नयाँ दिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अफगानिस्तानलाई आतंकवादको स्रोत बन्नबाट रोक्नुपर्ने बताएका छन्। जी२० सदस्य राष्ट्रहरुको भर्चुअल शिखर सम्मेलनमा बोल्दै प्रधानमन्त्री मोदीले अफगानिस्तान संकटको समाधान सबै मिलेर गर्नुपर्नेसमेत बताएका हुन्।
उनले ट्विटरमार्फत आफूले अफगानिस्तान संकटका विषयमा भएको जी२० शिखर सम्मेलनमा भाग लिएको जानकारी दिएका हुन्। उनले भनेका छन्, अफगान क्षेत्रलाई कट्टरपन्थ र आतंकवादको स्रोत बन्नबाट रोकिनुपर्दछ।
भारतीय प्रधानमन्त्री कार्यालयले एक विज्ञप्ति जारी गर्दै भारतीय र अफगानी नागरिकबीच सयौं वर्ष पुरानो सम्बन्ध भएकोले अफगानी नागरिकको जीवन जोगाउनका लागि पहल गरिने प्रतिबद्धता मोदीले व्यक्त गरेको जनाएको छ।
भारतीय प्रधानमन्त्री मोदीले अफगानको आर्थिक र सामाजिक विकासमा भारतको योगदानबारे पनि चर्चा गरेका थिए।