जनकपुरधाम- जनकपुरधामको प्रसिद्ध शक्तिपीठ माता राजदेवी मन्दिरमा बलिप्रदान सम्पन्न भएको छ।यसबर्ष राजदेवी मन्दिरमा १४ हजार २९१ बोकाको बलि दिइएको हो।
निशा पूजा सम्पन्न भएलगत्तै राति ८ बजेर ५ मिनेटदेखि सुरु भएको बलिप्रदानको कार्यक्रम बिहान ३ बजेर ३८ मिनेटसम्म चलेको थियो। बलिप्रदानका लागि हजारौंको संख्यामा श्रद्धालु भक्तजनहरु बुधबार दिउँसैदेखि लाइनमा लागेका थिए।
बोकाबलीका लागि यसपालि ४ वटा अस्थायी ठेहा राखिएको थियो। प्रत्येक ठेहामा १० जनाको समूहमा स्वयंसेवक परिचालित गरि प्रतिमिनेट ४० को संख्यामा बलिप्रदान गरिएको थियो।
बलिप्रदान कार्यक्रमलाई व्यवस्थित बनाउन आयोजक महावीर युवा कमिटीले ५ सयको संख्यामा स्वयंसेवक परिचालन गरेको थियो। बोकाको लाइन सहित डोरी र व्यवस्थापनको लागि समेत प्रति ठेहा १० जना जनशक्ति खटाइएको थियो। गत बर्ष कोरोना महामारीका कारण राजदेवी मन्दिरमा ८ हजार ९६८ बोकाको बलि दिइएको थियो।