काठमाडौं– बागमती प्रदेशका सामुदायिक विद्यालयले प्रयोगशाला स्थापनार्थ १२ देखि १५ लाख रुपैयाँ अनुदान पाउने भएका छन्। बागमती प्रदेशको शिक्षा विकास निर्देशनालयले ‘सामुदायिक माध्यमिक विद्यालयमा विज्ञान, विषयगत र सूचना प्रविधि प्रयोगशाला स्थापना सम्बन्धी कार्यविधि, २०७८’ जारी गर्दै प्रदेश सरकारले छनोट भएका विद्यालयलाई प्रतिविद्यालय सूचना प्रविधि प्रयोगशाला स्थापना गर्न बढीमा १५ लाख रुपैयाँ अनुदान दिने जनाएको हो।
यसका साथै विज्ञान तथा विषयगत प्रयोगशाला स्थापना गर्न बढीमा १२ लाख अनुदान प्रदान गर्ने कार्यविधिमा उल्लेख गरिएको छ। शिक्षा विकास निर्देशनालयको आव २०७८(७९ का लागि स्वीकृत कार्यक्रमअनुसार सामुदायिक माध्यमिक विद्यालयमा विज्ञान, विषयगत र सूचना प्रविधि प्रयोगशालाको स्थापना गर्न एकमुष्ठ बजेट विनियोजन भएअनुसार यसलाई व्यवस्थित गर्न कार्यविधि तयार गरिएको हो।
कार्यविधिमा अनुदानको प्रथम किस्ता ४० प्रतिशत अनुदान रकम विद्यालयको खातामा उपलब्ध गराइने उल्लेख छ। कार्यविधिमा प्रयोगशाला स्थापना गर्ने विद्यालय माध्यमिक तहसम्म सञ्चालित हुनुपर्ने, विद्यालयमा विद्युत् पुगेको र जडान भएको हुनुपर्ने, विद्यालयले विज्ञान, विषयगत र सूचना प्रविधि प्रगोगशालामध्ये जुन विषयमा आवेदन दिने हो सो विषयको प्रयोगशाला स्थापना गर्न यसअगाडि संघ, प्रदेश र स्थानीय तहबाट बजेट उपलब्ध नगराइएको भनी विद्यालय व्यवस्थापन समितिको निणर्य संलग्न गर्नुपर्ने उल्लेख गरेको छ।
कार्यविधिमा विज्ञान, विषयगत र सूचना प्रविधि प्रयोगशाला स्थापना गर्ने विद्यालयको पहिचान गर्ने, प्रयोगशालाको स्थापना गर्ने विद्यालय छनोटको मापदण्ड निर्धारण गर्ने, छनोट भएका विद्यालयलाई प्रयोगशालाको व्यवस्था गर्न अनुदान प्रदान गर्ने उल्लेख छ।
यसका साथै कार्यविधिमा प्रयोगाशाला स्थापना गर्ने विद्यालय छनोट गर्न विभिन्न सूचक निर्धारण गरेको छ। विद्यालयको संरचना, विद्यार्थी संख्या, छात्रा भर्नादर, भौगोलिक क्षेत्र, विगत तीन वर्षको एसईईको नतिजालाई अनुदान उपलब्ध गराउने आधार तय गरिएको छ।
प्रदेश सरकारले शैक्षिक गुणस्तर सुधार कार्यक्रममार्फत विद्यार्थीलाई आत्मनिर्भर बनाउन प्रविधिमैत्री शिक्षा प्रणालीको विस्तार गर्दै स्वरोजगार, उद्यमशीलता र नव अन्वेषण क्षमता अभिवृद्धिका लागि सामुदायिक विद्यालयमा सूचना तथा प्रविधि प्रयोगशाला स्थापना, विज्ञान तथा विषयगत प्रयोगशाला स्थापना, कम्पाउन्डवाल निर्माण र नमुना विद्यालय विकास गुरुयोजना लागू भएका २० वटा सामुदायिक माध्यमिक विद्यालयको भौतिक तथा शैक्षिक पूर्वाधार विकास कार्यक्रम कार्यान्वयन गर्न ३५ करोड बजेट विनियोजन गरेको छ।
कार्यक्रम कार्यान्वयनका लागि निर्देशनालयले कार्यविधि तयार गरेको हो। कार्यविधिमा विज्ञान, विषयगत र सूचना प्रविधि प्रयोगशाला स्थापना गर्ने विद्यालयको पहिचान गर्ने, प्रयोगशालाको स्थापना गर्ने विद्यालय छनोटको मापदण्ड निर्धारण गर्ने, छनोट भएका विद्यालयलाई प्रयोगशालाको व्यवस्था गर्न अनुदान प्रदान गर्ने उल्लेख छ।