शुक्रबार, माघ २५, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • कर्णालीका च्याङ्ग्रा काठमाडौं र पोखरामा, भेडा पनि बिकेनन् सुर्खेतमा

Siddartha premir insuranceSiddartha premir insurance

कर्णालीका च्याङ्ग्रा काठमाडौं र पोखरामा, भेडा पनि बिकेनन् सुर्खेतमा

खाडाचक्र नगरपालिका– ५ कालिकोटका कौशल शाही दशैंमा च्याङ्ग्रा र भेडा बेच्ने वीरेन्द्रनगर झरेका छन्।
 |  बिहीबार, असोज २८, २०७८

देव राना

देव राना

बिहीबार, असोज २८, २०७८

ntc landingntc landing

सुर्खेत- खाडाचक्र नगरपालिका– ५ कालिकोटका कौशल शाही दशैंमा च्याङ्ग्रा र भेडा बेच्ने वीरेन्द्रनगर झरेका छन्। केही च्याङ्ग्रासहित ५५ वटा भेडा लिएर वीरेन्द्रनगर झरेका शाहीका आधा मात्रै भेडा बिक्री भए।

himalayan bank box

‘केही च्याङग्रासहित ५५ वटा भेडा लिएर सुर्खेत आएको हुँ’ उनी भन्छन्, ‘अब सबै दशैंमा बिक्री हुँदैनन्।’ दशैमा भेडा बिक्री नभएपछि आफैं काटेर मासु बिक्री गर्ने उनको योजना छ।

उनी हरेक दशैंमा भेडाच्याङ्ग्रा बेच्न वीरेन्द्रनगर आउँछन्। तर विगत दुई वर्षदेखि भने भेडाच्याङ्ग्राको बिक्रीमा गिरावट आएको उनको अनुभव छ। ‘पहिले–पहिले ल्याएका सबै भेडाच्याङ्ग्राहरु बिक्री भैसक्थे,’ उनी भन्छन्, ‘कोरोना सुरु भएदेखि च्याङ्ग्रा बिक्री हुनै छाडे।’

गत वर्ष भेडाच्याङ्ग्रा बिक्री नभएपछि आफैंले काटेर मासु बिक्री गरेको उनले सुनाए। ‘मैले पनि किनेरै भेडा सुर्खेत झारेको हुँ,’ उनी भन्छन्, ‘परेको पैसा उठाउन पनि आफैं काटेर बेच्छु।’ 

च्याङ्ग्रामा खसीको जस्तो धेरै बोसो नहुने, हिमाली भेगमा जडिबुटी खाएर हुर्किएका कारण औषधीय गुण हुने विश्वास गरिने हुँदा खसीबोका भन्दा भेडाच्याङ्ग्राको मासु दशैं–तिहारमा बढी बिक्री हुने गर्दछ।

विगतमा च्याङ्ग्रा बिक्री गर्ने उनी यसपाली भेडा लिएर झरे। ‘बुटवल, पोखरा र काठमाडौंमा च्याङ्ग्राको बढी मोल आउने भएकाले सबै उता गइसके,’ उनी भन्छन्, ‘सुर्खेतमा च्याङ्ग्रा ल्याउने छोडिसक्यौं।’

कालीकोटकै नन्द बम पनि केही च्याङ्ग्रासहित ६६ वटा भेडा लिएर वीरेन्द्रनगर झरेका छन्। उनका पनि सबै भेडा बिक्री भएका छैनन्। भेडा बिक्री गर्न उनी वीरेन्द्रनगरका टोल–टोलमा पुगेका छन्। ‘बिहानभरि टोल–टोलमा घुमाउँछ। भोकाउँछन् । चौरतिर डुलाउँछु’ उनी भन्छन्, ‘ल्याएको भेडामा आधा पनि बिक्री भएका छैनन्।’

कर्णाली क्षेत्रबाट भेडा बिक्री गर्नेहरु धेरै भएका कारण दशैंमा सबै बिक्री गर्न नसिकएको उनको अनुमान छ। ‘वीरेन्द्रनगरमा मान्छे धेरै छन् छ तर सबैले सिंगो भेडा किन्दैनन्,’ उनी भन्छन्, ‘व्यापारी पनि धेरै छन्। अनि त बिक्री कम भयो।’ उनीसँग पनि च्याङ्ग्राभन्दा भेडा नै धैरै छन्। ‘च्याङ्ग्रा त व्यापारीहरु गाउँमै पुगेर लैजान्छन्’ उनी भन्छन्, ‘दशै सुरु नहुँदै च्याङ्ग्रा काठमाडौं पुगिहाल्छन्, हामीले त एक-दुई वटा मात्रै ल्याएका थियौं।’


खाद्य संस्थानले भेडाच्याङ्ग्राको मूल्य प्रतिकेजी ६ सय ५० रुपैयाँ तोकेको छ। तर सुर्खेतमा भने ५ सया पचासमै बिक्री भइरहेको छ। यही मूल्यमा पनि बिक्न गाह्रो भएको उनीहरुको भनाइ छ। काटेको मासुको मूल्य वीरेन्द्रनगरमा प्रति केजी ८ सय रुपैयाँले बिक्री भइरहेको छ।

मूल्य सस्तो भए पनि वीरेन्द्रनगरमा च्याङ्ग्राको व्यापार छैन । कोरोना महामारी कारण पनि भेडाच्याङ्ग्रा बिक्री घटेको व्यावसायी बताउँछन्। ‘कोरोना सुरु भएदेखि नै च्याङ्ग्राको व्यापार छैन,’ बम भन्छन्, ‘यसपालि पनि सबैले लयाएको सबै भेडा बिक्री हुँदैन।’

दशैंमा बिक्री नभएका भेडा तिहारसम्म बाहिर लैजाने उनकोे योजना छ। ‘दशैंमा बिकेनन् भने तिहारसम्म भए पनि बिक्री गरेर फर्कनुपर्ला,’ उनी भन्छन्, ‘नेपालगञ्ज र बुटवलबाट माग भए उतै पुर्‍याउँछु।’

च्याङ्ग्रामा खसीको जस्तो धेरै बोसो नहुने, हिमाली भेगमा जडिबुटी खाएर हुर्किएका कारण औषधीय गुण हुने विश्वास गरिने हुँदा खसीबोका भन्दा भेडाच्याङ्ग्राको मासु दशैं–तिहारमा बढी बिक्री हुने गर्दछ।

वीरेन्द्रनगरमा यस वर्ष भेडाच्याङ्ग्राको मात्रै होइन अन्य मासुको व्यापार पनि उत्साहजनक छैन। ‘अधिकांशले घरमै खसी काट्ने गर्छन्,’ मासु व्यावसायी संघ सुर्खेतका अध्यक्ष टोपेन्द्रजंग शाही भन्छन्, ‘दशैं आए पनि व्यापार बढेको छैन।’ कोरोना महामारीपछि दशैं–तिहारमा पनि मासुको बिक्री घटेको उनको अनुमान छ।

‘कोरोनाअघिको समयमा व्यापार राम्रै थियो । दुई वर्षयता व्यापार स्वात्तै घटेको छ,’ उनी भन्छन्। वीरेन्द्रनगरमा जिल्ला बाहिरका धेरै मानिस दशैंमा प्रायः गाउँ फर्किने भएकाले मासुको व्यापार उत्साहजनक नहुने शाही बताउँछन्।

प्रकाशित: Oct 14, 2021| 11:59 बिहीबार, असोज २८, २०७८
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्