन् । फाइनलका लागि भने मल्टिप्लेक्समा हेर्ने सोच बनाएकी छन् । रोनाल्डो उनका 'फेवरेट' खेलाडी हुन् । हाल जारी विश्वकपबाट भने उनलाई क्रिस्टियानो रोनाल्डो पनि मन परेका छन् ।
सन् १९९४ मा विश्वकप ब्राजिलले जितेको समय उनलाई एकदम रमाइलो लागेको थियो । त्यस विश्वकपमा इटालीविरुद्धको खेलमा पेनाल्टीमा ब्राजिलका क्याप्टेन डुंगाले स्कोर गरेको निकै स्मरणयोग्य थियो । घिमिरेले हेरेको त्यो विश्वकप पहिलो थियो । र, पहिलो हेराइमै उनी ब्राजिलकी फ्यान बनेकी थिइन् ।
'फुटबल मनोरञ्जनका लागि हेर्ने गर्छु,' घिमिरे भन्छिन्, 'त्यही कारण खेल हार्यो भन्दैमा ज्यानै फाल्ने प्रवृत्ति छैन ।' कतिपय फ्यानले जर्मनीविरुद्धको खेलमा हारपछि आत्महत्या गरेको खबर पनि आए । तर, खेल भनेको हारजित भएकाले मरिहत्तै गर्नुको औचित्य देख्दिनन्, घिमिरे ।
उनको परिवार नै अहिले विश्वकपमय भएको छ । उनका श्रीमान् अर्जेन्टिनाका प्रशंसक हुन् । कहिलेकाहीं छोरालाई अर्जेन्टिना र ब्राजिल कसको जर्सी लगाइदिने भन्नेमा मतभेद हुने घिमिरे बताउँछिन् । 'छोराले ब्राजिलकै जर्सी रुचाउँछन्,' मन्द मुस्कानसाथ उनले भनिन् ।
उनी पहिले-पहिले आफ्नो फेवरेट टिमको मात्र खेल हेर्थिन् रे । आजकाल भने अझ फराकिलो मन बनाएर इरान, पोर्चुगल, इंग्ल्यान्ड, दक्षिण कोरिया, स्पेन, इटाली, जापान, उरुग्वेजस्ता देशको पनि खेल हेर्छिन् ।
यस विश्वकपका खेल निकै अप्रत्यासित रहेको उनको विश्लेषण छ । अर्जेन्टिना, ब्राजिल, जर्मनीजस्ता टिमले विगतका विश्वकपमा राज गर्दै आएका थिए । यसपालि अन्य देशले पनि आफ्नो क्षमता प्रदर्शन गरिरहेकामा घिमिरेलाई रमाइलो लागिरहेको छ । यसपालि पनि उनको समर्थन ब्राजिललाई नै छ ।
ब्राजिलपछि उनलाई इंग्ल्यान्ड मनपर्छ । यसपालि इंग्ल्यान्ड पनि राम्रो फर्ममा रहेको उनको अनुमान छ । इंग्लिस प्रिमियर लिग पनि उनी हेरिरहन्छिन् । त्यसमा भने उनलाई चेल्सी मन पर्छ ।