टोकियो- जापानमा बिहीबार संसद् विघटन गर्दै यही महिनाको अन्तिममा आम चुनाव गर्ने गरी तयारी भइरहेको छ। करिब ११ दिनअघि प्रधानमन्त्रीमा नियुक्त भएका फुमियो किशिदाले कोरोना महामारीले ध्वस्त बनाएको अर्थतन्त्रलाई कसले राम्रो बनाउसक्छ भन्ने लडाइँमा आफूलाई परीक्षण गर्न लागेको बताइएको छ।
पछिल्लो ११ दिनको अवधिमा प्रधानमन्त्री किशिदाले आफूलाई व्यापक जनसमर्थन प्राप्त भएको बताएका छन्। प्रतिनिधि सभामा उनको लिब्रलट डेमोक्रेटिक पार्टीले नै बहुमत ल्याउने र कामिटो पार्टीसँग गठबन्धन गर्नसक्ने बताइएको छ।
उनले भने, हामी जापानी नागरिकको उद्देश्य अनुसार के गर्न सक्छौं भन्ने कुरा विपक्षी पार्टीलाई देखाउनका लागि आम चुनावमा जाने निर्णय गरेका छौं। उनले पछिल्लो ११ दिन आफ्ना लागि निकै व्यस्त समय भए पनि थकान महसुस नभएको र आफू पूर्ण भएको महसुस गरेको बताएका छन्।
मतदाताहरुले महामारीको अन्त्य गर्ने र अर्थतन्त्र पुनर्निमार्ण गर्नसक्ने सरकारको चाहना राखेको विभिन्न पोल र सर्भेहरुले देखाएको छ। जापानी सञ्चारमाध्यम साकेइले गरेको पोलको रिपोर्ट अनुसार ४८ प्रतिशत मतदाताले किशिदा सरकार होस् भन्ने चाहन्छन्। किशिदा सरकारले कोरोना महामारीलाई अन्त्य गर्न, अर्थतन्त्रको पुनर्रुत्थान गर्न र रोजगारी सिर्जना गर्नसक्ने अपेक्षा गरिएको छ।
किशिदा अक्टोबर ४ मा मुलुकको सयौं प्रधानमन्त्रीमा नियुक्त भएका थिए। उनको सरकारप्रति विपक्षीले आलोचना गर्दै विरोध गर्न थालेपछि संसद् विघटन गर्दै चुनावमा जाने घोषणा गरिएको हो। -एजेन्सी