काठमाडौं- नेपाली कांग्रेसको १४ औं महाधिवेशन तोकिएकै मितिमा हुने सम्भावना टरेको छ। कार्यतालिका अनुसार तल्ला तहका अधिवेशन हुन नसक्दा महाधिवेशनको मिति पर सर्ने निश्चित बनेको हो।
कांग्रेसले छैटौं पटक कार्यतालिका हेरफेर गरेर पछिल्लो पटक मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने कार्यतालिका ल्याएको थियो। जसअनुसार तल्ला तहमा अधिवेशन भइरहेका छन्। यद्यपि एउटै मितिमा देशभर अधिवेशन हुन नसक्दा महाधिवेशनको मिति पर सार्नुपर्ने बाध्यात्मक अवस्था उत्पन्न भएको नेताहरु बताउँछन्।
‘तल्लो तहका अधिवेशन तोकिएको मितिमा भएनन्। कतै क्रियाशील सदस्यताको टुंगो लाग्न नसक्ने, कतै वडा, कतै पालिका र कतै जिल्ला अधिवेशन भएको छ। यो सबै कुरालाई हेरेर तोकिएको मितिमा महाधिवेशन हुने सम्भावना शून्यप्राय छ,’ संस्थापन निकट एक नेता भन्छन्, ‘अब नयाँ मितिका बारेमा छलफल हुनेछ।’
केन्द्रीय निर्वाचन समितिका अनुसार हालसम्म ६४ जिल्लामा वडा र पालिका तहको अधिवेशन सकिएको छ। ती जिल्लामध्ये पनि केहीमा वडा र पालिका तहको अधिववेशन हुन सकेको छैन। २१ वटा हिमाली जिल्लामा दसैंअघि नै जिल्ला अधिवेशन गर्ने भनिए पनि हालसम्म १४ जिल्लामा मात्रै अधिवेशन सकिएको छ। सातवटा हिमाली जिल्लामा अधिवेशन गर्न बाँकी छ।
तीन जिल्लाको क्रियाशील सदस्यता सूची प्राप्त गर्न सकेका छैनौं। सूची आएपछि वडा अधिवेशनको मिति तय हुनेछ। वडा तहको अधिवेशन सकिएपछि नयाँ कार्यतालिका बनाएर काम गर्न सहज होला।
१३ जिल्लामा वडा तहका अधिवेशन भएका छैनन्। तीमध्ये ३ जिल्लाको क्रियाशील सदस्यताको अन्तिम सूची प्राप्त हुन नसकेको निर्वाचन समितिका सचिव अधिवक्ता जगन्नाथ श्रेष्ठले बताए। ‘१३ जिल्लामा वडा अधिवेशन भएको छैन। तीमध्ये पनि तीन जिल्लाको क्रियाशील सदस्यता सूची प्राप्त गर्न सकेका छैनौं,’ उनले भने, ‘सूची आएपछि वडा अधिवेशनको मिति तय हुनेछ। वडा तहको अधिवेशन सकिएपछि नयाँ कार्यतालिका बनाएर काम गर्न सहज होला।’
मिति सार्न छलफल गरिने
तोकिएको मितिमा महाधिवेशन हुने सम्भावना टर्दै गएपछि नयाँ मिति तय गर्न छलफल गर्ने तयारीमा कांग्रेस छ। केन्द्रीय निर्वाचन समितिले नयाँ कार्यतालिका ल्याउने विषयमा छलफल गर्न लागेको समिति संयोजक महादेवप्रसाद यादवले जानकारी दिए। ‘अहिलेसम्म त महाधिवेशनको मिति यथावत् छ। अब कोजाग्रत पूर्णिमापछि छलफल गर्ने तयारीमा छौं,’ उनले भने, ‘नयाँ कार्यतालिकाबारेमा अहिल्यै केही भन्ने अवस्था छैन। छलफलपछि आवश्यक निर्णय हुनेछ।’
गत साउन ३० गते बसेको केन्द्रीय समिति बैठकले छैटौं पटक १४ औं महाधिवेशनको कार्यतालिका हेरफेर गरेको थियो। जसअनुसार भदौ १८ गते वडा अधिवेशन, २७ गते पालिका अधिवेशन, असोज १ गते प्रदेशसभा निर्वाचिन क्षेत्र अधिवेशन, ५ गते प्रतिनिधिसभा निर्वाचन क्षेत्र अधिवेशन र असोज १० गते जिल्ला अधिवेशन गर्ने गरी कार्यतालिका ल्याएको थियो। तर, यी सबै कार्यतालिका मिचिए। तोकिएको समयमा अधिवेशन हुन नसकेपछि पटकपटक कार्यतालिका हेरफेर गरिँदै आएको छ।
कार्यतालिकाअनुसार कात्तिक १० देखि १२ गतेसम्म प्रदेश र मंसिर ९–१३ केन्द्रीय महाधिवेशन गर्ने भनिएको छ। तर, कार्यतालिका अनुसार प्रदेश अधिवेशन आउन अब ८ दिन मात्रै बाँकी छ। वडा तहकै अधिवेशन नसकिएको अवस्थामा ८ दिनपछि प्रदेश अधिवेशन हुने सम्भावना शून्य छ।
पौडेल पक्ष भन्छ- मंसिर अन्तिमसम्म सार्न सकिन्छ
वरिष्ठ नेता रामचन्द्र पौडेल समूह मंसिर अन्तिमसम्मका लागि महाधिवेशन मिति सार्न सकिने पक्षमा देखिएको छ। तल्ला तहका अधिवेशन प्रभावित भएकाले मंसिर अन्तिमसम्म मिति सार्न सकिने पक्षमा पौडेल समूह देखिएको छ। यद्यपि महाधिवेशन मंसिर अन्तिमभन्दा पछि धकेल्न नहुने पौडेल पक्षको भनाइ छ।
‘मंसिर ९–१३ मा महाधिवेशन हुने सम्भावना त अब रहेन। त्यसैले मंसिर अन्तिमसम्म मिति सार्न सकिन्छ,’ पौडेल समूहका नेता गुरुराज घिमिरे भन्छन्, ‘त्यहाँ भन्दा पछि धकिलियो भने महाधिवेशन नै अन्यौलमा पर्ने खतरा छ।’
आन्तरिक चुनावका कारण कार्यकर्ता पंक्तिको मानसिकता विभाजित हुन्छ। आमनिर्वाचनअघि आन्तरिक निर्वाचनको तिक्तता सेलाउने समय चाहिन्छ। त्यसैले आमनिर्वाचनमा प्रतिकूल असर नपर्ने गरी मंसिरभित्रै महाविधेशन हुनुपर्ने पक्षमा हामी छौं।
क्रियाशील सदस्यताको अन्तिम टुंगो लगाएर सबै जिल्लामा तिहार अघि नै वडा र पालिका अधिवेशन गर्ने, छठ पछि जिल्ला अधिवेशन गर्ने, त्यसको एक साता पछि प्रदेश अधिवेशन सकेर मंसिर अन्तिममा महाधिवेशन गर्ने गरी अघि बढ्नुपर्ने उनको भनाइ छ। ‘मिति हेरफेरका लागि छलफल होला नै। फटाफट काम गरे मंसिर अन्तिममा महाधिवेशन गर्न सकिन्छ। हाम्रो जोड यसमै रहन्छ। मंसिर अन्तिममा नगर्ने हो भने पुसमा जाडो हुन्छ, महाधिवेशन हुन सक्दैन। माघसम्म धकेलिन सक्छ।’
मंसिरमा हुन नसके अन्योल
महाधिवेशन मिति मंसिरबाट पनि सारेमा अन्योल उत्पन्न हुन सक्ने तर्क घिमिरे गर्छन्। फागुनमा स्थानीय तहको निर्वाचन गर्नुपर्ने र अर्ली इलेक्सनको मतसमेत बलियो भएर आउन सक्ने अवस्थाका कारण महाधिवेशन अन्योलमा पर्न सक्ने उनको विश्लेषण छ।
अहिले कांग्रेसका शीर्ष नेताहरु नै अर्ली इलेक्सन गर्नुपर्ने पक्षमा देखिएका छन्। उनीहरुले प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवालाई अर्ली इलेक्सन'का लागि दबाब दिइरहेका छन्। वरिष्ठ नेता पौडेलदेखि प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, गोपालमान श्रेष्ठ, शेखर कोइरालालगायतका नेताहरु 'अर्ली इलेक्सन'को पक्षमा देखिएका छन्।
‘स्थानीय तहको निर्वाचन फागुन, चैतमा गर्नु नै छ। त्योबाहेक 'अर्ली इलेक्सन'को बहस छेडिँदै जाने र त्यसका पक्षमा माहोल बन्ने हो भने महाधिवेशन अन्योलमा पर्छ,’ घिमिरे भन्छन्, ‘त्यसकारण पनि मंसिर भन्दा पछि महाधिवेशन सार्न हुँदैन।’
माघमा महाधिवेशन गर्दा त्यसको असर स्थानीय तहको निर्वाचनमा पर्न सक्ने अवस्था आउने घिमिरेको भनाइ छ। ‘आन्तरिक चुनावको तिक्तता स्थानीय तहको निर्वाचनमा पोखिने डर हुन्छ। आन्तरिक चुनावका कारण कार्यकर्ता पंक्तिको मानसिकता विभाजित हुन्छ। आमनिर्वाचनअघि आन्तरिक निर्वाचनको तिक्तता सेलाउने समय चाहिन्छ,’ उनी भन्छन्, ‘त्यसैले आमनिर्वाचनमा प्रतिकूल असर नपर्ने गरी मंसिरभित्रै महाविधेशन हुनुपर्ने पक्षमा हामी छौं।’