धनगढी- जंगली जनावार बाँदरको आतंक रोक्न बैतडीका किसानले बाँदरको बन्ध्याकरण उपयुक्त विकल्प हुने निष्कर्ष निकालेका छन् । विज्ञहरुको सुझावका आधारमा बाँदरको संख्या घटाउन र आतंकबाट बच्ने सबैभन्दा ठूलो उपाय बाँदरको बध्याकरण नै भएको किसानको निष्कर्ष छ ।
बाँदर घटाउन अपनाउन सकिने धेरै विकल्पमध्ये बन्ध्याकरण नै उपयुक्त हुने पशुअधिकारकर्मीको पनि सुझाव छ ।
‘मानव र वन्यजन्तु द्वन्द्व’ शिर्षकमा नेपाल जैविक बिबिधता अनुसन्धान समाज काठमाडौंले गरेको अनुसन्धानले बाँदरको संख्या घटाउन एक ठाउँबाट अर्को ठाउँसम्म स्थानान्त्रण गर्नेदेखि स्थायी बन्ध्याकरण गर्न सकिने सुझाव दिइएको हो ।
प्रदेश ७ को उद्योग पर्यटन बन तथा वातावरण मन्त्रालयका लागि गरिएको अध्ययनले दशरथचन्द्र नगरपालिका क्षेत्रका किसानमा आतंक सिर्जना गरेका बाँदर घटाउन यो सुझाव उपयुक्त हुने निष्र्कष निकालिएको हो ।
मन्त्रालयलाई बुझाएको प्रारम्भिक प्रतिवेदनमा बाँदरको संख्या अत्यधिक रहेकाले बाँदरले किसानका खेतिपाती समाप्त पार्ने गरेका छन् ।
जंगलमा वन्यजन्तुका लागि चाहिने आहार नहुँदा सिर्जित समस्या समाधानका लागि कि त बारीमा बाँदरले विगार नगर्ने बाली लगाउनुपर्ने अथवा बाँदरको संख्या घटाउन काम गर्नुपर्ने अवस्था छ ।
मन्त्रालयका प्रवक्ता केशव पराजुलीले प्रतिवेदनमा किसानलाई बाँदरले मन नपराउने बाली लगाउन प्रेरित गर्नुपर्ने, समुदायमा आधारित पहरेदारीको व्यवस्था गर्नुपर्ने, बाँदर लोभिने वस्तु घर वरिपरी राख्न नहुँनेलगायतका सुझाव दिइएको जानकारी दिए ।
बाँदरकै बिषयमा विद्यावारीधी गरेका प्राध्यापक डाक्टर मुकेश चालिसे नेतृत्वको टोलीले गरेको अध्ययनका क्रममा एउटै झुण्डमा एक सय ५३ वटासम्म बाँदर भेटिएका छन् । नमुनाको रुपमा ७५ परिवारमा गरिएको अध्ययनका क्रममा ६८ परिवारको बालीनाली नष्ट गरेको पाईएको छ । यस्तै ४५ प्रतिशत परिवारको घरमा राखेको सामान नष्ट गरेको भेटिएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४