काठमाडौं– त्रिभुवन विश्वविद्यालयले अबदेखि ट्रान्सक्रिप्ट, सर्टिफिकेट लगायतका कागजपत्र बनाउन परीक्षा नियन्त्रण कार्यालयमा धाउन नपर्ने व्यवस्था गर्न लागेको छ।
परीक्षा नियन्त्रण कार्यालयले शैक्षिक प्रमाणपत्र लिन विद्यार्थीलाई अनलाइनबाटै फर्म भर्न पाउने व्यवस्था गर्न लागेको हो। विद्यार्थीले अनलाइनबाट आफ्नो विवरण सहितको फर्म भरेर बैंकबाट पैसा बुझाएको सक्कली भौचर अपलोड गरेपछि उक्त विवरण प्रमाणीकरण भएपछि प्रमाणपत्र सम्बन्धित ठाउँमा पठाइने परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए।
उनले भने, ‘विद्यार्थीले विवरण अनलाइन माध्यमबाट भरेपछि उक्त विवरण प्रमाणीकरण गरेपछि सम्बन्धित क्याम्पसमा पठाउँछौं। क्याम्पसमा पुग्न असहज भए हुलाक मार्फत घरमा नै पठाउने व्यवस्था गर्न लागेका छौं।’
स्नातकदेखि विद्यावारीधि तहसम्म प्रत्येक वर्ष करिब एक लाख विद्यार्थीले शैक्षिक प्रमाणपत्र लिन, सच्याउन, प्रमाणीकरण गर्न, परीक्षा नियन्त्रण कार्यालयमा धाउनुपर्ने बाध्यता छ ।